आज माघेसंक्रान्ति, देवघाटधाममा बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ
भञ्ज्याङ समाचारदाता/तनहुँ
माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा पनि वैद्धिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजका दिन देवघाटधाम, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
यस्तै, तराइवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षर ननुहाए पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख भएको धर्मशास्त्रविद्हरु बताउँछन् ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलको मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्ो आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महिनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरीजस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्य राम्रो हुने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । यस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक बताउँछन् ।
यस्तै, देवघाटको बेनीमा आइतबार बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो ।

गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो । बेनीमा गलेश्वर आश्रममा गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरी जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठडयाइएको हो ।
सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानालगायत क्षेत्र विकास समितिका सदस्य, आश्रमका बटुकको ठूलो उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका सदन बरालले बताए । यससँगै तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा माघेसंक्रान्ति मेला सुरु भएको छ । यस वर्ष विधिपूर्वक मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउनेक्रम सुरु भएको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले माघेसंक्रान्ति मेलाका अवसरमा आइतबार र सोमबार नारायणगढ-मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो। संक्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो ।
आइतबार राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्र अनुसार सौरमासका हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षा भन्दा यस वर्षभक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको छ ।










