तनहुँको दुम्सीमा भदौ १४ गते वृहत् सामुदायिक स्वास्थ्य शिविर

दमौली : आदिकवि भानुभक्त क्याम्पस, दमौलीको ४०औँ वार्षिकोत्सवको अवसरमा व्यास नगरपालिका–१०, दुम्सीस्थित व्यास नगर अस्पतालको प्राङ्गणमा आगामी भदौ १४ गते वृहत् सामुदायिक स्वास्थ्य परीक्षण तथा परामर्श शिविर आयोजना हुने भएको छ ।
शिविरको तयारीका लागि व्यास नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं व्यास नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा तथा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको विशेष उपस्थितिमा सरोकारवालाबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले शिविरलाई व्यवस्थित, प्रभावकारी र सर्वसुलभ बनाउन प्रचारप्रसार तथा आन्तरिक व्यवस्थापनलाई तीव्रता दिने निर्णय गरेको छ ।
आदिकवि भानुभक्त क्याम्पस र पब्लिक क्याम्पस प्राध्यापक संघ, क्याम्पस एकाइको आयोजना तथा व्यास नगरपालिकाको सहआयोजनामा हुने शिविरमा चितवन मेडिकल कलेज, भरतपुरले मुख्य प्राविधिक सहयोग गर्नेछ। व्यास नगर अस्पताल, नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा, स्थानीय आमा समूह, टोल विकास संस्था, सामुदायिक विद्यालय, स्थानीय सञ्चारमाध्यम तथा क्याम्पसका विभिन्न भ्रातृ सङ्गठनले शिविरमा सहयोग तथा समन्वय गर्नेछन् ।
बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकमार्फत विभिन्न स्वास्थ्यसम्बन्धी सेवा तथा परामर्श उपलब्ध गराइनेछ। शिविरमा क्यान्सर स्क्रिनिङ, जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग, सर्जरी, आँखा तथा रेडियोलोजीसम्बन्धी स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।
शिविरमा सहभागी हुने सबै सर्वसाधारणका लागि दर्ता शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ। ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई घरनजिकै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
शिविरलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षण संस्था, सामाजिक संस्था, टोल विकास संस्था तथा समुदायका प्रतिनिधिबीच समन्वय बढाउने विषयमा समेत बैठकमा छलफल भएको थियो। स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा उपचार तथा परामर्शका लागि सहजीकरण गर्ने तयारीसमेत गरिएको छ ।
शिविरको अन्तिम तयारी तथा थप व्यवस्थापनका विषयमा छलफल गर्न भदौ ११ गते बिहान पुनः वृहत् बैठक बस्ने निर्णय गरिएको छ। बैठकमा व्यास नगरपालिकाका जनप्रतिनिधि, क्याम्पस सञ्चालक तथा प्रशासन, स्वास्थ्यकर्मी, विद्यालयका प्रतिनिधि, रेडक्रस, टोल विकास संस्था, आमा समूह, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालासहित ४४ जनाको सहभागिता रहेको थियो ।
क्याम्पसको ४०औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गर्न लागिएको स्वास्थ्य शिविरबाट दुम्सी तथा आसपासका क्षेत्रका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।










