बाढीपहिरो पीडितलाई लाफा रुङग फाउण्डेशनद्वारा राहत वितरण
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

मनसुनी वर्षासंगै आएको बाढीपहिरोबाट पीडित परिवारलाई लाफा रुङग फाउण्डेशनले राहत सामग्रि वितरण गरेको छ । फाउण्डेशनले तनहुँको बन्दिपुर गाउँपालिका र ऋषिङ गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई राहत सामाग्री उपलब्ध गराएको हो । बन्दिपुरका ३१ र ऋषिङका २६ गरी ५७ घर परिवारलाई जस्तापाता र खाद्यान्न सहितको राहत सामाग्री उपलब्ध गराएको फाउण्डेशनले जनाएको छ । राहत स्वरुप फाउण्डेशनले ५२ बोरा चामल, ५ बण्डल जस्तापाता, एकएक पोका नुन र तेल तथा साबुन प्रदान गरेको लाफा ग्रुपकी अध्यक्ष चन्द्रा ज्योति आले मगरले जानकारी दिइन् ।
बन्दिपुरका पहिरो पीडितहरुलाई डुम्रे बजारमा गाउँपालिका अध्यक्ष पुर्ण सिं थापाको रोहबरमा राहत प्रदान गरिएको थियो । त्यस्तै, ऋषिङ गाउँपालिकामा संविधान सभा सदस्य झुलबहादुर आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाई फाउण्डेशनकी अध्यक्ष आलेले राहत सामाग्री हस्तान्तरण गरेकी थिइन् ।
सो अवसरमा बोल्दै संविधान सभाका सदस्य झुलबहादुर आलेले विभिन्न समयमा भएको प्राकृतिक प्रकोपले नेपालीहरु निकै प्रभावित भएकाले एक अर्काले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै, लाफा ग्रुपकी अध्यक्ष आलेले जहाँ आपत र विपत् पर्छ त्यहाँ फाउण्डेशन पुग्ने गरेको बताइन् । फाउण्डेशनले सामाजिक सेवालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको भन्दै दुःख पर्दा मानवीय हिसाबले सबैलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने सन्देश लिएर देशका विभिन्न ठाउँमा पुग्ने गरेको बताइन् ।
फाउण्डेशनले म्याग्दे गाउँपालिकाका पहिरो पीडितहरुलाई समेत राहत उपलब्ध गराउने जनाएको छ । गत जेठ २९ गतेदेखि परेको अविरल वर्षा र त्यसपछिको भारी बर्षाले बन्दिपुर र ऋषिङमा मानवीयसहित ठुलो जनधनको क्षति गरेको छ । लाखौँको भौतिक संरचना भत्किएका छन् भने पशुचौपाय मरेका छन् ।










