भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान

कृष्ण न्यौपाने/रासस

दमौली : आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशसँगै पुराना संस्कार, संस्कृति तथा परम्परा ओझेलमा पर्न थालेपछि तनहुँमा भजनमार्फत संस्कृति संरक्षण तथा पुस्तान्तरणको अभियान सुरु गरिएको छ। व्यास नगरपालिका-५ निवासी तेजप्रसाद लामिछानेसहितको समूहले युवालाई भजन तथा मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले अभियान सुरु गरेको हो ।

अभियानअन्तर्गत प्रत्येक शनिबार साँझ ५ः०० बजेदेखि ६ः०० बजेसम्म जिल्लाका विभिन्न स्थानमा भजनकीर्तन गर्ने योजना बनाइएको छ । भजन सिक्न र सिकाउन इच्छुक व्यक्ति स्वतःस्फूर्त रूपमा सहभागी हुनसक्नेगरी अभियान सञ्चालन गरिने लामिछानेले बताउनुभयो ।

पहिलोपटक गत साउन २३ गते शनिबार व्यास नगरपालिका-३ स्थित अनसनचौतारीमा कार्यक्रम गरिएको थियो भने भदौ ६ गते दुर्गा मन्दिरमा भजनकीर्तन गरिएको छ । यसअघि साउन ३० गते दुर्गा मन्दिरमा भजनकीर्तनको तयारी गरिए पनि पानी परेपछि स्थगित भएको थियो ।

लामिछानेसहित शिव न्यौपाने, रामबाबु रेग्मी, हरिप्रसाद तिवारी र कपिल काफ्ले अभियानमा सक्रिय रूपमा सहभागी हुनुहुन्छ । अभियानका अगुवा लामिछानेले लामो समयदेखि आफू र आफ्ना सहकर्मी संस्कार, संस्कृति र परम्पराको संरक्षणमा लाग्दै आएको बताउनुभयो । अहिलेको अभियानलाई भने युवालाई केन्द्रमा राखेर पालिका हुँदै जिल्लाभर विस्तार गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।

“लामो समयदेखि हाम्रो संस्कार, संस्कृति र परम्परालाई जोगाउन सहकर्मीसहित निरन्तर लागिरहेका छौँ । अब पालिका र जिल्लाभर भजन गाउने र यसको पुस्तान्तरण गर्ने उद्देश्यले युवा जागरण अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भजन केबल धार्मिक गतिविधि मात्र नभई संस्कार, संस्कृति र सामाजिक एकताको माध्यम पनि हो ।

पुरानो पुस्ताले जानेका भजन तथा धार्मिक संस्कृतिका विषयवस्तु नयाँ पुस्तासम्म पुर्‍याउनसके मौलिक परम्परा संरक्षणमा योगदान पुग्ने लामिछानेले बताउनुभयो । “हाम्रो पुस्ताले जानेका धेरै भजन र संस्कृतिका कुरा नयाँ पुस्तासम्म पुग्न सकेका छैनन् । त्यसैले युवालाई भजन सिक्ने र सिकाउने वातावरण बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

अभियानमा कुनै निश्चित संस्था वा व्यक्तिलाई आयोजकका रूपमा अघि नसारिने जनाइएको छ । भजनप्रति रुचि भएका व्यक्ति स्वतःस्फूर्त रूपमा एक ठाउँमा भेला भएर भजन गाउने र सिक्ने अवधारणाका साथ कार्यक्रम सञ्चालन गरिने लामिछानेले बताउनुभयो ।

“यस अभियानमा कोही आयोजक रहने छैनन् । स्वतःस्फूर्त रूपमा भजनप्रेमीहरू जुट्ने र भजन गाउने गरी अभियान थनलेका छौँ । यसमा कुनै रकम उठाउने पनि होइन र कसैलाई खर्च दिने पनि होइन”, उहाँले भन्नुभयो । हरेक शनिबार साँझ एक घण्टा भजनका लागि छुट्याउने अभ्यासले विस्तारै युवालाई संस्कार र संस्कृतिसँग जोड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अभियानलाई सफल बनाउन विद्वान, समाजसेवी, जनप्रतिनिधि, वडाध्यक्ष तथा सदस्य, धार्मिक अभियन्ता, शिक्षक, कर्मचारीलगायत सबै सरोकार भएका निकायलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको भजनमा सहभागी रामबाबु रेग्मीले बताउनुभयो ।

अभियानले केबल भजनकीर्तनमा सीमित नरही स्थानीय युवालाई सामाजिक तथा धार्मिक गतिविधिमा जोड्ने लक्ष्यसमेत राखेको छ । आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा भजन, संस्कार तथा संस्कृति संरक्षणसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दै जाने योजना रहेको शिव न्यौपानेले बताउनुभयो ।

भजनमार्फत समाजमा नैतिकता, अनुशासन, आपसी सहयोग, सद्भाव र आध्यात्मिक चेतना विकास गर्न सकिने उहाँले बताउनुभयो । अहिले सामाजिक सञ्जाल र आधुनिक मनोरञ्जनका माध्यममा युवाको आकर्षण बढिरहेको अवस्थामा उनीहरूलाई आफ्नै मौलिक संस्कृति र परम्परासँग जोड्नु चुनौतीपूर्ण भए पनि आवश्यक रहेको उहाँको भनाइ छ ।

अहिले व्यास नगरपालिका-५ बाट सुरु भएको पहललाई विस्तार गर्दै जिल्लाका विभिन्न पालिका तथा समुदायसम्म पुर्‍याउने लक्ष्य अभियानमा सहभागीहरूको छ । विभिन्न स्थानमा स्थानीय भजनप्रेमी तथा युवालाई जोडेर शनिबारको भजन कार्यक्रम सञ्चालन गरिनेछ ।

पुराना पुस्ताले जानेका भजन नयाँ पुस्ताले सिक्ने र नयाँ पुस्ताले त्यसलाई फेरि अर्को पुस्तामा हस्तान्तरण गर्ने वातावरण निर्माण गर्नसके भजन संस्कृति संरक्षणसँगै सामाजिक सम्बन्ध बलियो हुने अपेक्षा गरिएको लामिछानेले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker