हामीले पढ्न त सिक्यौं, तर के पढ्ने भन्ने बिर्सियौं

सुरेशकुमार पाण्डे

शिक्षा मानिसको जीवन बदल्ने सबैभन्दा शक्तिशाली माध्यम हो। तर शिक्षा केवल अक्षर चिन्ने वा डिग्री हासिल गर्ने प्रक्रिया मात्र होइन, त्यसले व्यक्तिको सोच, व्यवहार, जिम्मेवारीबोध र जीवन जिउने शैलीलाई पनि परिष्कृत गर्नुपर्छ । आज हाम्रो समाजमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ–हामीले पढ्न त सिक्यौं, तर वास्तवमा के पढ्ने, किन पढ्ने र सिकेको ज्ञान कहाँ प्रयोग गर्ने भन्ने कुरा बिस्तारै बिर्सिंदै गएका छौं ।
केही दशकअघिसम्म गाउँका बालबालिकाको दिनचर्या निकै फरक थियो । बिहानै उठेर घरायसी काम गर्ने, गाईभैंसीको हेरचाह गर्ने, घाँस–दाउरा गर्ने र त्यसपछि सरकारी विद्यालयमा पढ्न जाने चलन सामान्य थियो। अभावका बीच पनि उनीहरू मेहनत गर्थे, पढ्थे र समाजका जिम्मेवार नागरिक बन्थे। त्यही पुस्ताबाट शिक्षक, डाक्टर, वकिल, प्रशासक र विभिन्न क्षेत्रमा सफल व्यक्तित्व जन्मिए ।
आज अवस्था बदलिएको छ। सरकारी विद्यालयप्रतिको विश्वास कमजोर बन्दै गएको छ भने निजी विद्यालयमा पढाउनु प्रतिष्ठाको विषय जस्तै बनाइएको छ। अभिभावकले महँगो शुल्क तिरेर छोराछोरीलाई डिग्री दिलाइरहेका छन्, तर त्यसबाट प्राप्त शिक्षाले जीवन र समाजप्रतिको उत्तरदायित्व कति बढायो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
आजका बालबालिका र युवाहरू प्रविधिसँग निकै नजिक छन्। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले ज्ञानको विशाल संसार खोलेका छन्। तर यही प्रविधिको सकारात्मक उपयोगभन्दा मनोरञ्जन, लत र समयको दुरुपयोग बढी भइरहेको देखिन्छ। पुस्तक पढ्ने बानी घट्दो छ। हस्तलेखन कला हराउँदै गएको छ। भाषा, साहित्य र सिर्जनाप्रतिको आकर्षण कमजोर बन्दै गएको छ। देशभर पुस्तकालय र वाचनालय सञ्चालनमा आए पनि त्यहाँ युवा पुस्ताको उपस्थिति अपेक्षाकृत न्यून छ ।
गाउँका खुला चौरमा खेलिने परम्परागत खेलहरू पनि हराउँदै गएका छन् । कबड्डी, डन्डीबियो, लुकामारी, फुटबल, भलिबलजस्ता खेलले बालबालिकालाई शारीरिक र सामाजिक रूपमा सक्रिय बनाउँथे। अहिले ती चौर सुनसान छन्, किनकि खेलाडी मोबाइलको पर्दाभित्र सीमित भएका छन् ।
राजनीतिक परिवर्तनसँगै विद्यालय र शिक्षण संस्थामा पनि विभिन्न प्रभाव देखिए। शिक्षणभन्दा राजनीति बढी हाबी हुने प्रवृत्तिले विद्यालयको वातावरण प्रभावित भयो । विद्यार्थीको अध्ययन, अनुशासन र भविष्यमा त्यसको असर परेको यथार्थलाई नकार्न सकिँदैन ।
प्रविधि आफैंमा समस्या होइन। समस्या यसको गलत प्रयोग हो। आज अश्लील सामग्री, हिंसात्मक दृश्य र गलत सूचनामा युवाको सहज पहुँच छ। जब मन र मस्तिष्कमा नकारात्मक प्रभाव बढ्छ, त्यसले व्यवहार र चरित्रमा पनि असर पार्छ। यही कारण समाजमा अपराध, हिंसा, लागुऔषध दुव्र्यसन र पारिवारिक विघटनका घटना बढ्दै गएको चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आएको छ ।
हाम्रो समाज परिवर्तनको क्रममा छ। केही परिवर्तन आवश्यक र सकारात्मक छन् भने केहीले सामाजिक सम्बन्ध र मानवीय मूल्य कमजोर बनाएका छन् । संयुक्त परिवार विघटन हुँदै गएका छन् । वृद्धवृद्धा वृद्धाश्रममा पुग्न बाध्य भएका छन् । बालबालिका सानै उमेरदेखि डे–केयर र बोर्डिङको जिम्मामा छन्। गाउँका खेतबारी बाँझिँदै गएका छन् । कृषि गर्ने जनशक्ति विदेशिएको छ। उत्पादन घट्दो छ, उपभोग बढ्दो छ ।
हामीले आधुनिकता त स्वीकार गरेका छौं, तर आधुनिकताको अर्थ श्रमबाट टाढिनु, कृषि र प्रकृतिलाई बेवास्ता गर्नु वा पारिवारिक जिम्मेवारी बिर्सनु होइन। विज्ञान र प्रविधिले जीवन सहज बनाउनुपर्छ, जीवनका आधारभूत मूल्य विस्थापित गर्न होइन ।
आजको पुस्तामा एउटा भ्रम देखिन्छ–डिग्री नै शिक्षा हो भन्ने। वास्तवमा शिक्षा भनेको व्यवहारमा देखिने ज्ञान हो। आफूले सिकेको कुरा परिवार, समाज, कृषि, उत्पादन, वातावरण र राष्ट्र निर्माणमा प्रयोग गर्न सक्नु नै वास्तविक शिक्षाको परिचय हो। केवल प्रमाणपत्रले मात्र शिक्षित बनाउँदैन ।
युवाहरूले मनोरञ्जनका सामग्री मात्र होइन, जीवन उपयोगी पुस्तक पनि पढ्न आवश्यक छ । इतिहास, जीवनी, विज्ञान, कृषि, दर्शन, साहित्य, नैतिक शिक्षा र समाजबोधका पुस्तकले सोचको दायरा फराकिलो बनाउँछन् । पुस्तकले विवेक दिन्छ, विवेकले सही निर्णय गर्न सिकाउँछ ।
आज आवश्यक परेको शिक्षा भनेको श्रमको सम्मान गर्ने, माटोसँग प्रेम गर्ने, परिवारप्रति उत्तरदायी बन्ने, समाजसँग सहकार्य गर्ने र राष्ट्रप्रति दायित्वबोध जगाउने शिक्षा हो। खेतबारी, गोठ, प्रकृति र उत्पादनसँग जोडिएको ज्ञान पनि विश्वविद्यालयको ज्ञानजत्तिकै महत्वपूर्ण हुन्छ ।
देशको विकास सरकारको मात्र जिम्मेवारी होइन। सक्षम, स्वाभिमानी र जिम्मेवार नागरिक बिना समृद्ध राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले आजको पुस्ताले डिग्रीसँगै जीवन पढ्न, समाज बुझ्न र माटोसँगको सम्बन्ध बलियो बनाउन आवश्यक छ । हामीले पढ्न त सिक्यौं, तर अब के पढ्ने र सिकेको ज्ञान कहाँ प्रयोग गर्ने भन्ने प्रश्नको सही उत्तर खोज्ने बेला आएको छ । शिक्षा तब मात्र सार्थक हुन्छ, जब त्यसले व्यक्तिलाई असल नागरिक, जिम्मेवार सन्तान, मेहनती कर्मयोगी र समाज परिवर्तनको संवाहक बनाउँछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker