व्यासको गैह्राबारीमा सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण

तनहुँ : व्यास नगरपालिका–११ गैह्राबारीमा रहेको तीन रोपनी सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरिएको छ ।

वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलन गर्दै आएको उक्त जग्गा नगरपालिकाले संरक्षण गरी एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो । पहिलो वर्ष किसानले उत्पादन गरेको आठ मेट्रिक टन आलुको बीउ निःशुल्क रूपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको नगरपालिकाको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षदेखि व्यास नगरपालिकामा उत्पादन भएको आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गर्न सकिने छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले किसानले उत्पादन गरेका बीउ आलु भण्डारणमा निःशुल्क गरिएको उहाँले बताउनुभयो ।

“पहिलो वर्ष भएकाले आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएपछि भण्डारण गरिएको हो”, प्रमुख पोखरेलले भन्नुभयो ।

व्यास–९ को सुनौलो नयाँ गोरेटो सहकारी संस्था, व्यास–५ को हरियाली कृषक समूह, व्यास–६ को श्याम्घा साना किसान समूह, रिस्ती मादी कृषक समूह र कृषि ज्ञान केन्द्रबाट गरी उक्त परिमाणको आलुको बीउ भण्डारण गरिएको छ । नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनका लागि तीन पटकसम्म सूचना जारी गर्दा पनि कुनै सहकारी संस्था र प्राइभेट फर्मबाट समेत आवेदन नआएपछि नगरपालिका आफैँले चलाउँदै आएको छ ।

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो । केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । विसं २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाएको थियो । विद्युत् प्राधिकरणले समयमा ‘थ्री फेज’को ट्रान्समिटर जडान नगरिदिँदा एक वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार रहेकामा थप रु १९ लाख ९८ हजार वृद्वि भई करसहित रु करोड ९१ लाख ३२ हजार लागत रहेको छ ।

नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने शाखा अधिकृत तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिन्छ, योसँगै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने विश्वास गरेका छौँ ।”

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेषगरी आलु, सागसब्जी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker