खुदीमा ठुली एकादशी मेला, खेलकुददेखि कृषि प्रदर्शनीसम्म

लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठुली एकादशी मेलाको तयारी तीव्र पारिएको छ । मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने मेलामा खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, धार्मिक अनुष्ठान, स्वास्थ्य शिविर तथा कृषि प्रदर्शनीका कार्यक्रम समेटिएका छन् ।
‘विविधतामा एकता हाम्रो पहिचान, इतिहास, धर्म संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित खुदी युथ क्लबको संयोजनमा मेला आयोजना हुन लागेको हो ।
मेलाको पहिलो दिन फूलको डोली -तोरन) तार्ने, भजनकीर्तन, सांस्कृतिक साँझ र उद्घाटन समारोह हुनेछ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार अर्जुन सापकोटा र स्थानीय कलाकार प्रशान्त तामाङलगायतले प्रस्तुति दिने क्लबले जनाएको छ ।
मेलाको मुख्य आकर्षणका रूपमा खुला पुरुष फुटबल, वडास्तरीय क्लब पुरुष भलिबल, खुला छेलो र महिला कुर्सी दौड प्रतियोगिता सञ्चालन गरिनेछ । फुटबल प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही दुई हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष विशाल रावलले जानकारी दिए ।
त्यस्तै, भलिबल प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक हजार पाँच सय तथा उत्कृष्ट सेटर र स्पाइकरलाई जनही एक हजार रुपैयाँ पुरस्कार राखिएको छ। खुला छेलो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पाउनेछन् । सबै प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
मेलाकै अवसरमा मंसिर ५ गते खुदी स्वास्थ्य चौकीको समन्वयमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन हुनेछ। कृषि उत्पादनको प्रदर्शनीसँगै खरिदबिक्रीको व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ ।
मेलाबाट बचत भएको रकम तथा क्लबको आर्थिक स्रोत सामाजिक हित, स्थानीय संस्कृति संरक्षण र सिर्जनात्मक कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ । मर्स्याङदी गाउँपालिकाको मुख्य प्रायोजन र वडा नं. ३ को सहप्रायोजनमा आयोजना हुने मेलाले स्थानीय कला, संस्कृति र खेलकुदको प्रवर्धनसँगै धार्मिक पर्यटन तथा सामुदायिक सद्भाव बढाउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।










