जेसिआई व्यासनगरद्वारा स्थापना दिवसमा सामाजिक सेवा कार्यक्रम

दमौली : जेसिआई व्यासनगरले आफ्नो ३२औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा विविध सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै संस्थाले ‘जेसिज धारा सरसफाइ’ कार्यक्रम सञ्चालन गरेको हो ।
समुदायका लागि उपयोगी सार्वजनिक धारा सरसफाइ गरी स्वच्छ वातावरण निर्माणमा योगदान पु¥याउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा जेसिस सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत स्वच्छता र नागरिक जिम्मेवारीबारे सकारात्मक सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।
यसै अवसरमा प्रदेश अस्पताल दमौलीमा उपचाररत ४० जना बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको थियो। वितरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमला मोहन वाग्ले तथा अस्पतालका प्रमुख डा. परिवर्तन बरालको उपस्थितिमा बिरामीहरूलाई सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । बिरामीको स्वास्थ्य लाभको कामना गर्दै गरिएको उक्त सहयोगले अस्पतालमा उपचाररत बिरामी तथा उनका आफन्तमा सकारात्मक सन्देश पुगेको बताइएको छ।
कार्यक्रमकै क्रममा उपचाररत एक जना बिरामीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र थप उपचारका लागि पोखरा लैजानुपर्ने अवस्था देखिएपछि जेसिआई व्यासनगरका सदस्यहरूबाट रु. ८ हजार ५ सय आर्थिक सहयोग संकलन गरिएको छ । संकलित रकम बिरामीको उपचार सहयोगार्थ प्रदान गरिएको संस्थाले जनाएको छ ।
उक्त बिरामीलाई दमौलीबाट पोखरा स्थानान्तरण गर्न जेसिआई व्यासनगरको सहजीकरणमा व्यासनगर नगरपालिकाको एम्बुलेन्स व्यवस्था समेत गरिएको थियो । आकस्मिक अवस्थामा मानवीय संवेदनशीलता देखाउँदै गरिएको यस सहयोगप्रति स्थानीयस्तरमा सराहना गरिएको छ ।
संस्थाले स्थापना दिवसको अवसरमा गरिएको सामाजिक सेवामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण जेसिस सदस्य, सहयोगी तथा शुभेच्छुकप्रति जेसिआई व्यासनगरले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।










