महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै म्याग्दे गाउँपालिका

महिलालाई सुगन्धित धुपबत्ती बनाउने व्यावसायिक तालिम

म्याग्दे : महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. ५ मा सञ्चालन गरेको तीनदिने सुगन्धित धुपबत्ती बनाउने सीपमूलक तालिम प्रदान गरेको छ । गाउँपालिकाले वडा नं. ५ का ३३ जना महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गरेको हो ।
गाउँपालिकाको आर्थिक विकास शाखाले स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थको उपयोग गरी न्यून लगानीमा गुणस्तरीय धुप उत्पादन गर्न सकिने ज्ञान र सीप विकासमा केन्द्रित गरेको थियो । धार्मिक तथा सांस्कृतिक गतिविधिमा धुपको बढ्दो प्रयोग र बजारको उच्च मागलाई मध्यनजर गर्दै महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले धुपबत्ती उत्पादनको सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाएकी थिइन् । सहभागीलाई कच्चा पदार्थ छनोट, मिश्रण तयार गर्ने विधि, बत्ती बनाउने प्रक्रिया, सुकाउने तरिका, गुणस्तर परीक्षण, सुरक्षित भण्डारण, प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण तथा बजार व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो । सहायक प्रशिक्षक राममाया श्रेष्ठले व्यवहारिक अभ्यासमा सहजीकरण गरेकी थिइन् ।
तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाको आर्थिक सशक्तीकरण गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक भएको उल्लेख गरे । तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गर्दै उनले भने, ‘तालिम प्रमाणपत्रका लागि मात्र होइन, आयआर्जन र आत्मनिर्भरताको आधार बन्नुपर्छ । उद्यमशील महिलालाई आवश्यक प्राविधिक सहयोग, सहजीकरण र सम्भव भएसम्म बजार व्यवस्थापनमा गाउँपालिकाले साथ दिने छ ।’
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन गुणस्तर, आकर्षक प्याकेजिङ र प्रभावकारी बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए। स्थानीय उत्पादनले राष्ट्रिय बजारसम्म पहुँच बनाउन सक्ने सम्भावना रहेको उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले तालिमको वास्तविक उपलब्धि सहभागीले व्यवसाय सञ्चालन गरेपछि मात्रै देखिने उल्लेख गर्दै सामूहिक उद्यममार्फत उत्पादन लागत घटाउन र बजार विस्तार गर्न सहज हुने धारणा व्यक्त गरे। उनले स्थानीय उत्पादनलाई गाउँपालिकाको पहिचानसँग जोड्ने योजनामा प्रशासनको पूर्ण सहयोग रहने बताए ।
कार्यक्रमका सभापति तथा वडा नं. ५ का वडा अध्यक्ष शिवबहादुर आलेले वडा नं. ५ लाई सुगन्धित धुप उत्पादनको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्ने लक्ष्य रहेको घोषणा गरे । स्थानीय ब्रान्ड स्थापना गरी व्यावसायिक उत्पादन र बजार विस्तारमार्फत महिलाको आय वृद्धि गर्ने योजना रहेको उनले बताए ।
तालिममा सहभागी शारदा उपरकोटीले कार्यक्रमबाट नयाँ सीप हासिल भएको बताउँदै घरायसी कामसँगै धुप उत्पादन व्यवसाय सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरिन् । सहभागी महिलाहरूले सामूहिक रूपमा उत्पादन समूह गठन गरी गाउँपालिकाको सहयोगमा बजार विस्तार गर्ने योजना बनाएको बताएका छन् ।
गाउँपालिकाका अनुसार तालिमलाई केवल सीप हस्तान्तरणमा सीमित नराखी सहभागीलाई उद्यम स्थापना, समूह गठन, परामर्श सेवा तथा बजारसँग जोड्ने कार्यलाई पनि निरन्तरता दिइनेछ। यसबाट महिलाको आर्थिक आत्मनिर्भरता बढ्नुका साथै वडा नं. ५ सुगन्धित धुप उत्पादनको नयाँ पहिचान स्थापित हुने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker