बन्दीपुरमा कृषि हाट बजार : उत्कृष्ट किसान सम्मान र ग्राहकलाई विशेष पुरस्कार

बन्दीपुर : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि हाट बजार सञ्चालन गरिने भएको छ ।

बन्दीपुर गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको कृषि हाट बजारको आगामी भदौ १४ गते बिहान ११ बजे बन्दीपुर गाउँपालिका–२ स्थित बसपार्कमा शुभारम्भ गरिने भएको छ ।

स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, कृषि तथा पशुजन्य उत्पादन, हस्तकलाका सामग्रीलगायत स्थानीय उत्पादनलाई एउटै स्थानबाट खरिद–बिक्री गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले हाट बजार सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्दै किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र उपभोक्तालाई सहज रूपमा गुणस्तरीय स्थानीय उत्पादन उपलब्ध गराउने हाट बजारको मुख्य लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी गराए ।

उनले भने, ‘कृषि हाट बजार सञ्चालनसँगै बन्दीपुरको कृषि क्षेत्र र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय उत्पादनसँग प्रत्यक्ष जोड्ने अवसरसमेत हाट बजारले सिर्जना गर्ने हाम्रो विश्वास छ ।’

उद्घाटन कार्यक्रमको विशेष आकर्षणका रूपमा कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । विभिन्न विधामा उत्कृष्ट किसान, कृषक समूह, कृषि सहकारी तथा नवप्रवर्तनशील कृषि अभ्यासमार्फत योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने तयारी गरिएको छ ।

त्यसैगरी, हाट बजारको उद्घाटनमा सहभागी हुने उपभोक्तालाई प्रोत्साहन गर्न विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागी ग्राहकहरूमध्ये १० जना भाग्यशाली ग्राहकलाई विशेष पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन, किसानलाई उचित बजारको सुनिश्चितता तथा उपभोक्तालाई गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित सुरु हुन लागेको कृषि हाट बजारलाई बन्दीपुरको कृषि तथा स्थानीय अर्थतन्त्र सुदृढ गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ ।

गाउँपालिकाले कृषि हाट बजारको उद्घाटन कार्यक्रममा किसान, कृषक समूह, कृषि सहकारी, व्यवसायी, स्थानीय उपभोक्ता तथा सम्पूर्ण सरोकारवालालाई उपस्थितिका लागि आग्रह गरेको छ ।

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ, किसानलाई सम्मान गरौँ र बन्दीपुरको कृषि तथा स्थानीय अर्थतन्त्रलाई अझ सशक्त बनाऔँ’ भन्ने मूल भावनासहित सञ्चालनमा आउन लागेको हाट बजारले स्थानीय उत्पादनको उपभोग र बजारीकरणलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker