प्राकृतिक सौन्दर्यको अनुपम संगम : म्याग्देको “मनपाङ हिल प्वाइन्ट”
नारायण खड्का/भञ्ज्याङ

म्याग्दे : तनहुँलाई ग्रामीण पर्यटनको हबका रुपमा लिन सकिन्छ । ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक, साहित्यिक जस्ता विविध आयमले भरिपूर्ण छ तनहुँ । यी सम्पादाको सामयिक प्रवर्द्धन र प्रचार प्रसार गर्न नसकिदा पर्यटकीय गतिविधिबाट तनहुँले यथोचित लाभ लिन भने सकेको छैन ।

प्राकृतिक छटाले भरिपूर्ण अनुपम गन्तव्य हो ‘मनपाङ’ । तनहुँको म्याग्दे गाउँपालिका–६ मा अवस्थित मनपाङ गाउँ अहिले एक नयाँ पर्यटकीय गन्तव्यका रूपमा उदाउँदैछ। समुन्द्री सतहबाट करिब १ हजार ७० मिटर उचाइमा अवस्थित मनपाङ क्षेत्र प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व, सांस्कृतिक विविधता र ग्रामीण जीवनशैलीको समृद्ध मिश्रण छ । ग्रामीण पर्यटन प्रवर्द्धनको दृष्टिले यस क्षेत्रको सम्भावना अत्यन्त उज्यालो देखिन्छ । यो क्षेत्रको सामयिक रुपमा प्रवर्द्धन गर्न सके स्थानीय बासिन्दाका साथै गाउँपालिकाले समेत राम्रो लाभ लिन सक्ने सम्भावना बोकेर मनपाङ क्षेत्र बसेको छ ।

अद्वितीय प्राकृतिक सौन्दर्य र दृश्यावलोकनको गन्तव्य : “मनपाङ हिल प्वाइन्ट’
स्थानीयले ‘मनपाङगढी÷ मनपाङकोट’ भनेर चिनेको ठाउँलाई हाल ‘मनपाङ हिल प्वाइन्ट’का नामले प्रचारप्रसार गर्न उपयुक्त देखिन्छ, किनभने यहाँको भौगोलिक बनावट र दृश्यावलोकनको सम्भावना साँच्चिकै लोभलाग्दो छ । चारैतिर हरियालीले ढाकेका पाखा र टाकुरा, टाढाटाढासम्म देखिने गाउँबस्ती, चिटिक्क परेका पाखापखेरा, खेतबारी र उत्तरतर्फ हाँसेर बसेका सेता हिमाल, यी सबैले यो ठाउँलाई प्रकृतिको एउटा जीवित चित्रजस्तै बनाइदिन्छ ।

मनपाङकोट साविक मनपाङ गाविस र हाल म्याग्दे गाउँपालिकाको वडा नं. ६ मा पर्दछ । मनपाङकोट म्याग्देको सबैभन्दा अग्लो पहाडी चुचुरो हो । बाइसे चौविसे राज्यको पालामा मनपाङकोट एक गढी वा किल्लाको रुपमा रहेको यहाँ रहेका कोत तथा हातहतियार भण्डारणको भग्नावशेषहरुले पुष्टि गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ बताउँनुहुन्छ ।

यहाँबाट थर्पु, जामुने, खैरेनीटार, दुलेगौंडा र दमौली बजारका दृश्य देख्न सकिन्छ, जुन दृश्य पर्यटनप्रेमीका लागि विशेष आकर्षण हो । सूर्योदय र सूर्यास्तको दृश्य पनि मनपाङ हिल प्वाइन्टको प्रमुख आकर्षण हो । साथै, यहाँ बनाइएका सुन्दर दृष्यावलोकन विन्दु (भ्यू प्वाइन्ट)बाट ३६० डिग्री दृश्यावलोकन गर्न सकिन्छ ।
धार्मिक आस्थाको केन्द्र : थानी मणी र कालो भैरव मन्दिर

मनपाङ हिल प्वाइन्टमा धार्मिक आस्थाको केन्द्रका रूपमा थानी मणी मन्दिर र कालो भैरव मन्दिर रहेका छन् । यी मन्दिरहरू न केवल धार्मिक आस्थाका प्रतीक हुन्, यिनले स्थानीय पहिचान र सांस्कृतिक सम्पदालाई समेत बलियो बनाएका छन् ।
सदियौंदेखि दमौली, भिमाद, जामुने, थर्पु, खैरेनी, दुलेगौंडा, कोत्रे लगायत पोखरासम्मका मानिसहरुले मनपाङकोट स्थित कालो भैरवलाई पञ्चवली र थानी मणीलाई फूलको डोली चढाउने प्रथा चलिआएको छ। र अहिलेसम्म पनि उक्त महिमा कायम नै रहेको स्थानीय बताउँछन्। विशेषतः ठुलो दशैको नवमी र चैते दशैंको अष्टमी तिथिका दिन यहाँ विशेष पर्व लाग्ने गर्दछ । कोटको नजिकै अर्को थुम्कोमा मनकामनामाई मन्दिर समेत रहेको छ ।

गुरुङ संस्कृतिको जगेर्ना र होमस्टे अनुभव
मनपाङमा प्रायः गुरुङ समुदायको बाहुल्यता छ भने केही दलित समुदायको समेत बसोवास रहेको छ । गाउँमा हाल २० घर रहेका छन्, जसमध्ये ८ घरमा घरबास (होमस्टे) सेवा सञ्चालनमा छ । करिब ३० जनासम्म पर्यटकलाई बस्न सक्ने व्यवस्था रहेको मनपाङ सामुदायिक घरबासका अध्यक्ष सोनी गुरुङ बताउँनुहुन्छ ।

उहाँका अनुसार घरबासमा एक रात बसेको एक हजार दुई सय रुपैयाँ प्याकेज तोकिएको छ । प्याकेजमा रातिको खाना, बास र बिहानको खाजाको व्यवस्था गरिएको छ । होमस्टेमा बास बस्दा पाहुनाले गुरुङ भेषभूषा, नृत्य, गीत, पारम्परिक परिकार (जस्तैः स्थानीय कृषि उपज, सेलरोटी, ढिँडो, स्थानीय कुखुरा खासीबोकाको मासु, जाँड, रक्सी) लगायतका सांस्कृतिक पक्षको प्रत्यक्ष अनुभव लिन पाउनेछन् । यो अनुभव नै ग्रामीण पर्यटनको आत्मा हो, जहाँ पाहुनाले केवल दृश्य होइन, जीवनशैली नै अनुभव गर्न पाउँछन् ।

पूर्वाधार विकास र स्थानीय नेतृत्वको भूमिका
गाउँपालिकाको थर्पु बजारबाट मनपाङ पुग्न करिब ७ किलोमिटरको कच्ची सडक पार गर्नुपर्छ । यो सडकको स्तरोन्नतिका लागि म्याग्दे गाउँपालिकाले बजेटको व्यवस्था गर्दै आएको छ । साथै, वडा नं. ६ का वडा अध्यक्ष हिरालाल गुरुङ स्वयंले पनि व्यक्तिगत लगानीमा विभिन्न पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका कामहरू अघि बढाएका छन् ।

मनपाङ हिल प्वाइन्ट क्षेत्रमा ढुंगाको प्रयोग गरी आकर्षक सिढी निर्माण, मन्दिर तथा भ्यू प्वाइन्ट तर्फ जाने बाटोमा समेत ढुंगा बिच्छ्याइएको छ । लिफ्ट प्रविधिबाट खानेपानी आपूर्ति तथा मन्दिर क्षेत्रको व्यवस्थापन व्यवस्थित बनाउँदै लगिएको छ। यी कार्यले देखाउँछन् कि स्थानीय तहको सक्रियताले कसरी ग्रामीण क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा रूपान्तरण गर्न सक्छ ।
कसरी पुग्ने ?

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको थर्पु बजारबाट उत्तरतर्फ सवारी साधानमा झण्डै ७ किलोमिटरको कच्ची सडकमार्फत सानो सवारी प्रयोग गरी मनपाङ गाउँसम्म पुग्न सकिन्छ। गाउँबाट करिब १५ मिनेटको पदयात्रा गरेपछि मनपाङ हिल प्वाइन्ट पुग्न सकिन्छ ।
सडक कच्ची भए तापनि मोटरसाइकल वा जिप जस्ता साना सवारीसाधनबाट सजिलै यात्रा गर्न सकिन्छ । यात्रा आफैँमा रोमाञ्चक छ । हरियाली बिच उकालो बाटो र ग्रामीण जीवनशैलीको झलक आउँछ ।

यस्तै, पदयात्रामा रमाउनेहरुका लागि मनपाङ पदमार्ग (दमौली–हर्षपुर–तिलाहार–मनपाङ–रामकोट–दगाम भुजिकोट–कोत्रे) हुँदै पोखरासम्मको यात्रा तय गर्न सकिन्छ । मनपाङकोटबाट शुक्लागण्डकी र पोखरा उपत्यका, हिमाली श्रृंखला, पहाडी तरेलीका साथै लालिगुराँस र काफल सहितको हरिया वनजंगलको अवलोकन गर्न सकिन्छ । फिल्म सुटिङका लागि समेत उपयुक्त रहेको मनपाङकोट होमस्टे सहितको ग्रामीण पर्यटनको गन्तव्यमा पुग्नका लागि पाइला चालेको छ ।

मनपाङ : गन्तव्यभन्दा पर, अनुभव नजिक
मनपाङमा विकासले अझ धेरै पाइला चाल्न बाँकी छ, तर जुन ढंगले स्थानीय सरकार, बासिन्दा र समुदायले मिलेर यो क्षेत्रको सम्भावना उचालिरहेका छन्, त्यो स्वयंमा उदाहरणीय हो ।

पर्यटकका लागि मनपाङ अब केवल पुग्नुपर्ने गन्तव्य होइन, बस्न, बुझ्न र महसुस गर्नुपर्ने अनुभव हो– जहाँ प्रकृति, संस्कृति, इतिहास र आतिथ्य एकैसाथ पाइन्छन् ।
यदि तपाईं शान्त वातावरणमा केही दिन बिताउँदै ग्रामीण सौन्दर्य, जीवनशैली र परम्परा आत्मसात गर्न चाहनुहुन्छ भने तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित मनपाङ तपाईंको अर्को गन्तव्य हुनसक्छ ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ










