४३औं स्थापना दिवस : लखन थापालाई राष्ट्रिय विभूति, भाषा, संस्कृति संरक्षणमा उचित बजेटको माग

दमौली : तनहुँका मगर समुदायले फागुन १५ अर्थात मगर संघ स्थापना दिवस मनाएका छन् । “मगरात सभ्यताको दस्तावेजिकरण गर्दै लखन सांस्कृतिक संग्रहालय बनाऔं, संगठनिक उत्सवको रुपमा मगर संघको ४३औं स्थापना दिवस मनाऔं” भन्ने मुल नाराका साथ जिल्लाका मगर समुदायले स्थापना दिवस मनाएका हुन् ।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । प्रथम महाधिवेशन भएको ४३औं वर्षमा प्रवेश गरेको अवसरमा तनहुँका मगर समुदाले आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर दमौलीमा साँस्कृतिक ¥याली प्रदर्शन गरेका थिए ।
विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको स्थापना भएको थियो । सोही दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
तनहुँ देशभरिमा सबैभन्दा धेरै मगरजाति बसोबास गर्ने जिल्लाका रुपमा चिनिन्छ । विसं २०३९ मा मगर संघको पहिलो महाधिवेशन भएतापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढङ्गले संगठित हुँदै आएको नेपाल मगर संघ तनहुँका सल्लाहकार यम बहादुर आलेले बताए ।
उनका अनुसार विसं २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौँ मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न गरिएको थियो । उनले भने, ‘विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।’
मगर संघ स्थापनाको ४३औँ वर्ष प्रवेशका अवसरमा तनहुँको दमौलीमा बुधबार विविध कार्यक्रमसहित मगर संघ स्थापना दिवस मनाइएको छ । दिवसका अवसरमा तनहुँका दशवटै पालिकाले विहीबार सार्वजनिक बिदा दिएका थिए ।
दमौलीस्थित खुला मैदानमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं पूर्वअर्थमन्त्री जीतप्रकाश आलेले मगर समुदायको चेतनास्तर बढाउन आवश्यक रहेको बताए । उनले मगर जाति संगठित भएर अगाडि बढ्नुपर्ने बताउँदै भाषा, संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्नेमा जोड दिए ।
मगर संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं मगर संघका केन्द्रीय निर्वाचन समिति संयोजक सिद्धान्त थापा मगरले समाज रुपान्तरणमा मगर समुदायको भूमिका अग्रणी रहँदै आएको बताए ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, नेकपा (माओवादी) केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मदन आले, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा लगायतका वक्ताहरुले मगर इतिहास, भाषा, संस्कृति, संरक्षण–सम्वद्र्धन मगरहरुको मूल मन्त्र भएको चर्चा गरेका थिए। यस्तै, वक्ताहरुले मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र आजको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
मगर दिवसका अवसरमा मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, झ्याउरे र विभिन्न सांस्कृतिक कार्यक्रम गरिएका छन् । फागुन १५ मा संघीय सरकारबाट नै सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पूर्ण पालना गर्नुपर्ने माग तनहुँका मगर समुदायले गर्दै आएका छन् ।
२०७८ को राष्ट्रिय जनगणना अनुसार तनहुँको कूल जनसंख्या ३ लाख २१ हजार १५३ मध्ये सबैभन्दा बढी संख्या मगर समुदायको ८३ हजार ६३९ रहेको छ । २०६८ सालको जनगणना अनुसार देशभर मगरको जनसंख्या १९ लाख रहे पनि संघले ३० लाख रहेको दाबी गर्दै आएको छ ।

कसरी संगठित भए मगरहरु ?

मगर अगुवाहरुका अनुसार वि.सं. १९९७ सालअगावै दार्जिलिङमै मगर समुदायलाई सङ्गठित पार्न सङ्गठनको आकार दिने योजना थालनी भएको पाइन्छ । शासकहरूको आँखा छल्दै नेपालमा पनि मगर समुदायलाई सङ्गठित गरी चेतना जगाउन वि.सं. २०१२ मा गुल्मीको भार्से भत्रे मगर गाउँमा मगर समाज सुधार संघको भेला गिरीप्रसाद बुढाथोकीमगरको नेतृत्वमा सम्पन्न भएको थियो ।
त्यसैगरी वि.सं. २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा बाढी पीडितलगायत प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न र गाउँमा विद्यालय खोली सञ्चालन गर्न तथा मगर समुदायलाई चेतना जगाउनेलगायत उद्देश्य राखी मेजर टेकबहादुर पुनमगरको नेतृत्वमा मगर भेला सम्पत्र भएको थियो ।
वि.सं. २०१४ साल फागुन २७ गतेदेखि २९ मेची–कालीबाट विभित्र जिल्लाको ५०० जना प्रतिनिधिहरूको उपस्थितिमा र हजारौं जनताको सहयोगमा मगर सुधार संघको पश्चिमाञ्चल सम्मेलनले गिरीप्रसाद बुढाथोकीमगरलाई नै सभापति चयन गरेको थियो । वि.सं. २०१३ सालमा रणबहादुर आलेमगरले गोर्खामा मगर भेला गरेका थिए भने वि.सं. २०१३ मै एकदेव आलेमगरले तनहुँमा मगर भेला गरेका थिए ।
वि.सं. २०१४ मा सङ्गठनलाई आकार दिन तनहुँको कुलुङ गाउँमा एकदेव आलेमगरकै नेतृत्वमा मगर सम्मेलन सम्पन्न भएको थियो । वि.सं. २०१७ को परिवर्तपछि पञ्चायती व्यवस्थाले राजनीतिक तथा सामाजिक संघसंस्थामाथि प्रतिबन्ध लगाएपछि मगरहरूलाई एकजुट पारी अधिकारप्रति सचेत पार्न मगर अग्रजहरूको सल्लाह तथा सुझावमा वनभोज आयोजना गरेर प्रशिक्षण दिने र गोप्य रूपमा सङ्गठित गर्ने गरिन्थ्यो ।

२०२८ मा बन्यो लाङ्घाली परिवार

वि.सं. २०२८ मा अध्यक्ष खिलध्वज थापामगर, उपाध्यक्ष माया रानामगर र महासचिव कुलबहादुर रानामगर रहने गरी काठमाडौंमा ‘लाङ्घाली परिवार’ गठन भयो । वि.सं. २०३२ सालमा ‘कानुङ लाङ्घाली परिवार’ रूपन्देहीमा पनि स्थापना भयो। वि.सं. २०३५ देखि २०३६ मा बागलुङ, सुर्खेत, बाँके, दैलेख लगायतका जिल्लामा मगर सुधार समिति, पाल्पामा ‘मगर सुधार समिति’ बन्यो भने कास्कीमा ‘लाङ्घाली परिवार’ गठन गर्ने काम व्यापक हुँदै गयो ।
सबै जिल्लामा छरिएर रहेका सङ्गठनलाई एउटै योजना र साङ्गठनिक पद्धतिभित्र ल्याउने उद्देश्यका साथ वि.सं. २०३६ मा काठमाडौंमा अध्यक्ष डा. हर्षबहादुर बुढामगर, उपाध्यक्ष टोपबहादुर थापामगर, सचिव सुरेश आलेमगर, कोषाध्यक्ष डा. केशरजङ बरालमगर रहेको ‘लाङ्घारी परिवार’ केन्द्रीय तदर्थ समिति गठन भयो ।
वि.सं. २०३८ साल माघ २८ देखि २९ गते बुटवलको रूपन्देहीमा २२ जिल्लाका प्रतिनिधिको उपस्थितिमा ‘कानुङ लाङ्घाली परिवार’ का अध्यक्ष बाबुराम रानामगर र सचिव जयबहादुर हितानमगर रहेको सङ्गठन र पुरानो लाङ्घाली परिवारलाई एउटैमा गाभेर ‘नेपाल लाङ्घाली परिवार संघ’ केन्द्रीय तदर्थ समिति निर्माण भयो । यो नै मगरहरुको पहिलो एकीकृत संगठन हो । सो ९ सदस्यीय तदर्थ समितिमा अध्यक्ष हेमबहादुर पुनमगर, उपाध्यक्ष रणबहादुर आलेमगर, सचिव सुरेश आलेमगर, प्रचारप्रसार सचिव जयबहादुर हितानमगर र कोषाध्यक्ष मनवीर गर्बुजा पुनमगर थिए ।

प्रहरी घेराबन्दीमा प्रथम महाधिवेशन

वि.सं. २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा तानाशाही पञ्चायती व्यवस्थाको प्रहरी घेराबन्दी बीचमा नै हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । प्रथम महाधिवेशनले अध्यक्षमा हेमबहादुर पुनमगर र महासचिवमा सुरेश आलेमगरलाई निर्वाचित गरी १५ सदस्यीय ‘नेपाल लाङ्घाली परिवार संघ’, केन्द्रीय समिति चयन ग¥यो । त्यसैले फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । जसलाई हामी मगर दिवस पनि भन्छौं ।
मगर जातिको इतिहासको विभित्र उतारचढावबीच गुज्रिरहेको छ भने सङ्गठनको जीवनमा चुनौती र सम्भावनाले लुकामारी गर्दै अगाडि बढ्नेक्रममा समय र युगको छालसँगै आफ्नो संरचना, योजना, कार्यक्रम र मुद्दाहरूलाई परिमार्जित गरेर रूपान्तरण गर्दै आएको छ ।
सङ्गठनलाई फराकिलो, वैज्ञानिक, व्यवहारिक र विकसित गर्न २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार संघ’लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको हो । मगर समाज सेवाको नामबाट प्रारम्भ भएको संगठनको विकसित रूप आज संसारभरका मगर समुदायलाई एक ठाउँमा केन्द्रित गर्ने विशाल छाता सङ्गठनको रूपमा नेपाल मगर संघ उपस्थित छ । नेपाल मगर संघले अहिले ६ वटा राष्ट्रियस्तरका भ्रातृ सङ्गठन निर्माण गरी व्यापक परिचालन गरेको छ ।
जसमा मगर विद्यार्थी, मगर सांस्कृतिक, मगर महिला, मगर सम्पर्क समन्वय, मगर युवा र मगर भूतपूर्व सैनिक÷प्रहरी संगठन छन् । त्यसैगरी नेपाल बाहिर विदेशमा पनि २२ वटा मगर संघ छन् । अन्य सामाजिक संघसंस्थाहरू जसले संघको विधान मानेर जाने संस्थालाई संघमा आवद्ध गरेर आवद्धताको प्रमाणपत्र प्रदान गरी सँगसँगै लैजानेसमेत विधानमा व्यवस्था गरिएको छ । नेपाल मगर संघको आफ्नो साङ्गठनिक यात्रामा २५ वटा राष्ट्रिय सम्मेलन सम्पत्र गरिसकेको छ भने ११ वटा राष्ट्रिय महाधिवेशन निम्न समयहरूमा सम्पन्न गरिसकेको छ ।
भिडियो हेर्नका लागि तलको लिंकमा जानुहोला ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker