तनहुँका ८८० जना कोरोना संक्रमित निको भए
भञ्ज्याङ समाचारदाता/दमौली

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमित मध्ये ८८० जना निको भएका छन् । संक्रमित मध्ये शुक्रबार १४५ र शनिबार ६४ जना निको भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत वैशाख महिना यता ३ हजार ५३२ को पीसीआर र ८८२ जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा २ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जिल्लामा शनिबार ३० जनामा संक्रमण पुष्टि भएको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय तनहुँले गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय र स्थानीय पालिकाहरुको समन्वयमा एन्टिजेन र पीसीआरबाट कोरोना परीक्षणको दायारालाई बढाउँदै लगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
संक्रमित मध्ये शनिबार साँझसम्म ६ जनाको एचडियूमा, २ जनाको आइसियूमा र ७६ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने १ हजार ८५ जना होम आइसोलेशनमा बसेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै, तनहुँमा वैशाख महिना यता कोरोना संक्रमणका कारण ६० जनाको मृत्यु भएको छ । मृतक मध्ये ७ जनाको जिल्लामै र अन्यको जिल्ला बाहिरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।










