पत्रकार महासंघ तनहुँको १२ बुँदे घोषणापत्र जारी : संवैधानिक रिक्तताको अन्त्य गर्न माग

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल पत्रकार महासंघ तनहुँले १२ बुँदे घोषणापत्र जारी गर्दै शाखाको १२औं साधारणसभा मंगलबार सम्पन्न गरेको छ । शाखाको १२औं साधारणसभामा गठन भएको प्रस्ताव लेखन समितिमार्फत् प्रस्तुत गरिएका प्रस्तावलाई साधारणसभाले सर्वसम्मत रुपमा पारित गरी घोषणापत्र जारी गरेको हो । तनहुँ जिल्लामा क्रियाशील सम्पूर्ण सञ्चारकर्मीहरुलाई सञ्चारगृहहरुले न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन घोषणापत्रमा माग गरिएको छ । जारी घोषणापत्रमा मुलुकमा विद्यमान राजनीतिक संकटको निदानको लागि वार्ता र संवादको माध्यमबाट समाधान गरी संवैधानिक रिक्तताको अन्त्य गर्न माग गरिएको छ ।

यस्तै, कोभिड-१९ को प्रभावले रोजगारी गुमाएका पत्रकारहरुलाई पुनःबहाली र पारिश्रमिक रोकिएकालाई भुक्तानी र पेशागत स्थायीत्वको लागि सञ्चारगृहसँग माग गर्दै घोषणापत्रमा तनहुँ जिल्लाभित्र रहेका सबै स्थानीय तहहरुबाट प्रदान गरिने विज्ञापनलाई नेपाल पत्रकार महासंघ तनहुँ शाखामार्फत् जिल्ला सञ्चालित सञ्चारमाध्यमहरुलाई समानुपातिक र एकद्वार प्रणालीबाट लागू गर्न पनि माग गर्दछ भनिएको छ । पत्रकारिता पेशाको पेशागत सुदृढीकरण, शुद्धिकरण र सुरक्षाको ग्यारेण्टी गर्न, पत्रकार कल्याणकारी कोष स्थापनाका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनहरुसँग सहयोगका लागि अपिल गरिएको छ ।

तनहुँको पत्रकारिता क्षेत्रको वृत्तिविकासमा योगदान पुर्‍याउन अक्षयकोष स्थापना गर्नुहुने रणबहादुर गुरुङ, भाग्यशाली ढुङ्गाना, कृष्णकुमार श्रेष्ठ, मुक्तिनाथ खनाल, कमलामोहन वाग्ले, प्रदीप काफ्लेलाई धन्यवाद ज्ञापन गरिएको छ । उक्त पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधि तयार गर्न तनहुँ शाखालाई अनुरोध गरिएको छ ।

त्यस्तै, तनहुँ जिल्लाको पर्यटन प्रबर्द्धनका लागि मानुङकोटदेखि पुलिमराङसम्म आयोजना गरिएको व्यास अल्ट्रा म्याराथन सफल बनाउन आ-आफ्नो सञ्चारमाध्यम मार्फत् प्रचारप्रसार गरी सहयोग गर्न अनुरोध गरिएको छ । साथै जिल्लाका प्रमुख धार्मिक एवं पर्यटकीय पूर्वाधारहरुको प्रचारप्रसार र प्रबर्द्धनका लागि सञ्चारमाध्यमबाट सहयोग गर्न सम्पूर्ण सञ्चारकर्मीहरुमा अपिल गरिएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक तनहुँका दश वटै स्थानीय तहको समन्वय र सहकार्यमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछ साथै हरेक स्थानीय तहमा दक्ष पत्रकार उत्पादन र ज्ञान, सीप, क्षमता अभिवृद्धिका लागि स्थानीय स्तरमै क्षमता विकास कार्यक्रम सञ्चालनका लागि सहयोग पुर्‍याउन स्थानीय तह तथा सरोकारवालाहरुसँग अनुरोध गरिएको छ । जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्दै प्राकृतिक स्रोतसाधनमाथि भइरहेको अवैध उत्खनन् तत्काल रोक्न स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।

सञ्चारकर्मी र सञ्चारमाध्यमको प्रबर्द्धनमा प्रतिबद्ध छौ : नगरप्रमुख न्यौपाने

त्यस्तै, साधारण सभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जिल्लाको सञ्चार माध्यमको प्रबर्द्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । जिल्लाका सञ्चार माध्यमलाई बिगतदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने न्यौपानेले प्रतिबद्धता जनाएका छन् । नगरप्रमुख न्यौपानेले वर्तमान सरकारको असंवैधानिक कदमको सञ्चारमाध्यमले पनि कलमको माध्यमबाट आवाज बुलन्द गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शीता खोजी गरिने बताए । विष्टले वर्षौसम्म आम्दानी गर्ने तर श्रमजीवि पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शीता खोजी गरिने बताए ।

‘वर्षौसम्म व्यापार गरेर पैसा कमाउने तर कोभिड संकटलाई देखाएर पत्रकारलाई तलब नदिने सञ्चारमाध्यम विरुद्ध आन्दोलन शुरु भएको छ’, उनले भने, ‘महासंघ सदैव श्रमजीवि पत्रकारको पक्षमा छ ।’ महासचिव विष्टले पत्रकार महासंघ उन्नत पत्रकारिताको अभ्यासमा भन्दा पनि अन्य काममा भुल्नपरेको गुनासो गरे । व्यावसायिक पत्रकारिता र नीतिको क्षेत्रमा सरकारले महासंघलाई सहयोग नगरेको विष्टको भनाई थियो । विष्टले पत्रकारले राजनीति गर्न नहुने भन्दै तर राजनीति बुझन भने आवश्यक रहेको तर्क गरे । नागरिक अधिकार विरोधी कदममा महासंघ मूकदर्शक भएर बस्न नसक्ने विष्टको भनाई थियो ।

शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नविन कुइँकेल, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, नेपाली कांग्रेसका सचिव विश्व बास्तोला, नेकपाका कार्यालय सचिव राजेश्वर ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारी, तनहुँ टिभीका अध्यक्ष शंकरनारायण श्रेष्ठ, प्रेस संगठनका अध्यक्ष नारायण खड्का, तनहुँका केन्द्रीय पार्ष वषन्त कडेल, प्रेस युनियनका अध्यक्ष अमरराज नहर्की लगायतले पत्रकारिता क्षेत्रका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

दुइ पत्रकारिता पुरस्कार स्थापना

यस्तै, नेपाल पत्रकार महासंघ तनहुँ शाखामा थप दुइ नयाँ पत्रकारिता पुरस्कार स्थापना भएको छ । पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रदीप काफ्ले र संस्थापक सदस्य एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शाखामा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् । शाखाका पूर्व अध्यक्ष काफ्लेले स्वर्गीय पिता पुरुषोत्तम काफ्लेको स्मृतिमा रु एक लाख राशिको पुरुषोत्तम काफ्ले आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । काफ्लेले रु एक लाख बराबरको चेक व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने मार्फत् शाखा अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गरे ।

यसैगरी शाखाका साधारण सदस्य एवं वरिष्ठ अधिवक्ता वाग्लेले स्वर्गीय पिता चिरञ्जीवि वाग्ले र स्वर्गीय आमा हरिमाया वाग्लेको स्मृतिमा रु एक लाख ११ हजार १११ राशिको ‘चिरनहरि पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन् । वाग्लेले उक्त रकम बराबरको चेक व्यास नगरपालिकाका प्रमुख न्यौपाने मार्फत् शाखा अध्यक्ष आचार्यलाई हस्तान्तरण गरे । काफ्लेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कृषि र सहकारी क्षेत्रमा साथै वाग्लेको स्मृतिमा स्थापित पुरस्कार न्याय र वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने शाखाका अध्यक्ष आचार्यले जानकारी दिए ।

महासंघका ६ जना पूर्व अध्यक्ष पुरस्कृत

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका ६ जना पूर्व अध्यक्षहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरेको छ । शाखाको आयोजित १२औं साधारणसभाका अवसरमा विभिन्न पुरस्कारबाट ६ जना पूर्व अध्यक्ष पुरस्कृत गरिएको हो । महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गरिएको छ । सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार-२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराइ र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पाँच हजार रुपैयाँ रहेको छ ।
यस्तै, टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार-२०७५ बाट विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्ले पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ । तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याए बापत उहाँहरुलाई पुरस्कृत गरिएको शाखाका सचिवत उज्वल पौडेलले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker