नेपाली संस्कृति पछ्याउँदै विदेशी : गुरुङ समुदायको संस्कार अनुसार वैवाहिक जीवनमा बाँधिए बेलायती नागरिक

भञ्ज्याङ समाचारदाता/तनहुँ

कछाड, टाउँकोमा क्रे (फेटा) अनि भाङ्ग्रामा सजिएका बेलायती नागरिक मार्क टोवन्सेन्ड झट्ट हेर्दा नेपाली युवाजस्तै देखिन्थे । कछाड, कालो रङको स्टकोट, घलेक, भाङ्ग्रो अनि टाउँकोमा फेटा बाँधेका मार्क गुरुङ समुदायको संस्कार अनुसार दुलाहको भेषभूषामा सजाइएका थिए ।

ताम्दानीमा चढेर पञ्चेबाँजा बजाइ दुलही लिन जन्ति लिएर गएका मार्कलाई नेपाली संस्कार अनुसार दुलही पक्षले स्वागत पनि गरे । गुरुङ समुदायकै भेषभूषमा सजिएर रुथ टोवन्सेन्ड विवाह मण्डपमा दुलाहलाई स्वागत गर्ने प्रतिक्षामा थिइन् । नेपाली संस्कृति तथा गुरुङ समुदायको संस्कार अनुसार रुथले मार्कलाई स्वागत गरिन । यो कार्यक्रम हेर्दा नेपाली युवायुवतीकै वैवाहिक समारोह जस्तै देखिन्थ्यो ।

पञ्चेबाजा बजाउँदै ताम्दानीमा छाता ओढेर जन्तिको लावालस्कर लिएर दुलहीको घरमा पुगेका थिए मार्क । गुरुङ समुदायका संस्कार संस्कृति अनुसार दुलाहलाई दुलहीको घरमा स्वागत गरियो । लामा गुरुले दुलाह दुलहीलाई गुरुङ संस्कृति अनुसार स्वयम्वर गर्ने, चुरापोते लगाउने, सिन्दुर हाल्ने लगायतका कार्य गरी विधिपूर्वक लगनगाँठोमा बाँधिदिए ।

वैवाहिक कार्यक्रम सकिएपछि रुथलाई माइतिघरबाट अन्माएर कर्म घर पठाइएको थियो । मार्कले रुथलाई ताम्दानीमा बोकाएर आफु बसेको घरमा विधिपूर्वक भित्र्याएका थिए । उनको विवाहमा भानु नगरपालिका तथा उनले काम गरेका विभिन्न जिल्लाका गरी करिब ३ हजार ५ सय जना जन्ति सहभागि थिए । विवाहमा पञ्चेबाँजा, रत्यौली, नाचगान, विवाहभोज, टिकाटाला, फूलमाला जस्ता गतिविधि देख्दा बेहुला मार्क र बेहुली रुथ निकै खुशी देखिन्थे ।

उमेरले ७० नाघेका मार्क टोवन्सेन्ड र रुथ टोवन्सेन्ड बुधबार नेपाली संस्कार अनुसार वैवाहिक जीवनमा बाँधिए । गुरुङ समुदायको संस्कार सँस्कृति अनुसार मार्क र रुथ वैवाहिक जीवनमा बाँधिएका हुन् ।

तनहुँको भानु नगरपालिका-१२ मिर्लुङ स्थित ओख्ले गाउँ परिवारले मार्क र रुथको वैवाहिक कार्यक्रमको चाँजोपाँजो मिलाएको थियो । गत आइतबार (३ डिसेम्वर) काठमाडौं जिल्ला अदालतमा कानुनी प्रक्रिया पुरा गरी विवाह बन्धनामा बाँधिएका मार्क आफुलाई नेपाल र नेपाली संस्कार संस्कृति मनपरेकाले यहीको संस्कार संस्कृति अनुसार विवाह गरेको बताउँछन् ।

सन् २००० देखि नेपालका विभिन्न ग्रामीण बस्तिमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएका मार्क नेपाली जनजीवनले आफुलाई मोहनी लगाएको बताउँछन् । रोटरी क्लव तथा वेलायतमा गठन गरिएको ‘ओख्ले भिलेज ट्रस’ मार्फत मार्कले नेपालका ग्रामीण बस्तिका आदिवासी, जनजाति, दलित समुदायमा भोलिन्टियरका रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्।

नेपालमा विभिन्न कार्यक्रम सञ्चालनका लागि आउने क्रममा नेपाली संस्कार संस्कृतिमा भिजेका मार्क र रुथले नेपाली संस्कृति अनुसार विवाह गर्ने सोच बनाएका थिए । मार्कले भने, ‘वी लभ दी नेपाली कल्चर, वी ह्याभ डेभलप फेमिलज् ओभर ह्यर । वी लभ देम एण्ड दे अल्सो लभ अस । सो दिस् अल वी केम वीथ दि आइडिया टु गेट म्यारिड एकोर्डिङ टु नेपाली कल्चर ।’

नेपाली कला, संस्कृति, यहाँका घरपरिवार, ग्रामीण जनजीवन, वातावरण, रितिरिवाज, खानपिन सारै मनपर्ने मार्क बताउँछन् । मार्कलाई नेपाली चाडवाड पनि निकै मनपर्ने गरेका कारण उनले नेपाली संस्कृति अनुसारनै विवाह गर्न चाहेको विवाहको संयोजन गरेका भानु नगरपालिका-१२ का पूर्व वडा अध्यक्ष विमल गुरुङ बताउँछन् ।


‘मार्क करिब २०/२२ वर्षदेखि नेपालमा विभिन्न कार्यक्रम सञ्चालन तथा घुमफिरका लागि आउने जाने गरेका थिए’, पूर्व वडा अध्यक्ष गुरुङले भने, ‘लामो समय नेपाल र नेपालीका संस्कार संस्कृतिसंग घुलमिल भएकाले आफ्नो प्रेमीकासंग नेपाली गुरुङ समुदायको संस्कार अनुसार वैवाहिक जीवनमा बाँधिन चाहेकाले यो कार्यक्रम गरिएको हो ।’

मार्कको विवाह समारोहमा सहभागि भएका भानु नगरपालिका-१३ टुटेपानीका क्या. होमबहादुर गुरुङ भन्छन्, ‘हामी नेपालीले हाम्रो संस्कार संस्कृति भुल्दै र छाड्दै गएका छौं । तर, विदेशीले हाम्रो संस्कार संस्कृतिलाई मनपराएको देख्दा निकै खुशी लागेको छ ।’

‘टुटेपानी गाउँबाट हामी आमाबाबा समुहनै गुरुङ समुदायको पहिचान झल्कने भेषभूषामा सजिएर विवाहमा सहभागि भयौ’, क्या. गुरुङले भने, ‘मार्कले हाम्रो गाउँमा खानेपानी समस्या समाधान गरेका छन्, अनि उनले हाम्रो चालचलन, संस्कृति निकै मन पराए । हामीले पनि हाम्रो संस्कृति अनुसार मार्क र रुथलाई टिका, खाँदा, फूलमाला लगाएर शुभकामना दियौं ।’

यस्तै, भानु-२ का मनोज कुमार श्रेष्ठ पनि विदेशीले नेपाली परम्परा अनुसार विवाह गरेको देख्दा निकै खुशी लागेको बताउँछन् । मार्कले निम्ता गरेपछि जन्ति गएका मनोज भन्छन्, ‘हामीले हाम्रो संस्कार संस्कृति भुल्दै गएका रहेछौ । विदेशीले यसरी हाम्रो संस्कृतिलाई पछ्याउँदा अचम्म लाग्यो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker