एक वर्षपछि छुटे पल शाह

भञ्ज्याङन्यूज

जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।

बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो । कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएका छन् । शाहका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुंगानाले बहस गरे भने नाबालिगका तर्फबाट आइतबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए ।

शाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले भदौ २१ मा उक्त फैसला गरेको थियो ।

फैसलाविरुद्ध शाहले सफाइ दिन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा परेको थियो ।

तनहुँ अदालतले शाहलाई गत माघ ३ मा सफाइ दिएको थियो । उच्च अदालतको फैसलामा नवलपुर जिल्ला अदालतको उक्त फैसला उल्टी भई पल शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरिएको छ । अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदार ठहर गर्नुपर्ने नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने फैसलामा उल्लेख छ । फैसलामा अभियोग दाबीबमोजिमको जबर्जस्ती करणीको कसुर परिवर्तन गरी नवलपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिएको बताइएको छ ।

म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बाबुले ०७८ फागुन ११ मा जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटक पटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए ।

किशोरीका बाबुले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिएका थिए । २०७७ चैत ७ मा गैंडाकोटमा गीतको सुटिङका क्रममा आफ्नो नाबालिग छोरीमाथि शाहले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख थियो । अदालतसँगको बकपत्रमा भने बाबु र छोरी दुवैले बयान बदलेका थिए ।

आइतबारको फैसलामा नाबालिगले सुरु अदालतमा शाहबाट जबर्जस्ती करणीसहितको यौन दुर्व्यवहार नभएको भनी गरेको बकपत्र र सबै साक्षीले प्रतिवादीले जबर्जस्ती करणी गरेका होइनन् भनी गरेको बकपत्रलाई आधार मानिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker