पञ्चमुनिदेवका विद्यार्थीद्वारा गणित विषयक शैक्षिक सामग्री प्रदर्शन

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार विद्यालयमा गणित विषयक शैक्षिक सामग्री प्रदर्शन गरेका छन् ।
जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुविच गणित विषयक प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शन कार्यक्रम गरिएको हो ।
विद्यार्थीमा गणित विषयसंग सम्बन्धित प्रयोगात्मक सीपको विकास गर्न उद्देश्यले विद्यार्थीहरु बिच नै शैक्षिक सामग्री निर्माण र प्रदर्शनी प्रतियोगिता आयोजना गरिएको विद्यालयका गणित विषय शिक्षक राजेन्द्र लम्सालले बताए ।
प्रतियोगितामा कक्षा १० बी प्रथम, कक्षा ९ सी द्धितीय, कक्षा ९ इ तृतीय र कक्षा ८ र कक्षा ९ बी सान्त्वना भएका छन् । यसैगरी आइसीटी पुरस्कार भने विद्यालयको स्टिक क्लवले जितेको छ ।
विद्यालय परिसरमा भएको प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनीमा २९ समुहको सहभागिता रहेको थियो । पाठ्यक्रममा पढेको कुरालाई व्यवहारमा रूपान्तरण गर्न यस्ता कार्यक्रम विद्यार्थीका लागि ज्यादै उपयोगी हुने विद्यालयका प्रधानाध्यापक ध्रुव कुमार मल्ले बताए ।