हामीले पढ्न त सिक्यौं, तर के पढ्ने भन्ने बिर्सियौं
सुरेशकुमार पाण्डे

शिक्षा मानिसको जीवन बदल्ने सबैभन्दा शक्तिशाली माध्यम हो। तर शिक्षा केवल अक्षर चिन्ने वा डिग्री हासिल गर्ने प्रक्रिया मात्र होइन, त्यसले व्यक्तिको सोच, व्यवहार, जिम्मेवारीबोध र जीवन जिउने शैलीलाई पनि परिष्कृत गर्नुपर्छ । आज हाम्रो समाजमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ–हामीले पढ्न त सिक्यौं, तर वास्तवमा के पढ्ने, किन पढ्ने र सिकेको ज्ञान कहाँ प्रयोग गर्ने भन्ने कुरा बिस्तारै बिर्सिंदै गएका छौं ।
केही दशकअघिसम्म गाउँका बालबालिकाको दिनचर्या निकै फरक थियो । बिहानै उठेर घरायसी काम गर्ने, गाईभैंसीको हेरचाह गर्ने, घाँस–दाउरा गर्ने र त्यसपछि सरकारी विद्यालयमा पढ्न जाने चलन सामान्य थियो। अभावका बीच पनि उनीहरू मेहनत गर्थे, पढ्थे र समाजका जिम्मेवार नागरिक बन्थे। त्यही पुस्ताबाट शिक्षक, डाक्टर, वकिल, प्रशासक र विभिन्न क्षेत्रमा सफल व्यक्तित्व जन्मिए ।
आज अवस्था बदलिएको छ। सरकारी विद्यालयप्रतिको विश्वास कमजोर बन्दै गएको छ भने निजी विद्यालयमा पढाउनु प्रतिष्ठाको विषय जस्तै बनाइएको छ। अभिभावकले महँगो शुल्क तिरेर छोराछोरीलाई डिग्री दिलाइरहेका छन्, तर त्यसबाट प्राप्त शिक्षाले जीवन र समाजप्रतिको उत्तरदायित्व कति बढायो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
आजका बालबालिका र युवाहरू प्रविधिसँग निकै नजिक छन्। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले ज्ञानको विशाल संसार खोलेका छन्। तर यही प्रविधिको सकारात्मक उपयोगभन्दा मनोरञ्जन, लत र समयको दुरुपयोग बढी भइरहेको देखिन्छ। पुस्तक पढ्ने बानी घट्दो छ। हस्तलेखन कला हराउँदै गएको छ। भाषा, साहित्य र सिर्जनाप्रतिको आकर्षण कमजोर बन्दै गएको छ। देशभर पुस्तकालय र वाचनालय सञ्चालनमा आए पनि त्यहाँ युवा पुस्ताको उपस्थिति अपेक्षाकृत न्यून छ ।
गाउँका खुला चौरमा खेलिने परम्परागत खेलहरू पनि हराउँदै गएका छन् । कबड्डी, डन्डीबियो, लुकामारी, फुटबल, भलिबलजस्ता खेलले बालबालिकालाई शारीरिक र सामाजिक रूपमा सक्रिय बनाउँथे। अहिले ती चौर सुनसान छन्, किनकि खेलाडी मोबाइलको पर्दाभित्र सीमित भएका छन् ।
राजनीतिक परिवर्तनसँगै विद्यालय र शिक्षण संस्थामा पनि विभिन्न प्रभाव देखिए। शिक्षणभन्दा राजनीति बढी हाबी हुने प्रवृत्तिले विद्यालयको वातावरण प्रभावित भयो । विद्यार्थीको अध्ययन, अनुशासन र भविष्यमा त्यसको असर परेको यथार्थलाई नकार्न सकिँदैन ।
प्रविधि आफैंमा समस्या होइन। समस्या यसको गलत प्रयोग हो। आज अश्लील सामग्री, हिंसात्मक दृश्य र गलत सूचनामा युवाको सहज पहुँच छ। जब मन र मस्तिष्कमा नकारात्मक प्रभाव बढ्छ, त्यसले व्यवहार र चरित्रमा पनि असर पार्छ। यही कारण समाजमा अपराध, हिंसा, लागुऔषध दुव्र्यसन र पारिवारिक विघटनका घटना बढ्दै गएको चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आएको छ ।
हाम्रो समाज परिवर्तनको क्रममा छ। केही परिवर्तन आवश्यक र सकारात्मक छन् भने केहीले सामाजिक सम्बन्ध र मानवीय मूल्य कमजोर बनाएका छन् । संयुक्त परिवार विघटन हुँदै गएका छन् । वृद्धवृद्धा वृद्धाश्रममा पुग्न बाध्य भएका छन् । बालबालिका सानै उमेरदेखि डे–केयर र बोर्डिङको जिम्मामा छन्। गाउँका खेतबारी बाँझिँदै गएका छन् । कृषि गर्ने जनशक्ति विदेशिएको छ। उत्पादन घट्दो छ, उपभोग बढ्दो छ ।
हामीले आधुनिकता त स्वीकार गरेका छौं, तर आधुनिकताको अर्थ श्रमबाट टाढिनु, कृषि र प्रकृतिलाई बेवास्ता गर्नु वा पारिवारिक जिम्मेवारी बिर्सनु होइन। विज्ञान र प्रविधिले जीवन सहज बनाउनुपर्छ, जीवनका आधारभूत मूल्य विस्थापित गर्न होइन ।
आजको पुस्तामा एउटा भ्रम देखिन्छ–डिग्री नै शिक्षा हो भन्ने। वास्तवमा शिक्षा भनेको व्यवहारमा देखिने ज्ञान हो। आफूले सिकेको कुरा परिवार, समाज, कृषि, उत्पादन, वातावरण र राष्ट्र निर्माणमा प्रयोग गर्न सक्नु नै वास्तविक शिक्षाको परिचय हो। केवल प्रमाणपत्रले मात्र शिक्षित बनाउँदैन ।
युवाहरूले मनोरञ्जनका सामग्री मात्र होइन, जीवन उपयोगी पुस्तक पनि पढ्न आवश्यक छ । इतिहास, जीवनी, विज्ञान, कृषि, दर्शन, साहित्य, नैतिक शिक्षा र समाजबोधका पुस्तकले सोचको दायरा फराकिलो बनाउँछन् । पुस्तकले विवेक दिन्छ, विवेकले सही निर्णय गर्न सिकाउँछ ।
आज आवश्यक परेको शिक्षा भनेको श्रमको सम्मान गर्ने, माटोसँग प्रेम गर्ने, परिवारप्रति उत्तरदायी बन्ने, समाजसँग सहकार्य गर्ने र राष्ट्रप्रति दायित्वबोध जगाउने शिक्षा हो। खेतबारी, गोठ, प्रकृति र उत्पादनसँग जोडिएको ज्ञान पनि विश्वविद्यालयको ज्ञानजत्तिकै महत्वपूर्ण हुन्छ ।
देशको विकास सरकारको मात्र जिम्मेवारी होइन। सक्षम, स्वाभिमानी र जिम्मेवार नागरिक बिना समृद्ध राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले आजको पुस्ताले डिग्रीसँगै जीवन पढ्न, समाज बुझ्न र माटोसँगको सम्बन्ध बलियो बनाउन आवश्यक छ । हामीले पढ्न त सिक्यौं, तर अब के पढ्ने र सिकेको ज्ञान कहाँ प्रयोग गर्ने भन्ने प्रश्नको सही उत्तर खोज्ने बेला आएको छ । शिक्षा तब मात्र सार्थक हुन्छ, जब त्यसले व्यक्तिलाई असल नागरिक, जिम्मेवार सन्तान, मेहनती कर्मयोगी र समाज परिवर्तनको संवाहक बनाउँछ ।










