तनहुँका उत्कृष्ट दुग्ध उत्पादक किसानलाई नगदसहित सम्मान

तनहुँ : तनहुँमा व्यावसायिक दुग्ध उत्पादनमा उत्कृष्ट योगदान पुर्याउने किसान, सहकारी संस्था र कर्मचारी पुरस्कृत भएका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड दमौलीको ३१औँ वार्षिक साधारण सभाका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने किसान तथा संस्थालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

दुग्ध उत्पादनतर्फ वार्षिक सबैभन्दा बढी दूध बिक्री गर्ने व्यास नगरपालिका क्षेत्रका पुष्पराज मिश्र जिल्लाकै उत्कृष्ट किसान घोषित भएका छन् । दुम्सी दुग्ध उत्पादक सहकारी संस्थामार्फत मिश्रले एक वर्षमा ५३ हजार ८१३ लिटर दूध बिक्री गरी २७ लाख ७८ हजार ९९१ रुपैयाँको कारोबार गरेका थिए । उनले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका विप्रज्योति खनाल दोस्रो भएका छन् । उनले २८ हजार २३१ लिटर दूध बिक्री गरी १८ लाख २२ हजार १७ रुपैयाँको कारोबार गरेका थिए। दोस्रो भएका खनालले चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थाका खडानन्द आचार्य तेस्रो भएका छन् । उनले २६ हजार ८७५ लिटर दूध बिक्री गरी १६ लाख ७३ हजार ४०० रुपैयाँको कारोबार गरेका थिए । उनले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

संघका व्यवस्थापक राजु भुजेलका अनुसार निर्धारित मापदण्डका आधारमा किसान, सहकारी संस्था र कर्मचारी छनोट गरी सम्मान गरिएको हो। किसानतर्फ ईश्वर कार्की, दीपेन्द्र अधिकारी, चोलबहादुर गौली, सीतादेवी घिमिरे, पूर्णचन्द्र अधिकारी, विष्णुप्रसाद बराल, पवित्रा भण्डारी, लक्ष्मी पाण्डे, दुर्गा तिवारी, हरिकृष्ण अधिकारी र बामदेव भट्टराईले जनही एक हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

सहकारी संस्थातर्फ बढी दूध संकलन गर्ने विधामा दुम्सी दुग्ध उत्पादक सहकारी संस्था प्रथम भएको छ । संस्थाले वार्षिक १२ लाख १३ हजार ३३० लिटर दूध संकलन गरी आठ करोड ५३ लाख चार हजार ३९७ रुपैयाँको कारोबार गरेको थियो । प्रथम भएको संस्थाले सात हजार रुपैयाँ पुरस्कार पाएको छ ।

त्यस्तै, गुणस्तरीय दूध उत्पादनतर्फ म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था प्रथम भएको छ । संस्थाले वार्षिक तीन लाख २६ हजार ५८६ लिटर दूध संकलन गरी दुई करोड ३९ लाख १९ हजार ८४० रुपैयाँको कारोबार गरेको थियो। संस्थाले पनि सात हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

संघबाट उत्पादित दाना सहकारीमार्फत सबैभन्दा बढी खपत गर्ने चारकुने दुग्ध उत्पादक सहकारी संस्था र निजी फर्मतर्फ डिल्लीराम एण्ड गोमा किराना पसललाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ । संघमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा मेखबहादुर गुरुङ, समुन्द्र ढकाल र विष्णु दमैलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवर, जिल्ला अध्यक्ष तुलसीराम सापकोटा र व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले पुरस्कृत तथा सम्मानित हुनेहरूलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले दुग्ध उत्पादनले ग्रामीण अर्थतन्त्र बलियो बनाउन र किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धन र किसानको हितका लागि स्थानीय तहबाट सहयोग तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी किसान तथा सरोकारवालाले दुग्ध व्यवसायलाई दिगो र आकर्षक बनाउन दूधको उचित मूल्य निर्धारण, नियमित भुक्तानी र बजार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । स्वच्छ तथा गुणस्तरीय दूध उत्पादनका लागि किसानलाई आधुनिक प्रविधि, तालिम र अनुदानको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष दुर्गाप्रसाद अधिकारी, सचिव दोधराज रेग्मी, लेखा समिति संयोजक प्रेमप्रसाद पौडेल, कोषाध्यक्ष बद्रीनाथ सापकोटालगायतले दुग्ध क्षेत्रका समस्या र सम्भावनाबारे धारणा राखेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker