दमौलीको न्युरोडमा ‘रिमै कलेक्सन’ सञ्चालनमा : आदिवासी जनजाति पहिरनलाई प्राथमिकता

स्टोरको उद्घाटन व्यास नगरपालिका–४ का वडा अध्यक्ष मनबहादुर गुरुङले रिबन काटेर गर्नुभएको थियो। उद्घाटनपछि बोल्दै उहाँले स्थानीय व्यवसायको प्रवर्द्धनले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
रिमै कलेक्सनका सञ्चालकका अनुसार आदिवासी जनजाति समुदायको पहिरनप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै गुणस्तरीय, आकर्षक तथा सहज रूपमा उपलब्ध हुने कपडाको सेवा प्रदान गर्ने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको हो। स्टोरमा परम्परागत र आधुनिक डिजाइनका विभिन्न प्रकारका कपडाहरू उपलब्ध रहेका छन्।
उद्घाटनको अवसर पारेर ग्राहकलाई लक्षित गर्दै स्टोरमा उपलब्ध विभिन्न कपडामा २० देखि ३० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको सञ्चालकले जानकारी दिएका छन्। उक्त छुट सीमित अवधिसम्म कायम रहने जनाइएको छ।
समारोहमा तमुह्युल छोंज धीँ तनहुँका जिल्ला अध्यक्ष देवबहादुर गुरुङ, जिल्ला सचिव श्रावण गुरुङ, कोषाध्यक्ष रणबहादुर गुरुङ, जिल्ला सल्लाहकार पन्छ गुरुङ, तमुस्यो ह्युलका केन्द्रीय सदस्य सबिना गुरुङ, व्यास नगर तमु सुधार समाजका अध्यक्ष गिरबहादुर गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपालका केन्द्रीय सदस्य टार्जन गुरुङ, तमु सेवा समूहका प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित अतिथि तथा ग्राहकहरूले रिमै कलेक्सनको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीयस्तरमै गुणस्तरीय कपडा र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका थिए।
उत्साहजनक सहभागिताका बीच सम्पन्न उद्घाटन समारोह भव्य, सभ्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सञ्चालकले बताएका छन्।










