भानु नगरपालिका-८ का बाल प्रतिभा विनायक सम्मानित
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-८ देउरालीटारका विनायक नेपालीलाई सम्मान गरिएको छ । आदिकवि एवं राष्ट्रिय विभुती भानुभक्त आचार्यको स्मृतिमा आयोजित भानु जयन्ती २०८० असार २९ गतेका दिन चुँदी रम्घामा आयोजना गरिएको समारोहमा बाल प्रतिभा विनायकलाई सम्मानित गरिएको हो ।
युनेस्कोद्वारा आयोजित मित्सुविसी एशियन बाल चित्रकला डायरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेका निर्जला आधारभूत विद्यालयमा अध्ययनरत विनायकले जापानबाट प्राप्त ग्राण्ड प्रिक्स अवार्ड र ट्रफी प्राप्त गरेका छन् । बालप्रतिभा विनायकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार प्रदान गरेका थिए । विनायकले यस अगाडि नगद पुरस्कार स्वरूप २ हजार अमेरिकी डलर प्राप्त गर्न सफल भएका थिए ।










