गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए ।

केन्द्रले आइतबार बेलुका भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका थिए ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की १ को प्रदेश सभा १ बाट चुनाव जितेका हुन् ।

एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टि जनाएका थिए । गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।

मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका खगराज संघमा स्वास्थ्य मन्त्री र १३ दिने गृहमन्त्रीसमेत भइसकेका नेता हुन् । खगराजलाई मुख्यमन्त्री नियुक्त गर्न ३ वटै दलका सांसद र दीपक मनाङेसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै आजै सपथ खुवाउने गरी तयारी गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । गण्डकी प्रदेश सभामा ५ दल सहभागी छन् ।

एमाले, माओवादी र राप्रपाको सरकार बन्दा २७ सिट जितेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

गण्डकीमा एकीकृत समाजवादी शून्य थियो तर मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ (दीपक मनाङे) चुनावपछि प्रवेश गरेका थिए । तर, उनले अन्तिममा स्वतन्त्र सांसदको हैसियतमा खगराजलाई समर्थन गरेका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker