हाम्रो संस्कृति र चाडपर्व
के.बि. मसाल

नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाडपर्वहरु पनि प्रकृतिसंग नजिक छन्। विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ १२५ जन जातिहरु रहेका छन । परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको सबै जातीहरुमा आ–आफ्नो विशेषता जोडिएको छ। मुलुकभरका विभिन्न नगर, सहर र गाउँहरुमा प्रचलित चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरुको लेखा जोखा गर्न अति नै कठिन छ। प्रत्येक जिल्लाको नगर तथा गाउँहरुमा बर्ष दिनभरि नै कतै न कतै कुनै न कुनै चाडपर्व, जात्रा मेला भइ रहेका हुन्छन् ।
हाम्रो चाडपर्वको बारेमा अध्ययन गर्ने हो भने, काठमाडौं उपत्यकामा गठाःमुगः अर्थात घण्टाकर्ण चतुर्दशीदेखि चाडबाड सुरु हुने गर्दछ । तर हामीहरुले मान्दै आएको चाडपर्व उपत्यका बाहिर असार १५ मा दही चिउरा खाने पर्वबाट सुरु भएको हुन्छ । असार १५ अर्थात दही चिउरा खाने पर्वको पन्ध्र दिनमा साउने संक्रान्ति आइपुग्छ। साउने संक्रान्ति कुनै विशिष्ट धार्मिक आयाम नभए पनि अधिकांश नेपालीहरुले मीठो मसिनो खाएर लुतो फाल्ने सांस्कृतिक पर्व मानिन्छ । त्यसपछि साउनको १५ लाई खीर खाने दिनका रुपमा लिने गरिन्छ। प्रायः साउनमा पर्दछ गठाःमुगः र नागपञ्चमी । शिव भक्तहरुका निम्ति साउन महिनाको सोमबारहरु पर्वकै रुपमा पूजाआजा गर्ने गरिन्छ ।
भदौमा पर्दछ थारुजातिहरुले मनाउने गुरिया पर्व, तागाधारीहरुको रक्षाबन्धन, नेवार जातिहरुको गाईजात्रा, कृष्ण जन्माष्टमी, गौरापर्व, बाबुको मुख हेर्ने कुशे औंसी र तीज । तीजभन्दा पनि हिजोआज दर खाने दिनको महत्व र आकार बढेको छ । तीजको भोलिपल्ट पर्ने गणेश चौंथीलाई बदमासी गर्ने पर्वका रुपमा मनाउने कुप्रथाको रुपमा लिने गरिएको छ । यो पर्व आजभोलि हराउँदै पनि गएको पाइन्छ । काठमाडौंको इन्द्रजात्रा र चेपाङ समुदायले मनाउने छोनाम सकिंदा नसकिंदै सोह्र श्राद्ध सुरु हुन्छ । त्यसको अन्त्यसगै हिन्दुहरुको मुख्य पर्व दसै सुरु हुन्छ । अनि दसै नसकिंदै सबैलाई तिहारको पर्वले सुरुवात गराउँछ । तिहारसँगै नेपाल संवत फेरिन्छ। नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रुपमा मनाइन्छ। अनि छठ आउँछ । मिथिलाञ्चलको चाडका रुपमा चिनिएको छठ हिजोआज पश्चिम तराई र पहाडतिर पनि मनाइन थालेको छ । यो बाहेक शेर्पा, गुरुङ र तमाङ जातिहरुले मनाउने ल्होसार पर्व, थारुजातिहरुले मनाउने माघी पर्वको पनि उतिकै महत्व छ ।
चाडपर्वलाई नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक मेलमिलाप र सांस्कृतिक पहिचानको कोणबाट धेरै नै महत्वपूर्ण मान्ने गरिन्छ । जन्माष्टमीपछि तीज, थारु समुदायको अटवारी, सुदूरपश्चिमको गौरा पर्व, काठमाडौं उपत्यकाको इन्द्रजात्रा, दशैं, तिहार, छठ, माघे संक्रान्ति तथा माघी, पहाड र तराईमा छुट्टाछुट्टै मनाइने होली हुँदै चैते दशैंसम्म धेरै चाडपर्व मनाइन्छ। कुनै पनि देश वा समुदायमा आफ्नो संस्कृति हुन्छ, त्यसैले चाडपर्वलाई संस्कृतिकै निरन्तरताको रुपमा मनाइने भएकाले चाडपर्वलाई अलग राखेर समाज विकासको कल्पना गर्न सकिदैन । बरु चाडपर्वलाई बदलिएको समाज र विज्ञानको विकाससँग कसरी तालमेल मिलाउँदै लैजाने भन्ने सन्दर्भमा आवश्यक बहस र सुधारका कार्य गर्न आवश्यक छ ।
चाडपर्वका विविध आयाम छन। धार्मिक आस्था राख्नेहरुले देवी–देवता, ऋषि र पितृप्रतिको श्रद्धाको रुपमा यसलाई लिन्छन। सांस्कृतिकरुपमा चाडपर्वहरुलाई नाचगान, भेला, मेलाजात्रामार्फत संस्कृतिको संरक्षणमा केन्द्रित गर्न सकिन्छ भने सामाजिक रुपमा यसलाई परिवारजनको भेटघाट, मिलन, आपसी सदभाव र सहयोग आदानप्रदानको रुपमा पनि लिन सकिन्छ। त्यसो त आर्थिक कारोबारका हिसाबले व्यापार, मेला, किनमेल र बजारको चहलपहलमार्फत अर्थतन्त्र चलायमान बनाउने अवसरको रुपमा पनि चाडपर्वलाई लिन सकिन्छ भने शिक्षा र नैतिकताको आधारमा हेर्दा सत्य, न्याय, प्रेम, मिलन र कर्तव्यबोधको सन्देशको रुपमा पनि चाडपर्वलाई लिन सकिन्छ । यीमध्ये समाजमा कुन क्षेत्रलाई महत्व दिने भन्ने फरक–फरक मत पनि छन । सबै मतको समन्वय गरेर हेर्दा चाडपर्वको बहुआयामिक महत्व छ । यसलाई विद्यमान समाजको अवस्था, स्थिति र चेतनासँग जोडेर मनाउँदा समाजलाई अगाडि बढाउन फाइदा नै हुन्छ ।
चाडपर्वको महत्वमाथि मात्र होइन, यसलाई मनाउने शैलीमाथि पनि केही प्रश्न उठने गर्दछ । नेपालमा पछिल्लो समय चाडपर्व मनाउने तरिका भडिकलो र देखावटी भएको छ । यसलाई पनि समाज विकाससँगै जोडेर हेर्नुपर्ने हुन्छ । जस्तो तीजकै कुरा गरौं, हिजो नेपाली महिलाहरु घरभन्दा बाहिर जान नपाउने अवस्थामा एक दिन भएपनि सामूहिकरुपमा दुःख र पीडाजन्य भावनाहरु नाचगानमार्फत सुनाउँथे । तर, आज त्यो अवस्था छैन। हो, समाज विकासअनुसार महिलामुक्तिको अभियान अघि बढन सकेको छैन तर राजनीतिक, सामाजिक र सांस्कृतिकरुपमा नेपाली महिलाहरु धेरै अघि बढिसकेका छन । त्यसैले हिजो सामन्ती समाजमा जस्तै आज पनि एक दिन मात्र तीज मनाइदिनुपर्छ भन्ने कुनै तथ्यपरक मान्यता होइन। आज महिलाहरु विभिन्न राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील छन । त्यसैले उनीहरु जम्मा भएको ठाउँमा तीजकै अवसरमा अन्य दिन पनि महिला अधिकारका चर्चा गर्नु, संभव भए नाचगान गर्नु र सामूहिक भोजन गर्नु अनौठो विषय होइन ।
हामीले मनाउने चाड सबैले मनाउनसक्ने हुनुपर्छ । सम्पन्नले चाडपर्वलाई धनदौलत प्रदर्शन गर्ने अवसर बनाउने र विपन्नले यसलाई संकटको रुपमा लिने अवस्था आउन दिनुहुँदैन । बजारले चाडपर्वलाई उपभोग–संस्कृतिमा परिणत गरेको साँचो हो । ऋण लिएर भए पनि भडिकलो तवरले पर्व मनाउनुपर्ने दबाब समाजमा बढ्दै गएको छ । यो प्रवृत्ति चाडपर्वमा मात्र नभई जन्म, विवाह र मृत्युजस्ता अत्यावश्यकीय संस्कारमा पनि बढ्दै गएको छ । यसलाई समाजले गम्भीरतापूर्वक लिनैपर्छ । अर्को सवाल भनेको कुनै पनि हाम्रा चाडपर्वमा पाश्चात्य संस्कृतिले प्रश्रय पाउनु हुँदैन । चाडपर्वलाई विदेशी संस्कृतिको नक्कल गरेर होइन, सादगी शैली अपनाएर सामूहिक भेला, पारिवारिक भेटघाट र संस्कृति संरक्षणमै जोड दिन आवश्यक छ ।
हामी नेपालीहरुले मान्ने चाडमध्ये प्रमुख चाडपर्वको रुपमा दसै पर्व पर्दछ। विशेष गरेर हिन्दुधर्म मान्नेहरुले यो पर्वलाई धर्म संस्कृति र परंपराको रुपमा मनाउदै आएका छन् । असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको दसै केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घाेंडा चढे भनेर आफू धुरी चढ्ने प्रबृत्ति बढदै गएको छ । जसले गर्दा दसै पर्व उल्लास र उमंगको चाड हुन सकेको छैन । जुन कारणले गर्दा दसै दशा भएर आउने र जाने गरेको छ । दसै पर्वलाई सांस्कृतिक महत्वको चाडका रुपमा मनाएको पाइन्न । दसैको गरिमा बृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा मनाउनु पर्दछ । दसैलाई घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियो भने मात्रै दसै पर्व साच्चिकै दसै बन्न सक्छ । अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरुमा छाएको महगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरुले अभावका बाबजुद पनि दसैलाई आफ्नो हैसियत अनुसार मनाउने तर्फ सबैले सोच्नु पर्दछ ।
अब तीज, दसै, तिहार, छठजस्ता ठूला चाडपर्व नजिकिएका छन् । चाडपर्व भनेका आफन्त जमघट हुने, भेटघाट, पूजापाठ र मनोरञ्जन गर्ने माध्यम हुन् । केही वर्षपहिलेदेखि चाडपर्व पनि प्रतिस्पर्धी बन्दै गएका छन । महँगा लत्ताकपडा लगाउने, गहनाको प्रदर्शन गर्ने, अत्यधिक मदिरा सेवन गर्ने जस्ता क्रियाकलापको विकास भएको छ। हुनेखाने वर्गमा अरुको देखासिकी गर्ने होडबाजी चल्ने गरेको छ। यतिखेर उपभोग्य वस्तु, लत्ता कपडाजस्ता वस्तुहरुको बजार मूल्य अकासिएको छ । पैसा हुनेले त बजारको महँगीमा पनि खरिद गर्न सक्ने होलान् तर श्रम गरी बिहान–बेलुका हातमुख जोडने श्रमिकको दैनिकी भने महँगीले उठनै नसक्ने गरी थिचिएको छ । आम श्रमिकले चाडपर्वका बेला नै एकसरो लगाउने कपडा फेर्ने र चाडपर्व मनाउन थोरै भए पनि पैसाको जोहो गर्छन् । यही समयमा अकासिएको महँगीको भार कसरी थेग्न सक्ने ? हुनेखाने वर्गलाई त महँगीले नछोला, गरिब वर्गमा चाडपर्व कसरी मनाउने भन्ने चिन्ता झन् थपिएको छ ।
चाडपर्वको समयमा चामल, दाल, चिनी, पीठो, मसला, तरकारीलगायतका खाद्य वस्तुहरुमा मूल्य घटेको छैन । पेट्रोलियम पदार्थ सहज र सस्तो हुँदा त्यसको प्रत्यक्ष सम्बन्ध खाद्यपदार्थसँग समेत जोडिनुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन । यहि समयमा कतै वाणिज्य विभागले त कतै स्थानीय प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको देखिन्छ । मिसावट भएका अखाद्य वस्तु, मिति सकिएका वस्तु बिक्री गर्ने व्यवसायीहरुको कारोबारस्थल सिल गरी त्यस्ता वस्तुहरु नष्ट गरेको पनि सुन्न पाइन्छ । तर बजारको अबस्था भने फेरिएको छैन । यसो हुँदा कतै हाम्रा दण्ड–सजायका व्यवस्था नै न्यून त होइनन्? कालाबजारीलाई कतै राजनीतिक तथा प्रशासनिक संरक्षण त छैन ? उपभोक्ताहरु नै जागरुक नभएर त होइन ? शक्ति र पहुँचको आडमा बजारमा लुटतन्त्र मच्चिएको होइन ? भन्ने विविध प्रश्न उब्जिरहेका छन् । मासु, तरकारी, चामल, दाल, चिनी, तेलमा मिसावट छ ।
किसानले उत्पादन गरेको तरकारीले बजार पाउँदैन, बिचौलियाहरु सक्रिय छन् । किसानबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच गुणाभन्दा बढी पुगेको छ । अघिपछि भन्दा चाडपर्वको समयमा बजारमा वस्तुको माग वृद्धि हुने भएकाले कालाबजारीहरुले बजारमा एकातिर वस्तुको कृत्रिम अभाव सिर्जना गर्छन् भने अर्कातिर हुनेखाने वर्गले बजारमा वस्तुको अभाव सिर्जना हुन थालेको छ भनेपछि धेरै वस्तु खरिद गरी सञ्चय गर्छन । महत्वपूर्ण चाडपर्व आउँछ तब बजारमा कृत्रिम मूल्य वृद्धि सुरु हुन्छ । खाद्यान्न, लत्ता कपडाजस्ता दसंै र तिहारमा बढी खपत हुने वस्तुको मूल्य छोइनसक्ने हुन्छ । मनोमानी ढंगले बजार मूल्य बढ्दा, बजारमा अराजकता र अनुशासनहीनता बढ्दै जाँदा सरकार र स्थानीय प्रशासन मूकदर्शक भएर बसिरहेको हुन्छ । सरकार मातहतमा विभिन्न अनुगमन र नियमनकारी निकाय प्रभावी बनेका हुदैनन् । बेलाबखत बजार अनुगमन गरेको प्रचारबाजी गर्छन् तर जतिबेला बजारको गम्भीरतापूर्वक र नियमित अनुगमन गर्नुपर्ने हुन्छ त्यस बेला मौन बसेका देखिन्छन् । यसले गर्दा दसंै र तिहार जस्तो चाडपर्वमा सर्वसाधारण मानिसहरु मूल्यको मारमा पर्दछन् ।
सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीका दैनिक सरदर चार वटा शव मुलुकमा भित्रिने मात्रै होइन बाँचेकाहरु पनि अनेकौं पीडाका कथा लिएर फर्कने गरेका छन् । १६ देखि ४० वर्ष उमेरका सक्रिय जनशक्ति खाडी मुलुक, भारत तथा अन्य देशहरुमा पसिना बगाइरहेका छन् । देशको अबस्था यस्तो हुँदाहँुदै हामीले चाडपर्वको समयमा ख्याल नगरी तडकभडकमा गरेको खर्चले ऋण लाग्दैन त ? चाडपर्वमा आफ्नो औकात अनुसार खर्च गर्ने बानी बसालौ। जस्ले गर्दा समाजमा रहेका अन्य समुदायलाई समेत सिको गर्न सजिलो बनोस ।










