गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी

लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तारसँगै सुविधा सम्पन्न फुटपाथ निर्माण गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

बहुवार्षीय योजनाअन्तर्गत गर्न लागिएको सडक विस्तारको पहिलो चरणमा गोरखा-६ स्थित पुरानो बसपार्कदेखि वडा नं ८ को खोलखोलेसम्म सडक विस्तारसँगै सुविधा सम्पन्न फुटपाथ निर्माण हुने उहाँले बताउनुभयो ।

“पहिलो चरणमा पुरानो बसपार्कदेखि खोलखोले क्षेत्रको सडक विस्तार गरी फुटपाथ बनाउन लागिएको हो”, नगरप्रमुख रानाले भन्नुभयो, “साँघुरो सडकलाई चौडा गर्न र दुवैतर्फनाला निर्माणका लागि नापजाँचको काम सम्पन्न भएको छ।” नगरपालिकाले सडक विस्तारका लागि प्राविधिकसहितको टोली परिचालन गरी पुरानो बसपार्कदेखि खोलखोले क्षेत्रसम्मको नापजाँचसमेत गरिसकेको उहाँले बताउनुभयो ।

सडक विस्तार गर्न पहिलो चरणमा नगरपालिकाले रु ८० लाख विनियोजन गरेको छ । नगरपालिकाका इञ्जिनियर प्रकाश ढकालका अनुसार प्रारम्भिक सर्भेको काम सम्पन्न भइसकेको छ । “सडक कति मिटरको बनाउने, कस्तो खालको फुटपाथ बनाउने र नाला कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ”, इञ्जिनियर ढकालले भन्नुभयो, “एउटै प्याकेजमा काम हुने गरी डिपिआर तयार गर्नेतर्फ नगरपालिकाले योजना बनाएको छ ।”

सडक चौडा गरी नयाँ नाला निर्माण गरेर त्यहाँ भएका क्यारीलाई फालेर सुविधा सम्पन्न फुटपाथसहित बत्तीको व्यवस्था गर्दा करिब रु १२ करोड जति खर्च लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। पुरानो संरचना बनाएर सुविधा सम्पन्न संरचना निर्माण गर्ने नगरपालिकाको योजना रहेको ढकालको भनाइ छ ।

सडक विस्तार र दुवैतर्फनालाको निर्माणका लागि वडा कार्यालयले समेत पहिलो चरणमा केही रकम विनियोजन गरेको गोरखा-६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिनुभयो । “वडाबाट अहिले हामीले रु १० लाख छुट्टाएका छौँ”, उहाँले भन्नुभयो, “बहुवर्षीय योजना भएका कारण डिपिआरपछि पनि बाहिरबाट पैसा नआएको खण्डमा स्थानीयस्तरबाट नै रकम विनियोजन गरेर काम सम्पन्न गर्नेछौँ ।”

नगरपालिकाले कात्तिकभित्रै डिपिआर तयार गरेर बोलपत्र आहृवान गर्ने र मङ्सिरबाटै कामको थालनी गर्ने तयारी गरेको छ । नयाँ संरचनाअनुसार सडक विस्तार गर्दा अहिले भइरहेको नाला पुरेर नालामाथि पनि सडक बन्नेछ । फुटपाथसँगै नाला निर्माण हुनेछ । फुटपाथमा रङ्गिन प्रकारका ब्लक राखिनेछ । अहिले अव्यवस्थित रहेको सवारी पार्किङलाई पनि सडक विस्तारसंगै व्यवस्थित गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker