आदिकवि भानुभक्त क्याम्पसमा यसै वर्षदेखि ‘बीए राजनीति शास्त्र’ अध्यापन सुरु हुने 

दमौली : तनहुँको प्रतिष्ठित तथा गुणस्तर सुनिश्चितता प्राप्त सामुदायिक शैक्षिक संस्था आदिकवि भानुभक्त क्याम्पसले यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत स्नातक तहमा ‘बीए राजनीति शास्त्र’ विषयको अध्ययन–अध्यापन सुरु गर्ने भएको छ। उच्च शिक्षाको दायरा विस्तार गर्दै समयानुकूल तथा रोजगारीमुखी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत क्याम्पसले नयाँ विषय थप गरेको हो ।
क्याम्पसले लामो समयदेखि विद्यार्थी, अभिभावक तथा समाजको मागलाई ध्यानमा राख्दै नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको थियो । संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थानीय, प्रदेश र संघीय तहमा सार्वजनिक प्रशासन, नीति निर्माण, सुशासन तथा लोकतान्त्रिक शासनसम्बन्धी ज्ञान भएका जनशक्तिको आवश्यकता बढ्दै गएको सन्दर्भमा राजनीति शास्त्र विषयको अध्ययन अझ सान्दर्भिक बनेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
‘राजनीति शास्त्र कुनै दल विशेषको राजनीति अध्ययन गर्ने विषय मात्र होइन’, क्याम्पस प्रमुख हड्खलेले भने, ‘यो राज्य सञ्चालन प्रणाली, संविधान, सार्वजनिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, नागरिक अधिकार, लोकतान्त्रिक अभ्यास र सुशासनलाई वैज्ञानिक रूपमा अध्ययन गर्ने विषय हो । यसले विद्यार्थीलाई नेतृत्व विकासदेखि नीति विश्लेषणसम्म सक्षम बनाउँछ ।’
क्याम्पसका अनुसार राजनीति शास्त्र अध्ययन गरेका विद्यार्थीहरूले लोक सेवा आयोगअन्तर्गत निजामती, परराष्ट्र, प्रशासन तथा अन्य सरकारी सेवामा प्रतिस्पर्धा गर्न सहज हुने मात्र होइन, प्रदेश तथा स्थानीय सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार संस्था, अनुसन्धान केन्द्र, पत्रकारिता, शिक्षण तथा राजनीतिक विश्लेषणलगायत विविध क्षेत्रमा समेत करियर निर्माण गर्न सक्नेछन् ।
पछिल्लो समय सार्वजनिक नीति, सुशासन, लोकतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक अध्ययनप्रति युवाको आकर्षण बढ्दै गएको अवस्थामा आफ्नै जिल्लामा यस्तो विषय अध्ययन गर्न पाउनु तनहुँसहित गोरखा, लमजुङ, स्याङ्जा र आसपासका जिल्लाका विद्यार्थीका लागि महत्वपूर्ण अवसर हुने विश्वास क्याम्पसले लिएको छ ।

अभिमुखीकरण कार्यक्रम आयोजना गरिने

नयाँ विषयबारे विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई विस्तृत जानकारी गराउन क्याम्पसले छिट्टै नै बृहत् अभिमुखीकरण
-ओरियन्टेसन) कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा अभिभावकलाई आमन्त्रण गरी राजनीति शास्त्र विषयको पाठ्यक्रम, अध्ययनका अवसर, उच्च शिक्षा तथा रोजगारीका सम्भावनाबारे अन्तरक्रियात्मक प्रस्तुति गरिने जनाइएको छ ।

चार दशकको शैक्षिक अनुभव

करिब चार दशकदेखि गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको आदिकवि भानुभक्त क्याम्पसले त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । गुणस्तर सुनिश्चितता प्राप्त क्याम्पसका रूपमा स्थापित यस संस्थामा अनुभवी प्राध्यापक, पर्याप्त भौतिक पूर्वाधार, समृद्ध पुस्तकालय, सूचना प्रविधिमैत्री शिक्षण वातावरण तथा विद्यार्थीमैत्री शैक्षिक प्रणाली उपलब्ध रहेको क्याम्पसले जनाएको छ ।
क्याम्पसले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत छिट्टै सुरु हुने जनाएको छ। भर्नासम्बन्धी विस्तृत जानकारी क्याम्पसको प्रशासन शाखा, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। बीए राजनीति शास्त्र कार्यक्रम सञ्चालनसँगै आदिकवि भानुभक्त क्याम्पसले जिल्लामा उच्च शिक्षाको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सामाजिक विज्ञान, सार्वजनिक प्रशासन, नीति निर्माण, नेतृत्व विकास तथा अनुसन्धानमा रुचि राख्ने विद्यार्थीका लागि यो कार्यक्रम महत्वपूर्ण विकल्प बन्ने विश्वास क्याम्पसले व्यक्त गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker