तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई व्यावसायिक बाख्रापालन तालिम

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले प्रभावित परिवारको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरेको छ । आयोजनाको जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत व्यास र भिमाद नगरपालिका तथा म्याग्दे र ऋषिङ गाउँपालिकाका २२ जनालाई तालिम प्रदान गरिएको हो । व्यावसायिक बाख्रापालन तथा जीवनोपयोगी सीप र वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो ।
बुधबार आयोजित समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसँगै बाख्रापालनका लागि आवश्यक उपकरण तथा सामग्री वितरण गरिएको थियो । परम्परागत रूपमा बाख्रापालन गर्दै आएका सहभागीले तालिमबाट व्यवसायलाई व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक ज्ञान तथा सीप हासिल भएको बताएका थिए ।
आयोजनाले प्रभावित परिवारको जीविकोपार्जन पुनर्स्थापना तथा सामुदायिक विकासअन्तर्गत हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको छ । ती कार्यक्रमबाट ४०१ महिलासहित ७७६ जना लाभान्वित भएका छन् ।
आयोजनाले यसअघि इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बंगुरपालन, तरकारी खेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी सीप विकास तालिम सञ्चालन गरिसकेको छ । प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धनमार्फत आर्थिक आत्मनिर्भरता बढाउने कार्यक्रमलाई निरन्तरता दिइएको आयोजनाले जनाएको छ ।










