वरिष्ठ पत्रकार भण्डारीको “फर्केर हेर्दा” पुस्तक विमोचन
भञ्ज्याङन्यूज

वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको पुस्तक ‘फर्केर हेर्दा’ विमोचन गरिएको छ ।
तनहुँको दुलेगौंडामा सोमबार एक कार्यक्रमका बीच नेकपा (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भण्डारीको पुस्तक ‘फर्केर हेर्दा’ को विमोचन गरेका हुन् ।
भण्डारीले लेखेका संस्मरण कृतिको विमोचन गर्दै उपमहासचिव गुरुङले नेपालको राजनीतिक आन्दोलन तथा पत्रकारिता क्षेत्रमा भण्डारीले पुर्याउनुभएको योगदान अतुलनीय रहेको चर्चा गरे ।
भिमाद नगरपालिका-६ निवासी प्रेस स्वतन्त्रता सेनानी भण्डारीले आफूले जीवनमा भोगेका कुराहरुलाई पुस्तकमा उतारेको बताएका छन् । राजनीतिक, पत्रकारिता र जीवनमा गरेका तथा भोगेका कामहरुका बारेमा पुस्तक मार्फ सार्वजनिक गरेको उनले बताए ।
स्याङ्जाको हरिनास गाउँपालिका-२ (साविक तिरतिरे मग्याम चिसापानी)मा वि.सं. २००५ माघ २६ गते जन्मिएका भण्डारीले यसअगाडी सम्पादकीय संग्रह भाग १ र भाग २ प्रकाशित गरिसकेका छन् । भञ्ज्याङ दैनिकको सम्पादक समेत रहिसकेका उनी लामो समय पत्रकारितामा क्रियाशील थिए ।










