संक्रमित संख्या दैनिक उकालो लाग्दो
भञ्ज्याङ समाचारदाता/दमौली

कोभिड-१९ को संक्रमित हुनेको संख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड-१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि संक्रमित हुनेको संख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन संक्रमित हुनेको संख्या बढिरहेको छ । मंगलबार देशभर सात हजार ६६० मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।
सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ संक्रमित देखिएका थिए । मंगलबार १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा संक्रमण देखिएको हो । मंगलबार देखिएका संक्रमितसँगै कूल संक्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै मंगलबार एक हजार ७७५ संक्रमितबाट निको भएका छन् । अहिलेसम्म दुइ लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।
५५ को निधन
यस्तै आज मात्र संक्रमणबाट निधन हुनेको संख्या ५५ पुगेको छ । निधन हुनको यो संख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ संक्रमणबाट निधन भइसकेका छन् ।
२० जिल्लामा ५०० बढी संक्रमित
यसैगरी ५०० भन्दा बढी संक्रमित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।
आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९
यस्तै संक्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नं. १ मा ९३, प्रदेश नं. २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् । भेन्टिलेटरमा प्रदेश नं. १ मा १८, प्रदेश नं. २ मा दुइ, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुइ, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् ।










