नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत व्यासको बेनीकोटमा कृषि तथा पर्यटन प्रवर्द्धन परियोजना सञ्चालन गरिने

तनहुँ : तनहुँको व्यास नगरपालिकाले वडा नं. १३ स्थित बेनीकोटमा कृषि तथा पर्यटन प्रवर्द्धनमार्फत उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ विकास गर्ने परियोजना सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत एक करोड ५० लाख रुपैयाँको लागतमा परियोजना सञ्चालन गर्न लागिएको हो ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार सम्पन्न नगर कार्यपालिकाको २४९औँ नियमित बैठकले परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाउन सम्बन्धित वडा र कार्यालयलाई निर्देशन दिएको छ । परियोजनाका लागि प्रदेश सरकारको एक करोड १२ लाख ५० हजार र नगरपालिकाको ३७ लाख ५० हजार रुपैयाँ लागत साझेदारी रहनेछ ।
बैठकले नगरपालिकाका युवा उद्यमी तथा महिला उद्यमीलाई लक्षित गरी नवप्रवर्तनकारी उद्यमशीलता विकास कार्यक्रम (स्टार्टअप कार्यक्रम) सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । स्थानीयस्तरमा नयाँ सोच, सीप र प्रविधिमा आधारित उद्यम विकास गरी युवालाई स्वरोजगार तथा महिलालाई आर्थिक गतिविधिमा थप सक्रिय बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रस्तुत शाखागत प्रगति प्रतिवेदनमाथि छलफल गरी समीक्षा गरिएको छ । यस्तै, आर्थिक वर्ष २०८२/०८३ देखि २०८६/०८७ सम्मका लागि तयार गरिएको नगरपालिकाको आवधिक योजनाको विज्ञद्वारा प्रस्तुत अन्तिम प्रतिवेदन संशोधनसहित पारित गर्ने निर्णय बैठकले गरेको छ ।
नगरपालिकाको विद्यमान कार्यपालिकाको पाँचवर्षे कार्यकालको अन्तिम वर्ष चालु आर्थिक वर्ष भएकाले हालसम्म सम्पादन भएका कामको प्रभावकारिता मूल्याङ्कन गर्न सेवाग्राही सन्तुष्टि सर्वेक्षण र व्यवस्थापन परीक्षण गराउने निर्णय पनि गरिएको छ । यसबाट नगरपालिकाको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा कार्यसम्पादनको अवस्था मूल्याङ्कन गरी आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकले नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट ढुंगा, गिट्टी र बालुवा उत्खननसम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन संशोधनसहित पारित गरेको छ । सेती नदीतर्फ व्यास–१३ को निउरोघारीदेखि व्यास–१४ को खहरे ढाँडखोलासम्म तथा मादी नदीतर्फ व्यास–५ को चापाघाटदेखि व्यास–७ को कलेस्तीसम्म र कलेस्ती दोभानदेखि व्यास–६ को विलमादे खोला दोभानसम्मको क्षेत्र समेटेर अध्ययन गरिएको हो ।
पारित प्रतिवेदनका आधारमा स्थलगत प्राविधिक प्रतिवेदन तयार गरी चालु आर्थिक वर्षका लागि ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा संकलनको टेन्डर प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, कुहिने फोहोरबाहेकका फोहोर संकलन, वर्गीकरण, बिक्री तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन पनि संशोधनसहित पारित गरिएको छ । फोहोरको वर्गीकरण र व्यवस्थापनलाई व्यवस्थित बनाउँदै पुनः प्रयोग तथा बिक्रीयोग्य फोहोरको उचित व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाउन यसले आधार तयार गर्नेछ ।
नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंसिर १८ गते शुक्रबार व्यास–३ दमौलीमा आयोजना गर्ने निर्णय गरेको छ । नगरपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण तथा कार्यक्रम कार्यान्वयनका विषयमा नागरिकका गुनासा, सुझाव र प्रतिक्रियालाई सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र जग्गाधनी प्रमाणपुर्जा वितरण प्रक्रिया अघि बढाउन पनि बैठकले पहल गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाका वडा नं. ९ देखि १४ सम्म नापी कार्य सम्पन्न भए पनि त्यसपछि नापी प्रक्रिया अघि बढ्न नसकेको भन्दै बाँकी नापी कार्य सुचारु गर्न तथा नापी सम्पन्न भएका वडामा जग्गाधनी प्रमाणपुर्जा वितरण प्रक्रिया अघि बढाउन तनहुँ भूमि समस्या समाधान समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
हालैको वर्षाका कारण नगरपालिकाका विभिन्न वडामा भएको क्षतिको विवरण सम्बन्धित वडा समिति र प्राविधिकको प्रतिवेदनका आधारमा यकिन गरी प्रभावितलाई राहत सुविधा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यसबाट वर्षाका कारण क्षति बेहोरेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने बाटो खुलेको छ ।
यसैबीच, व्यास नगरपालिकाले आयोजना गरेको प्रथम नगर प्रमुख अन्तरवडा फुटबल प्रतियोगितामा सबै वडाबाट खेलाडी तथा सञ्चारकर्मीको उत्साहजनक सहभागिता भएको भन्दै बैठकले प्रतियोगिता व्यवस्थापनमा सहयोग गर्ने र सहभागी हुने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै, बैठकमा नगरपालिकाका शिक्षक तथा कर्मचारीबाट भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४२ लाख ४८ हजार ५३६ रुपैयाँ ४६ पैसा जम्मा भएको जानकारी गराइएको थियो । विद्यालयमार्फत उक्त रकम दाखिला गर्ने शिक्षक, कर्मचारी तथा विद्यालयलाई बैठकले धन्यवाद दिएको छ ।
बैठकले व्यास नगरपालिका–११ निवासी नगरपालिकाका पूर्वकर्मचारी मोहनकाजी लोहनीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा र उपशाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।










