तनहुँमा डेंगु संक्रमण दैनिक बढ्दै, दमौली बजार क्षेत्र डेंगुको हटस्पट बन्दै, अझै एक महिना डेंगुको जोखिम

दमौली : तनहुँमा डेंगु संक्रमण दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको तथ्याङ अनुसार जिल्लामा चार हजार छ सय एक जनामा डेंगु संक्रमण देखिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा गरी चार हजार छ सय एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
उनका अनुसार जिल्ला सदरमुकाम व्यास नगरपालिका डेंगुको हटस्पट बनेको छ । व्यास नगरपालिकामा मात्रै गत असार महिना यता एक हजार सात सय चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा आठ सय, भिमाद नगरपालिकामा ६४, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा १८५, आँबुखैरेनी गाउँपालिकामा एक हजार ६४६, ऋषिङ गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा छ, देवघाट गाउँपालिकामा ७४ र बाहिरी जिल्लाका २९ जनामा डेंगु संक्रमण भएको छ ।
अझै एक महिना डेंगुको जोखिम
दशैंपछि चिसो बढ्दै पनि डेंगु संक्रमण रोकिएको छैन । चिसो बढेपछि लामखुट्टे कम हुने भए पनि यसको टोकाइबाट हुने डेंगु संक्रमण धेरै नघटेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार दशैंपछिका केही दिनमा डेंगुका बिरामी ह्वातै बढेका थिए । ‘तीन दिन अगाडिसम्म हामी कहाँ दैनिक २०–२२ जना भर्ना भएका थिए । तर आजभोलि बिस्तारै बिरामी कम हुँदै गएका छन्’, चालिसेले भने । उनका अनुसार आगामी एक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहन्छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस साता सातै प्रदेशका स्वास्थ्यमन्त्री र स्थानीय निकायका प्रतिनिधिसँग डेंगु नियन्त्रणबारे छलफल गरेका छन् । बैठकमा लामखुट्टे नियन्त्रणका लागि सम्बन्धित निकायलाई पुनः सक्रिय गराउने निर्णय भएको छ ।
यसवर्ष हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर २२ हजार भन्दा बढी व्यक्ति डेंगु संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार वर्षापछिको तापक्रम लामखुट्टेका लागि अनुकुल हुने र दशैंको बढ्दो आवतजावतले संक्रमण फैलिन सघाएको छ ।
विशेषज्ञले ७५ प्रतिशत संक्रमितमा लक्षण नदेखिन सक्ने र धेरैले घरैमा उपचार गर्ने गरेकाले वास्तविक संक्रमित संख्या अझै बढी हुनसक्ने चेतावनी दिएका छन् । ‘गम्भीर लक्षण देखिएका बिरामी मात्र अस्पताल आउने गरेका छन्’, डा. पुनले भन्छन्, ‘नाक वा गिजाबाट रगत आउने जस्तो परिस्थिति बने मात्र मानिसहरू अस्पताल आएको देखिन्छ ।’ उनका अनुसार सहन गर्न सक्ने पीडा हुँदासम्म पनि मानिसहरू घरमै बस्ने गर्छन् ।
इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार केही साता जोखिमयुक्त नै हुन्छ । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल हुन्छ । कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० दिनसम्मको हुने भएपनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा लामो समयसम्म रहिरहन्छन् । त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । संक्रमित पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा एक हजारसम्म फुल पार्नसक्छ । उक्त अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । संक्रमित लामखुट्टेको फुलबाट जन्मिएका सबै लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् । ‘पानी पर्न रोकिँदा अबको केही साता जोखिम नै रहन्छ। विगतका वर्षमा कात्तिकसम्म नै जोखिम कायम नै थियो’, दाहालले भने, ‘अहिलेको अवस्था हेर्दा कात्तिक महिना पूरै जोखिमयुक्त हुने ठानेका छौं ।’
उनका अनुसार अघिल्लो वर्षको भन्दा कम संक्रमित हुने आंकलन गरिएको छ । चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित बेहोस पनि हुने सम्भावना हुने भएकाले यो समयमा बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । डेंगुसँग मिल्दोजुल्दो लक्षणहरू देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने नहुने डा. पुन बताउँछन् । उनका अनुसार चिकित्सकसँग परामर्श गरेर मात्र औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।
डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको खोज तथा नष्ट अभियान नै हो । तर, त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ । यो वर्ष डेंगु नियन्त्रण गर्न नसक्नुमा खोज तथा नष्ट अभियानलाई समुदाय स्तरसम्म बुझाउन सरकार चुकेको जनस्वास्थ्यविद् बुझाइ छ ।
अहिले संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै भएकाले त्यसले आगामी दिनमा डेंगु फैलाउन सहज वातावरण बनाउने हुन्छ । त्यसले अण्डाबाट लाभर्न प्यूपा हुँदै लामखुट्टे भएर भएर सीधै डेंगु भाइरस सार्न सक्छ । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ लामखुट्टेको संख्या बढ्छ ।
काठमाडौं लगायत ठूला शहरमा पानी थापेर राख्नुपर्ने बाध्यताको कारण पनि लामखुट्टेलाई हुर्कन सहज भइरहेको छ । यो सँगै बढ्दो शहरीकरण, घर वरिपरिको खाल्डाखुल्डीमा पानी जम्नु, कौसी, गमलामा पानी जम्मा हुँदा अव्यवस्थित तथा टायरका कारण पनि काठमाडौंमा डेंगु फैलिरहेको छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई ध्यान दिनुपर्छ ।










