तनहुँको दमौलीमा सात वर्षदेखि अलपत्र भवनको निर्माण कार्य पुनः सुरु

दमौली : तनहुँको व्यास नगरपालिका–३ मा विगत सात वर्षदेखि अलपत्र अवस्थामा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवनको निर्माण कार्य पुनः सुरु भएको छ । सङ्घीयता कार्यान्वयसँगै उक्त कार्यालय खारेज भएपछि निर्माणाधीन भवनको काम रोकिएको थियो ।
अहिले सामाजिक विकास विकास कार्यालय तनहुँले उक्त भवन प्रयोग गर्नेगरी भवनको काम सम्पन्न गराउन पुनःकाम सुरु भएको छ । भवनको बाँकी काम सम्पन्न गर्नका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले रु ६८ लाख बजेट विनियोजन गरेको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभयो ।
असोज मसान्तसम्म म्याद थपगरी निर्माण व्यवसायीलाई काममा परिचालन गराइएको सुवेदीले जानकारी दिनुभयो । तत्कालीन अवस्थामा गीता मना जेभीले यो भवनको काम गरेको थियो । सार्वजनिक खरिद नियमावलीको संशोधित प्रावधानअनुसार पुरानै ठेक्कामा म्याद थपगरी भवन निर्माण सम्पन्न गराउन लागिएको सुवेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसमा नयाँ ठेक्का गरिएको होइन । साविककै ठेकेदार कम्पनीलाई असोज मसान्तसम्म म्याद थप गरिएको हो । दसैँ अगाडि नै काम सम्पन्न गराउँछु भनेर ठेकेदारबाट प्रतिबद्धता आएको छ ।”
भवनको काम सम्पन्न भएपछि सामाजिक विकास कार्यालयको भवन यहीँ सर्ने सुवेदीले बताउनुभयो । हाल शिक्षा विकास तथा समन्वय इकाइको भवनमा दुई वटा कोठामा कार्यालय सञ्चालनमा छ । दुई वटा कोठामा काम गर्नुपर्दा समस्या भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “निर्माणाधीन भवनमा पर्याप्त कोठाहरू छन् । त्यहाँ सरेपछि कार्यालयको सेवा प्रवाहमा सहजता आउनेछ ।”
तत्कालीन महिला विकास कार्यालयको भवन लामो समयसम्म अलपत्र परेपछि सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकार मातहत आएको थियो ।
प्रदेश सरकारले सामाजिक विकास कार्यालयको जिल्लामा भवन नभएकाले सो भवन सम्पन्न गराएर कार्यालय सञ्चालन गर्न लागेको सुवेदीले बताउनुभयो । हाल भवनमा विद्युतीकरण र ग्रिलको काम भइरहेको सुवेदीको भनाइ छ । नौ जनाको दरबन्दी रहेको कार्यालयमा हाल पाँच जना कर्मचारी कार्यरत छन् । कार्यालयमा अधिकृतस्तर सातौँ एक, सहायक अधिकृतस्तर एक, इञ्जिनियर एक र कार्यालय सहयोगी दुई कार्यरत छन् ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ चालुतर्फ रु एक करोड ७२ लाख एक हजार बजेटमध्ये रु एक करोड ११ लाख ३३ हजार खर्च गरेको छ । त्यस्तै पुँजीगततर्फ रु छ करोड आठ लाख ५० हजारमध्ये रु चार करोड ३६ लाख ९९ हजार खर्च गरेको छ ।
कार्यालयले त्यस अवधिमा पुँजीगततर्फ ४१ मध्ये ३३ वटा योजनाको काम सम्पन्न गरेको छ । जसमध्ये प्रदेशतर्फ कुल ३७ योजनामा ३० वटा योजनाको काम सकिएको छ । सङ्घतर्फ कूल चार योजनामध्ये तीन वटा योजनाको काम सम्पन्न भएको छ । रासस










