तनहुँ जलविद्युत् आयोजनको जलाशय क्षेत्रमा रुख कटान प्रक्रिया सुरु

दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा पर्ने रुख कटान प्रक्रिया अघि बढाइएको छ । यसका लागि आयोजनाले जलाशय क्षेत्रमा पर्ने २५ वटा सामुदायिक वन उपभोक्ता समूहसँग परामर्श सुरु गरेको छ ।
डिभिजन वन कार्यालय तनहुँको समन्वयमा आयोजित पहिलो चरणको बैठकमा जलाशय क्षेत्रभित्र रहेका रुखको गणना, छपान तथा कटान प्रक्रियाबारे छलफल गरिएको हो । बैठकमा रुख गणना, छपान र कटानका लागि अपनाउनुपर्ने विधि तथा कानुनी प्रक्रियाबारे सामुदायिक वनका प्रतिनिधिलाई जानकारी गराइएको थियो ।
आयोजना प्रमुख श्यामजी भण्डारीले जलाशय क्षेत्रका रुख कटानको काम व्यवस्थित रूपमा अघि बढाउन सामुदायिक वन उपभोक्ता समूहसँग परामर्श थालिएको बताए। रुख गणना, छपान तथा कटानका क्रममा सम्बन्धित वन समूहको सहभागिता र समन्वयलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।
जलाशय क्षेत्रभित्र पर्ने वन व्यवस्थापन आयोजना निर्माण प्रक्रियाकै महत्वपूर्ण हिस्सा भएकाले प्रचलित वनसम्बन्धी कानुन र निर्धारित प्रक्रियाअनुसार काम अघि बढाइने भण्डारीले बताए ।
बैठकमा रुख गणना, छपान तथा कटानका क्रममा उपभोक्ता समूहको भूमिका, सहभागिता र आवश्यक समन्वयका विषयमा समेत छलफल भएको थियो । छलफलका विषयलाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।










