प्रदेश अस्पताल दमौलीमा ओपीडी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली
दमौली : प्रदेश अस्पताल दमौलीमा बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ ओपीडी -आउट पेसेन्ट डिपार्टमेन्ट) सेवा प्रणाली लागू गरिएको छ । सीमित जनशक्तिको अधिकतम प्रयोग गर्दै “क्यु म्यानेजमेन्ट” तथा “क्राउड म्यानेजमेन्ट”लाई व्यवस्थित गर्ने उद्देश्यले उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी गराए ।
नयाँ व्यवस्था अनुसार बिरामीले सर्वप्रथम दर्ता काउन्टरमा आफ्नो विवरण दर्ता गरी साधारण टिकट लिनुपर्नेछ। त्यसपछि सबै बिरामीलाई भाइटल कक्षमा पठाइनेछ, जहाँ रक्तचाप, नाडी र तापक्रमलगायत प्रारम्भिक जाँच गरिनेछ । सोही कक्षबाट बिरामीलाई क्यु नम्बर सहितको स्लिप प्रदान गरिनेछ, जसबाट औपचारिक रूपमा सेवा लिनको लागि पालो प्रणाली सुरु हुने उनले बताए ।

डा. बरालका अनुसार अब बिरामीलाई सम्बन्धित विभागमा क्यु नम्बर अनुसार मात्र बोलाइनेछ। डाक्टरको परामर्शपछि आवश्यकता अनुसार प्रयोगशाला, एक्स–रे र अल्ट्रासाउन्ड जस्ता थप परीक्षणमा पठाइने व्यवस्था गरिएको छ । उपचार प्रक्रिया पूरा भएपछि बिरामीले फार्मेसीबाट औषधि लिई अस्पतालबाट बाहिरिन सक्नेछन् ।
यस प्रणाली लागू भएसँगै बिरामी सेवा प्रवाह व्यवस्थित हुनुका साथै भीडभाड नियन्त्रणमा सहयोग पुग्ने, प्रतीक्षा समय घट्ने तथा सबै सेवाग्राहीलाई समान र निष्पक्ष सेवा उपलब्ध हुने विश्वास लिइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले नयाँ प्रणालीलाई प्रभावकारी बनाउन सेवाग्राहीहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई नियमअनुसार सेवा लिन अनुरोध गरेको छ ।










