आँबुखैरेनी-मुग्लिन सडक खण्ड : पहरो काटेर एकतर्फी सबै यातायातका साधन सञ्चालन
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्ड शनिबार दिउँसोबाट एकतर्फी सञ्चालनमा ल्याइएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित मर्स्याङदी विद्युत गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि अवरुद्ध उक्त सडक खण्ड मर्मत गरी एकतर्फी मात्र यातायात सञ्चालन गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
भासिएको सडकको कुनातर्फपहरो काटेर सडक फराकिलो पार्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सडकको चाप हेरी काम रोकिएको समयमा साना ठूला सबै सवारी साधन वारपार गराउने गरिएको छ ।’
उक्त सडक खण्ड अर्को सूचना नआएसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ । एकतर्फी सडक सञ्चालन गरिएको हुँदा राजमार्गमा सयौं यात्रुहरु अलपत्र परेका छन् ।
यात्रुको समस्यालाई ध्यानमा राखेर एकतर्फी रुपमा सबै सवारीलाई सञ्चालनको अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
बिहीबार साँझदेखी अलपत्र परेका ठूला सवारीलाई पनि शनिबार बिहानैदेखि सञ्चालनमा अनुमति दिएसंगै सडकमा अलपत्र परेका अधिकांश ठूला सवारी साधन चल्न थालेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले बताए ।
उक्त खण्डमा शुक्रबार बिहान करिब ४ बजेको समयमा सडक भाँसिएको थियो । करिब दुइ फिट पहरो काटेर साना सवारी साधान र पैदलयात्रीलाई वारपार गराउने कार्य भएपनि शनिबार दिउँसोबाट ठूला सवारी साधानलाई पनि वरपार गराइएको छ ।
सडक भासिएसंगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदिमा खस्दा दुइ जनाको शव भेटिएको थियो । भेटिएको शव मध्ये स्कुटर चालक गोरखा छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ बस्दै आएका ३५ वषर्ीय केशव घिमिरे र कार चालक हेटौंडा घर भएका ३३ वर्षीय हेम बहादुर भुजेल रहेका छन् । मोटरसाइकल चालक भने सकुसल भेटिएका थिए ।
सडक भासिएपछि अवरुद्ध पृथ्वीराजमार्गलाई खुलाउन सडक डिभिजन तथा अन्य सरोकारवाला निकायका प्राविधिकहरु खटाएर काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।
सडक भाँसिएको क्षेत्रमा वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन् । सडक सुचारु गराउनका लागि प्राविधिकहरुले अध्ययन गरी पहरो काट्ने काम गरिएको छ । प्राविधिक जाँच गरी पहरो कटान कार्य अगाडि बढाइएको हुँदा दुइ तीन दिन भित्र सहज रुपमा सडक खुल्ला गर्ने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।










