तनहुँको भानु र शुक्लागण्डकीमा एसइई मोडेलमा कक्षा ८ को परीक्षा सञ्चालन

तनहुँ : तनहुँको भानु र शुक्लागण्डकी नगरपालिकाले पहिलोपटक एसइर्य मोडेलमा कक्षा ८ को परीक्षा सञ्चालन गरेका छन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबारदेखि कक्षा ८ को वार्षिक परीक्षा एसइई परीक्षाकै मोडेलमा सञ्चालन गरेका छन् ।
भानु नगरपालिकाको शिक्षा शाखाले परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रम गरी यस वर्ष कक्षा ८ का विद्यार्थीहरूको परीक्षा थप स्वच्छ, मर्यादित र विश्वसनीय बनाउनका लागि ७ वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरेको शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।
उनले भने, ‘कक्षा ८ को परीक्षामा कुनै विद्यालयका विद्यार्थीको लागि होमसेन्टर कायम गरिएको छैन र परीक्षा केन्द्रहरूका लागि प्रत्येक केन्द्रमा विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।’
भानु नगरपालिकाबाट यस वर्ष कक्षा ८ मा ६०६ जना विद्यार्थीहरूलाई परीक्षा दिनका लागि चन्द्रावती मावि भानु–७, चुँदी, भानु संस्कृत मावि भानु–४, चुँदीरम्घावेंशी, होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु–२ नारेश्वरटार, जनजागृति मावि, भानु–३ ढुकुर्दी तुरतुरे, मनोहर मावि भानु–८ महन्तेहटिया, कर्मदा मावि भानु–९ पूर्कोट बाइसजङ्घार र त्रिभुवन मावि भानु–११ मानेचौका परीक्षा केन्द्र कायम गरिएको छ ।
भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले केन्द्राध्यक्षहरूको जिम्मेवारी र परीक्षालाई कसरी मर्यादित र व्यवस्थित बनाउने बारेमा सहजिकरण गरेका थिए । यस वर्षदेखि कक्षा ८ का सबै विषयका उत्तरपुस्तिका भानु नगरपालिकामा ल्याई कोडिङ गरी परीक्षण र सम्परीक्षण गरिने शिक्षा अधिकारी पौडेलले बताए ।
यस्तै, कक्षा ४ देखि ९ सम्मका सबै कक्षाका विद्यार्थीका लागि प्रश्नपत्र र उत्तरपुस्तिका निःशुल्क उपलब्ध गराउने, कक्षा १–३ को लागि सुधारात्मक मूल्याङ्कन प्रणाली लागु गरिएको र यसका लागि मूल्याङ्कन अभिलेखीकरण पुस्तिका पनि निःशुल्क वितरण गरिएको शिक्षा अधिकारी पौडेले जानकारी गराए ।
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिकाले पनि पहिलो पटक मंगलबारबाट कक्षा ८ अर्थात् आधारभूत शिक्षा परीक्षा एसइई मोडेलमा सञ्चालन गरेको छ । विद्यालय बाहिर परीक्षा केन्द्र तोकेर फरक–फरक विद्यालयको निरिक्षक तोकी परीक्षा सञ्चालन गरिएको हो ।
यस बर्षका शुक्लागण्डकी नगरपालिकामा सामुदायिक विद्यालयका ६८२ र संस्थागत तर्फका ४४३ गरी एक हजार १२५ विद्यार्थीले कक्षा आठको परीक्षा दिईरहेका छन् । परीक्षाका लागि १० परीक्षा केन्द्र तोकिएको छ भने, परीक्षा केन्द्र भएको सम्बन्धित विद्यालयलाई होमसेन्टर कायम गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुशील नरालले विद्यार्थी र विद्यालयको शैक्षिक अवस्था पहिचान गरी आगामी बर्षका लागि शैक्षिक रणनीति तयार गर्न विद्यालय बाहिर परीक्षा केन्द्र तोकी परीक्षा लिइएको बताए । उनका अनुसार आधारभूत शिक्षा परीक्षाको उत्तरपुस्तिका जाँचदेखि नतिजा प्रकाशन सम्मको सम्पूर्ण काम नगरपालिकाबाटै हुने छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker