वनको आम्दानीबाट बाँझो खेतमा सामूहिक धानखेती, १७ परिवारको खाद्य सुरक्षा सुनिश्चित

वन संरक्षणको रकम उत्पादनमा लगानी, ३६ रोपनी जग्गामा खेती गरेर वर्षभरि खान पुग्ने अन्न उत्पादन

म्याग्दे । सामुदायिक वनलाई काठ, दाउरा र वन पैदावारको संरक्षण तथा व्यवस्थापनमा मात्र सीमित राख्ने प्रचलनबीच तनहुँको एक सामुदायिक वन उपभोक्ता समितिले वनको आम्दानीलाई कृषि उत्पादन र खाद्य सुरक्षासँग जोडेको छ । वनको आम्दानीबाट बाँझो खेत बन्धकीमा लिएर सामूहिक खेती थालेपछि म्याग्दे गाउँपालिका–१, गुणादीका १७ परिवारको खाद्यान्न अभाव हटेको छ ।

वाराही सामुदायिक वन उपभोक्ता समितिले सात वर्षअघि सुरु गरेको यो अभियानले लामो समयदेखि उपयोगविहीन रहेको खेतलाई उत्पादनशील बनाएको छ । पहिले अरूको जमिनमा अधियाँ खेती गरेर आधा उत्पादन मात्रै पाउने किसान अहिले सामूहिक खेतीबाट उत्पादित सबै अन्नका हकदार बनेका छन् । यसले बाँझो जमिनको सदुपयोगसँगै न्यून आय भएका परिवारको खाद्य सुरक्षा र जीविकोपार्जनमा समेत सुधार ल्याएको छ ।

सामूहिक खेतीमा आबद्ध मञ्जु विकका लागि अहिले घरमा अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ता हटेको छ । केही वर्षअघिसम्म वर्षभरि काम गर्दा पनि परिवारको छाक टार्न कठिन हुने उहाँको परिवारलाई अहिले आफ्नै उत्पादनले वर्षभरि खान पुगेको छ । सोही गाउँकी नानी थापामगरको परिवारले पनि सामूहिक खेतीबाट खाद्यान्नमा आत्मनिर्भर बन्ने अवसर पाएको छ ।

स्थानीय दिलबहादुर रामदामका अनुसार पहिले अधियाँ खेती गर्दा उत्पादनको आधा हिस्सा जग्गाधनीलाई बुझाउनुपथ्र्यो भने बाँकी अन्नले पनि वर्षभरि खान पुग्दैनथ्यो । उनले भने, ‘पहिला छ महिनाका लागि अन्न बेसाउनु पथ्र्यो । अधियाँ गर्दा उत्पादनको आधा मात्रै पाइन्थ्यो । अहिले खेतीबाट भएको सबै अन्न घर लैजान पाएका छौँ ।’

समितिले ३६ रोपनी खेत आठ लाख २६ हजार रुपियाँमा बन्धकी लिएर सामूहिक खेती सञ्चालन गरेको छ । खेतीमा सहभागी हुन इच्छुक परिवारले निवेदन दिएर एक हजार पाँच सय रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त जग्गामा धान, आलु र मकै खेती हुँदै आएको छ । समितिका अध्यक्ष मुक्तिनाथ खनालका अनुसार खेतीमा आबद्ध प्रत्येक परिवारले वार्षिक औसत १७ मुरी धान प्राप्त गर्ने गरेका छन् ।

सामुदायिक वनको आम्दानीलाई उपभोक्ताको जीवनस्तर सुधारमा परिचालन गर्दा वन संरक्षणको लाभ समुदायमै फर्किएको छ । वनबाट प्राप्त रकम वन व्यवस्थापनमा मात्र खर्च नगरी उत्पादन र आयआर्जनसँग जोड्न सके स्थानीयस्तरमै रोजगारी तथा खाद्य सुरक्षाको आधार तयार गर्न सकिने उदाहरण वाराही सामुदायिक वनले दिएको छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाट सामुदायिक वनको आम्दानीलाई गरिबी न्यूनीकरण र महिला सशक्तीकरणसँग जोडेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु अनुकरणीय अभ्यास भएको बताउँछन् । वनको स्रोतलाई उपभोक्ताको आर्थिक तथा सामाजिक अवस्थासँग जोड्न सके सामुदायिक वनको औचित्य अझ फराकिलो हुने उनको भनाइ छ ।

सामूहिक खेतीलाई थप प्रभावकारी र व्यावसायिक बनाउन उपभोक्ताले कृषि उपकरणको आवश्यकता औँल्याएका छन् । धान काट्ने मेसिन र खेत जोत्ने ट्याक्टर अनुदानमा उपलब्ध गराउन उनीहरूले माग गरेका छन् । आवश्यक उपकरण र प्राविधिक सहयोग उपलब्ध भए खेतीको लागत घटाउनुका साथै उत्पादन बढाउन सकिने उनीहरूको अपेक्षा छ ।

वाराही सामुदायिक वनको अभ्यासले सामुदायिक वनको सफलता रूखबिरुवा जोगाउने र वनको क्षेत्रफल बढाउने काममा मात्र मापन नहुने देखाएको छ । वनको आम्दानीबाट बाँझो जमिनमा खेती विस्तार गरी विपन्न परिवारको भान्सासम्म अन्न पुर्याउन सक्नु पनि वन संरक्षणको महत्वपूर्ण उपलब्धि हो । यस्तो अभ्यासलाई अन्य सामुदायिक वनले समेत अपनाउन सके वन संरक्षणसँगै ग्रामीण अर्थतन्त्र र खाद्य सुरक्षामा उल्लेख्य योगदान पुग्न सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker