वाम एकता राष्ट्रियताको हितमा हुनुपर्छ

सुरेशकुमार पाण्डे

अहिले वाम एकताका कुरा निकै सुनिन थालेका छन् । तर प्रश्न उठ्छ– एकता केका लागि ? चुनाव जित्न, सरकार बनाउन वा देश र जनताको हितमा सशक्त आवाज उठाउन ? लगभग साढे सात दशक लामो कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा व्यवहारमा फुट र गुट, अनि विचारमा एकताको चर्चा हुँदै आएको देखिन्छ। यो इतिहास देखेका र भोगेका जनताले अहिले हुने भनिएको वाम एकता बलियो, दीगो र निस्वार्थ हुन्छ भन्नेमा सहजै विश्वास गर्न सक्ने अवस्था छैन ।

कम्युनिष्ट आन्दोलनमा एकताको चर्चा नयाँ होइन। समय–समयमा विभिन्न समूहबीच एकता भएका छन्, तर ती एकता दीगो हुन नसक्दा पुनः फुट र विभाजन देखिँदै आएको छ । सत्तामा पुग्न विभिन्न राजनीतिक शक्तिसँग चुनावी तालमेल गर्ने, सरकारमा सहभागी हुने र आवश्यकताअनुसार सम्बन्ध जोड्ने तथा तोड्ने प्रवृत्तिले पनि कम्युनिष्ट आन्दोलनप्रति जनताको विश्वास कमजोर बनाएको छ ।

आफ्नो विचार स्वीकार नभए सम्बन्ध विच्छेद गर्ने, असहमति राख्नेलाई टाढा बनाउने र फेरि परिस्थितिअनुसार तिनै शक्तिसँग एकताको प्रयास गर्ने प्रवृत्ति दोहोरिँदै आएको छ। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ– कम्युनिष्ट आन्दोलनमा वास्तविक एकताको आधार के हो ?

यस प्रश्नको उत्तर खोज्न कम्युनिष्ट आन्दोलनका आधारभूत मान्यतामाथि नै गम्भीर बहस आवश्यक छ। वर्गसंघर्ष र भौतिकवाद कम्युनिष्ट विचारधाराका आधारभूत पक्ष हुन् । ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’लाई गहिरोसँग अध्ययन गर्दा पनि वर्गीय दृष्टिकोण र श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखिएको स्पष्ट हुन्छ। शोषक र शोषित वर्गबीचको अन्तर्विरोध तथा श्रमजीवी वर्गको राजनीतिक अधिकार र मुक्तिको प्रश्न कम्युनिष्ट आन्दोलनको मूल विषय हो ।

कम्युनिष्ट राजनीति भौतिकवादी दृष्टिकोणमा आधारित हुन्छ । समाज र संसारलाई वैज्ञानिक दृष्टिकोणबाट बुझ्ने तथा त्यसैका आधारमा सामाजिक रूपान्तरणको बाटो पहिल्याउने यसको मूल उद्देश्य हो। त्यसैले आफूलाई कम्युनिष्ट भन्ने राजनीतिक शक्तिले आफ्नो व्यवहार र राजनीतिक कार्यदिशालाई पनि सोही सिद्धान्तअनुकूल बनाउन सक्नुपर्छ ।

तर व्यवहारमा त्यस्तो अवस्था देखिँदैन। आज आफूलाई कम्युनिष्ट भन्ने कतिपय राजनीतिक शक्तिहरू सत्ता, पद, प्रतिष्ठा र आर्थिक स्वार्थबाट मुक्त हुन सकेका छैनन्। भाषणमा क्रान्तिकारी विचार प्रस्तुत गर्ने तर व्यवहारमा पूँजी र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ। यस्तो विरोधाभासले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ ।

कम्युनिष्ट आन्दोलन कमजोर हुनुमा विचारको बहसभन्दा पनि व्यवहारको प्रश्न बढी जिम्मेवार देखिन्छ । आफूलाई मात्र सही कम्युनिष्ट ठान्ने, फरक विचार राख्नेलाई शत्रुका रूपमा प्रस्तुत गर्ने, आलोचनालाई अस्वीकार गर्ने र नेतृत्व वरिपरि चाकडी गर्ने संस्कार विकास हुनु गम्भीर समस्या हो । पार्टीभित्र लोकतान्त्रिक बहस र आलोचनाको संस्कृति कमजोर हुँदै जाँदा गुटबन्दी बलियो हुन्छ । अन्ततः त्यही गुटबन्दी फुटको आधार बन्न पुग्छ ।

अर्कोतर्फ, अनुशासनको प्रश्न पनि महत्वपूर्ण छ । अरूलाई अनुशासनको पाठ पढाउने तर आफूलाई भने त्यसबाट अलग राख्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउँछ । नेता वा कार्यकर्ता जोसुकै भए पनि राजनीतिक नैतिकता र अनुशासन सबैका लागि समान हुनुपर्छ । आर्थिक तथा व्यक्तिगत स्वार्थसँग जोडिएका प्रश्नमा पनि समान मापदण्ड लागू हुन आवश्यक छ ।

कम्युनिष्ट पार्टीको नेतृत्व र कार्यकर्ताको जीवनशैली तथा व्यवहारबीच ठूलो अन्तर देखिन थाल्यो भने जनताले स्वाभाविक रूपमा प्रश्न उठाउँछन्। श्रमजीवी वर्गको पक्षमा राजनीति गर्ने दाबी गर्ने तर व्यवहारमा विलासी जीवनशैली अपनाउने, निजी आर्थिक स्वार्थमा केन्द्रित हुने वा विभिन्न आर्थिक गतिविधिमा विवादास्पद रूपमा जोडिने प्रवृत्तिले कम्युनिष्ट आन्दोलनको नैतिक आधार कमजोर पार्छ ।

आज विभिन्न राजनीतिक दल तथा समूहमा गैरसरकारी संस्था, सहकारी, व्यवसायलगायत विभिन्न क्षेत्रमा आबद्ध नेता–कार्यकर्ता छन् । कुनै संस्था वा व्यवसायमा संलग्न हुनु आफैँमा गलत होइन। तर राजनीतिक विचार, आर्थिक गतिविधि र सार्वजनिक जवाफदेहिताबीचको सम्बन्ध स्पष्ट हुनुपर्छ। विदेशी सहयोग, गैरसरकारी संस्था वा निजी व्यवसायसँग सम्बन्धित गतिविधिबारे पारदर्शिता कायम गर्न नसक्दा राजनीतिक दलप्रति जनताको विश्वास कमजोर हुन्छ ।

देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितका प्रश्नमा राजनीतिक दलहरूको दृष्टिकोण अझ महत्वपूर्ण हुन्छ । कुनै पनि राजनीतिक शक्ति विदेशी प्रभावबाट मुक्त भएर राष्ट्रिय हितलाई केन्द्रमा राख्न सक्नुपर्छ। वाम एकताको आधार पनि यही हुनुपर्छ । केवल चुनावी अंकगणित, सत्ता प्राप्ति वा पद बाँडफाँटका लागि गरिने एकता जनताको दीर्घकालीन हितमा हुन सक्दैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा पटक–पटक ठूलो जनसमर्थन प्राप्त भएको छ । जनताले कम्युनिष्ट विचारलाई अवसर दिएका छन्। तर कम्युनिष्ट नामधारी दल र नेतृत्वले प्राप्त जनसमर्थनलाई दीगो राजनीतिक रूपान्तरणमा परिणत गर्न सकेका छैनन्। आन्तरिक विवाद, गुटबन्दी, सत्ता संघर्ष र व्यक्तिगत महत्वाकांक्षाले जनताको विश्वासलाई कमजोर बनाएको छ ।

एक समय ठूलो जनमत प्राप्त गरेका कम्युनिष्ट शक्तिहरू पनि आन्तरिक विवादका कारण विभाजित भएका उदाहरण छन् । संसद् विघटनसम्म पुग्ने राजनीतिक द्वन्द्वले कम्युनिष्ट नेतृत्वको कमजोरीलाई उजागर गरिसकेको छ। त्यसैले अहिले फेरि वाम एकताको चर्चा हुँदा विगतका घटनाबाट पाठ सिक्न आवश्यक छ ।

आज पनि विभिन्न कम्युनिष्ट समूहबीच एकताको चर्चा भइरहेको छ । तर विगतको अनुभवले देखाएको छ कि केवल शीर्ष नेताहरूबीच सहमति गरेर गरिएको एकता पर्याप्त हुँदैन । संगठनको तल्लो तहसम्म वैचारिक र भावनात्मक एकता निर्माण गर्न सक्नुपर्छ । नेतृत्वबीचको समझदारी मात्रले पार्टी एकता सफल हुँदैन। कार्यकर्ता र जनताले त्यसलाई स्वीकार गर्न सक्ने आधार तयार हुनुपर्छ ।

वास्तवमा पार्टी एकता र कार्यगत एकताबीच पनि स्पष्ट भिन्नता छ। विचार, नीति, संगठन र कार्यदिशामा समानता नभएका समूहलाई केवल पद र निर्वाचनको गणितका आधारमा एउटै पार्टीमा राख्दा गुटबन्दी झन् बढ्न सक्छ। त्यसैले साझा मुद्दामा कार्यगत एकता, आवश्यकताअनुसार चुनावी तालमेल र समान राजनीतिक आधार तयार भएपछि मात्र दीर्घकालीन पार्टी एकताको बाटो रोज्नु उपयुक्त हुन्छ ।

यदि कुनै एउटा कम्युनिष्ट पार्टी वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सही दिशामा अघि बढिरहेको छ भने अन्य समान विचार भएका समूहहरू त्यसमा निसर्त समाहित हुन सक्ने वातावरण बनाउनुपर्छ । एउटै पार्टीभित्र विभिन्न पार्टी वा समूहको छुट्टाछुट्टै अस्तित्व कायम राख्ने हो भने त्यसले फेरि गुट जन्माउने सम्भावना रहन्छ । विगतमा कारबाही गरिएका नेता वा समूहसँग पुनः एकताको चर्चा गर्दा पनि विगतका निर्णय र वर्तमान व्यवहारबीचको सम्बन्धबारे स्पष्ट समीक्षा आवश्यक हुन्छ ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन सबैभन्दा पहिले कार्यकर्ताको अवस्था सुधार्नुपर्छ । गरिब, श्रमजीवी र निम्न आय भएका जनताको प्रतिनिधित्व गर्ने पार्टीले आफ्नै कार्यकर्तामाथि अनावश्यक आर्थिक भार थोपर्नु हुँदैन । पार्टी सञ्चालनका नाममा बढ्दो आर्थिक बोझले कार्यकर्ता र शुभेच्छुकलाई निराश बनाउँछ। त्यसैले पार्टीको खर्च प्रणाली पारदर्शी, मितव्ययी र जनमुखी हुनुपर्छ ।

कम्युनिष्ट पार्टीको शक्ति ठूलो कार्यालय, महँगा कार्यक्रम वा आर्थिक प्रदर्शनमा होइन, जनतासँगको सम्बन्धमा हुन्छ। श्रमजीवी, किसान, सुकुम्बासी, निम्न आय भएका तथा उत्पीडित समुदायको समस्या बुझेर उनीहरूको पक्षमा निरन्तर संघर्ष गर्न सक्ने राजनीतिक संगठन मात्र जनताको विश्वास जित्न सक्छ ।

अहिले देशलाई बलियो र जिम्मेवार वामपन्थी शक्तिको आवश्यकता छ । तर त्यस्तो शक्ति केवल एकताको नाराले निर्माण हुँदैन । विचार, नीति, व्यवहार, नेतृत्व संस्कार, आर्थिक पारदर्शिता र राष्ट्रिय हितप्रतिको स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ। विगतका कमजोरी स्वीकार नगरी गरिने एकता अर्को फुटको आधार मात्र बन्न सक्छ ।

त्यसैले अहिलेको वाम एकताको मूल आधार चुनावी स्वार्थभन्दा माथि उठेर राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, आर्थिक समानता र जनताको हित हुनुपर्छ । विदेशी प्रभावबाट राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्ध दृढ संघर्ष, श्रमजीवी वर्गको अधिकार संरक्षण र देशको आर्थिक विकासका विषयमा साझा दृष्टिकोण बनाउन सकिए मात्र वाम एकताको अर्थ रहन्छ । वाम एकता आवश्यक छ, तर कस्तो एकता भन्ने प्रश्न अझ महत्वपूर्ण छ। चुनाव जित्नका लागि गरिने अस्थायी तालमेलभन्दा देश र जनताको पक्षमा दीर्घकालीन राजनीतिक सहकार्य आवश्यक छ। विचार र व्यवहारबीचको दूरी घटाएर, गुट र व्यक्तिगत स्वार्थ त्यागेर तथा राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न सके मात्र वाम एकता सार्थक बन्न सक्छ ।

अन्ततः वाम एकताको लक्ष्य सत्ता प्राप्ति मात्र हुनु हुँदैन। देशको राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र समृद्धिका लागि सशक्त राजनीतिक विकल्प निर्माण गर्नु यसको उद्देश्य हुनुपर्छ । त्यसैले आजको आवश्यकता एकताको हल्ला होइन, राष्ट्रियताको हितमा आधारित वास्तविक वाम एकता हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker