तिहार पर्व : पर्यटन र मारुनी नाँच
के.बि. मसाल

दसै पर्वलाई बिदा गर्ना साथ तिहार पर्व सुरु भएको छ । नेपालीहरुले मान्ने प्रायः चाड पर्वहरु साँस्कृतिक हुन्छन । साँस्कृतिक चाड, पर्व, जात्रा, मेला तथा उत्सवहरु पर्यटनसंग जोडिएको हुन्छ । बिशेष गरी घुम्ने बानी परेका पर्यटकहरु दसैँ–तिहारको बेलामा पनि गाउँघरमा घुम्नको लागि पुग्दछन । गाउँघरमा तिहारको बेला देउसी–भैलो, मारुनी नाचँ, गोवर्धन पूजा, म्हपूजा जस्ता सास्कृतिक प्रचलनहरु पर्यटकहरुले प्रत्यक्ष अनुभव गर्न सक्दछन। पर्यटनको क्षेत्रमा साँस्कृतिक पर्व र उत्सव सबैको रुचिको बिषय बन्दछ । पर्यटकलाई नदेखेको कुरा नयाँ हुन्छ । नयाँ ठाउ नयाँ कुरा र सधै देखि रहेको भन्दा फरक खालको भूगोलमा पर्यटकहरु पुग्न खोज्दछन। पर्यटनमा सबैलाई ध्यान केन्द्रित गर्ने क्षेत्र ऐतिहासिक सम्पदा र सस्कृति हुन्छ । इतिहासमा पढेको तर देख्न नपाएको ठाउमा पुग्दा पर्यटकहरु खुसी हुन्छन ।
तिहारको बेला पर्यटनका लागि गाउँघरमा जादा देउसी–भैलोको संगीतले सांस्कृतिक आत्माको जीवित परिचय दिएको हुन्छ । देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पर्व हो । तिहारको बेला देउसी–भैलामा मारुनी नाचँको छुट्टै महत्व हुन्छ। गाउँका युवायुवती र वृद्धवृद्धा सबैजना मिलेर गाउँ–गाउँमा देउसी भैलो र मारुनी नाचँले गाउँमा पुग्ने पर्यटकहरुलाई रमाइलोको सिमानै हुदैन । तिहारको बेला पर्यटकका लागि सांस्कृतिक जीवन्तता र सामुदायिक एकता प्रत्यक्ष हेर्ने अवसर पनि हुन्छ । पर्यटकहरुलाई यस्तो मौलिक परम्पराको अनुभव गर्न पाउदा स्थानीय संस्कृतिको गहिरो अध्यन हुन्छ। देउसी–भैलोका गीतहरुमा लय, ताल, नाच र संगीतमय स्वर हुन्छ । संगीतको भाव नबुझने पर्यटकहरुलाई पनि भावनात्मक रुपले छुने गर्दछ। देउसी भैलोको नाँचमा मादल, झयाली, मुरली वा हार्मोनियमको स्वरले समूहको हाँसो र नाचँले गाउँलेहरु संग खुल्ला आकाशमुनि पर्यटकलाई पनि सहभागी हुन प्रेरित गर्दछ। पर्यटकहरु जब देउसी–भैलोको समूहसँगै हात ठटाउँछन वा ताली बजाउँछन उनीहरुले आफूलाई स्थानीय समुदायको सदस्य जस्तै अनुभव गर्छन । यसरी संगीतले पर्यटक र स्थानीयबीचको दूरी घटाउँछ र सांस्कृतिक पुल बनाउँछ । देउसी–भैलोको रातमा नाच्दै, गीतमा रमाउँदै, गाउँको आतिथ्य पाउँदै बिताएको अनुभव पर्यटकको यात्राको सबैभन्दा स्मरणीय क्षण बन्छ । देउसी भैलोको संगीतले गाउँमा पुग्ने पर्यटकहरुलाई भावनात्मक रंग दिन्छ ।
तिहार पर्वको बेला गाउँलेहरुले पर्यटकलाई अतिथि–देवो भवःको मान्यताअनुसार स्वागत गर्दछन । कतिपय गाउँ ठाउँमा त पर्यटकलाई जमरा, टीका, फुलमाला लगाएर देउसी–भैलोमा सहभागी गराउँछन। जुन कारणले पर्यटक र गाउँबीच सांस्कृतिक आदान–प्रदान समेत हुन्छ । तिहार पर्वको बेला नाचिने मारुनी नाचँ नेपालका पुराना र लोकप्रिय लोकनाँच मध्यमा पर्दछ । विशेष गरी पहाडी भेग प्राय पूर्व–पश्चिमका धेरै गाउँघरमा मारुनी नाचँ प्रचलित छ । नेपालको इतिहासमा सांस्कृतिक नृत्यको परम्पराहरु धेरै छन । तीमध्ये ऐतिहासिक मारुती नाचँको सुरुवात रोचक प्रशग पाइन्छ । सास्कृतिक नाचँमा रुचि भएका पर्यटकहरुले गाउँमा पुग्दा मारुती नाचँको इतिहास खोज्दछन। इतिहास भनेको बितेका सत्यतथ्य घटनाहरुको यथार्थ विवरण हो । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो। इतिहास सर्वव्यापक हुन्छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ। इतिहासको खोज अनुसन्धान अहिल्य सकिदैन । तर मारुती नाचँको बारेमा लिखित दस्ताबेजहरु भने भेटिदैन । इतिहासकारहरुका अनुसार मारुनी नाँच करिब १७औं र १८औं शताब्दी तिर सुरु भएको हो । त्यो बेला नेपालमा तत्कालीन राज्यव्यवस्था युद्ध र विस्तारमा प्रवेश गरिरहेको समय थियो । पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियान होस वा त्यसअघि बाइसे र चौविसे राजाहरु बीचको युद्धको समयमा सैनिक जीवन कठोर हुने गर्दथियो । यस्तो अवस्थामा सैनिकहरुको मनोबल उकास्न र उनीहरुलाई मनोरञ्जन दिने उद्देश्यले मारुती नाचँको अभ्यास सेनाका शिविरहरुमा सुरु भएको थियो । मारुती शब्द हनुमानको अर्को नाम हो । जसको अर्थ हुन्छ मारुतका पुत्र अर्थात वायुपुत्र हनुमान । हनुमान हिन्दु पौराणिक परम्परामा पराक्रम, निष्ठा र अनुशासनका प्रतीक हुन ।
बाइसे–चौबिसे राज्यकाल नेपालमा केवल राजनीतिक एकीकरणपूर्वको सत्तासंघर्ष मात्र होइन, सांस्कृतिक निर्माणको पनि महत्वपूर्ण समय थियो । ती राजाहरुबीचका युद्ध, विजय–पराजय र सामाजिक जमघटहरुले अनेकौं सांस्कृतिक नाँच–गान र परम्पराहरुको जन्म गराएका थिए । त्यो समयमा युद्धका बेला फौजको मनोबल बढाउन र जनतालाई उत्साहित राख्न मारुनी नाच, देवी नाच, गुरुङ नाच, झ्याउँरे नाँच, घाँटो नाँच जस्ता विभिन्न नाँचहरुको सुरुवात गरिएको मानिन्छ । प्रारम्भमा ती नाँचहरु सैनिक मनोरञ्जन र धार्मिक अनुष्ठानसँग जोडिएका थिए। युद्ध जितेपछि देवीदेवताको आभार स्वरुप पूजा–नाचको आयोजना गरिन्थ्यो भने हार भएमा रक्षा र शक्तिको कामना गर्दै नाचँगान गरिन्थ्यो । त्यो बेला सैनिक शिविरमा हुने नाँचका रुपमा मारुती नाँच वीरता, साहस र समर्पणको प्रतीकात्मक प्रदर्शन पनि थियो। अर्को तर्फ युद्धको समयमा सैनिकहरुलाई धार्मिक भावनाले जोडेर राख्नुपथ्र्यो । सेनाहरुलाई युद्धमा डर, निराशा र थकानले ग्रस्त हुन नदिने माध्यम चाहिन्थ्यो । त्यसैले धार्मिक कथा, गीत र नृत्यको संयोजनमार्फत बिशेष गरी सैनिकहरुको मनोरञ्जनका लागि मारुती नाँचको सुरुवात भएको थियो । नाचँमा हनुमानले असुरहरुसँग लडने प्रसंग, भगवान रामप्रतिको निष्ठा र शक्तिको प्रदर्शन देखाइन्थ्यो । यसरी यो नाँच केवल मनोरञ्जन नभई शौर्य र आस्था दुवैको अभ्यास थियो ।
यसरी युद्धकालीन नाचँहरु पछि सांस्कृतिक धरोहर बनेर पुस्तौँदेखि परम्परागत रुपमा चल्दै आएका छन । आज ती युद्धकालिन नाँचहरु केवल मनोरञ्जनका माध्यम मात्र होइन इतिहासका सजिव साक्षी भएका छन। जसले नेपालका बाइसे–चौबिसे राज्यकालीन वीरता, भक्ति र जनजीवनको झल्को दिन्छन । युद्ध समाप्त भएपछि सैनिकहरु आफ्ना गाउँघर फर्किन्थे । उनीहरुले आफ्नो सीप, अनुभव र मनोरञ्जनका परम्पराहरु पनि गाउँमा पु¥याउथे। यही क्रममा मारुती नाँच गाउँ समाजमा प्रवेश गर्न पुग्यो । त्यो समयमा प्रायः सेनामा मगर, गुरुङ, तामाङ, लिम्बू आदि जातीहरु हुने गर्दथिए । उनीहरुले आफ्ना गाउँहरुमा फर्किए पछि मारुनी नाँचलाई आफ्नो भाषिक, सांगीतिक र धार्मिक प्रचलनसँग मिसाएर प्रस्तुत गर्न थालेका हुन । यही कारण मारुती नाचँ बिशेष गरी जनजातीयहरुको सांस्कृतिक नाचँको रुपमा रुपान्तर हुँदै गएको हो । तर अहिले मारुती नाँच सबै जातजातीहरुको साँस्कृतिक नाँच भएको छ । मारुनी नाँच केवल मनोरञ्जनका लागि मात्र नभई धार्मिक, सामाजिक व्यङ्गयात्मक र मौलिक नेपाली पहिचान बोक्ने कला हो । महाभारत र कृष्ण चरित्रले यसलाई गहिरो धार्मिक आयाम दिएको छ ।
मारुनी नाँच लोकनाटक जस्तो शैलीमा प्रस्तुत गरिने नाटयमूलक लोकनृत्य हो । मारुनी नाँचमा गाइने गीत महाभारतको कथा, कृष्ण–लीला, राधा–कृष्णको रोमान्स, गोपी चरित्र, सामाजि व्यङ्ग आदिमा आधारित हुन्छन। नाँचको लागि कलाकारहरु विशेष पोशाक, रंगीचंगी लुगा, फेटा, गर गहना लगाएर महिलाको रुपमा युवाहरु प्रस्तुत हुन्छन । नाँचमा गीत, व्यङ्ग संवाद, हास्यव्यङ्ग र नृत्य मिश्रण भएको नाँचले पर्यटकहरु दंग पर्दछन। आजभोली मारुनी नाचँ तिहार पर्वको बेला देउसी–भैलामा मात्र होइन उत्सव, माघे संक्रान्ति र विवाहको अवसरमा पनि नाच्चे गरिन्छ। मारुनी शब्दलाई कतिपयले मारुन लालरगाढा रातो रंगबाट आएको भनि व्याख्या गर्छन। नाँचमा प्रयोग हुने लुगा–गहना प्रायः रातो, चम्किलो र रङीचङ्गी हुने भएकाले यसलाई मारुनी भनिएको हो। केही लोककथामा भने मारुनी शब्दले मायालु प्रिय भन्ने जनाउँछ र त्यसकै अपभ्रंश मारुनी भएको पनि मानिन्छ । गाउँमा पर्यटकहरु पुग्दा पर्यटकहरुले खिचेका तस्बिर र भिडियो बाहिरी संसारमा पुग्दछ। जसले गाउँको सांस्कृतिक पर्यटनलाई प्रचार–प्रसार समेत हुन्छ र गाउँको मौलिक परम्परा विश्व समुदायमा चिनिन्छ ।
तिहारमा गाउँमा पर्यटक पुगे भने गाउँको जीवनशैली, उत्सवको मौलिकता र संस्कृतिको जीवित प्रदर्शन देखिन्छ । तनाव घटाउँछ र मन प्रफुल्ल बनाउँछ । मारुनी नाँचमा गीत, नृत्य, भेशभूषा, हाँस्य र धार्मिक प्रतीकहरुको संगम पाइन्छ । जसले गर्दा पर्यटकहरुलाई मनोरञ्जनसँगै नेपाली परम्पराको गहिरो स्वाद दिन्छ। जब पर्यटक गाउँमा पुग्छन उनीहरु शहरको कृत्रिम वातावरणबाट बाहिर निस्केर जीवनको सरल र मौलिक रुप अनुभव गर्न चाहन्छन । गाउँका लोकगीत, परम्परागत नाँच, पूजा–पर्व र सामूहिक संस्कृतिले पर्यटकहरुलाई नयाँपन र आत्मीयता महसुस गराउँछ । अर्कोतर्फ, लोकसंस्कृति मानिसको जीवनशैली र इतिहासको जीवित दस्तावेज पनि हो । त्यसैले पर्यटक त्यसमा रमाउँछन, फोटो खिच्छन र सहभागी बन्छन । त्यो अनुभव आफ्नो संस्कृतिसँग तुलना गर्न खोज्छन। पर्यटकलाई मारुनी नाँच र गाउँको लोकसंस्कृति मात्र नभएर गाउँको मौलिक जीवित परम्परा देख्न पाउँदा आत्मीय स्वागत र सहभागिताको अनुभव महसुस गर्दछन । मारुनी नाचको मौलिकता भने पुरुषलाई महिलाको भेषमा नचाउने परम्परा हो । अहिलेका कार्यक्रममा भने महिला कलाकार पनि मारूनी नाचमा सहभागी हुन्छन । कतिपय ठाउँमा सांस्कृतिक संरक्षणका नाममा अझै पनि परम्परागत शैली पुरुष नै मारुनी बन्ने प्रचलन छ । किन पुरुषले महिला बनेर नाचिन्छ? प्राचीन समयमा गाउँमा महिलाहरुलाई सार्वजनिक रुपमा नाँच्ने–गाउने स्वतन्त्रता थिएन । त्यसैले पुरुषहरुले नै महिला वेशभूषा धारण गरेर नाच्ने गरेको पाइन्छ ।
मारुनीको मुख्य विशेषता हो, नाँचमा केटा नै केटी रुपधारण गरी नाच्नु । नाच्नेलाई मारुनी भन्नु । मारुनी नाँचमा दुई मारुनी, दुई देखि तीन मादले, एक पुरसीङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन । पुरसीङ्गेले महिलाको कपडा लगाएको हुँदैन । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन भने त्यहाँ पुरसीङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ । पुरसीङ्गे एकपछि अर्को गर्दै नाच्न सक्दछ । गायकमा एक गुरु हुन्छन । तिहारका बेला विशेष गरी काठमाडौं उपत्यकाको नेवार समुदायमा प्रचलित मारुनी वा मारुती नाच महत्वपूर्ण सांस्कृतिक नृत्य हुन्छ । यो नाच भगवान राम र हनुमानसँग सम्बन्धित धार्मिक कथा र रमाइलो मनोरञ्जनात्मक परम्परा दुबैका रुपमा मनाइन्छ । मारुनी नाच र मारुती नाच भनेर दुई फरक परम्परागत नाचहहरु विभिन्न स्थानमा प्रचलित छन। मारुनी नाच प्रायः गुरुङ, मगर, राई, लिम्बु, पहाडी समुदायमा दीपावली अर्थात तिहारको बेला नाचिन्छ । तर मारुती नाच भने नेवार समुदायमा, विशेष गरी हनुमानसँग सम्बन्धित धार्मिक नाचका रुपमा पाइन्छ ।
शहर बजारमा तिहार पर्व आधुनिक तरिकाले–बत्ती, बाजा र पटाका केन्द्रित भएर मनाइन्छ । तर गाउँघरमा अझै पनि देउसी–भैलो, गोवद्र्धन पूजा, काग, कुकुर, गाई, लक्ष्मी पूजा जस्ता परम्परागत संस्कार मौलिक रुपमा जगेर्ना भएको पाइन्छ । पर्यटकह विशेष गरी मौलिक र लोकसंस्कृति नजिकका अभ्यासहरू प्रत्यक्ष देख्न चाहन्छन। गाउँको तिहारले उनीहरुलाई नेपाली जीवनशैली, गीत, नाच र धार्मिक विश्वास नजिकबाट बुझने अवसर दिन्छ । तिहारको समयमा गाउँहरु हरियालीले भरिपूर्ण, फुलमाला, दियो र रंगोलीले सजिएका हुन्छन । प्राकृतिक वातावरणमा तिहारको रोशनीले छुट्टै सौन्दर्य ल्याउँछ । पर्यटकहरु शहर बजारको कोलाहलबाट टाढा भएर यस्तो शान्त, स्वच्छ र सांस्कृतिक वातावरण खोज्न गाउँमा पुग्छन। देउसी–भैलोमा गाउँका युवायुवतीले गाउँघरका कथा, धार्मिक प्रसंग, प्रेम र समाजका विषयमा गित गाएर मनोरञ्जन गर्छन । पर्यटकहरुलाई यस्तो लाइभ फोक–कल्चरले आकर्षक गर्दछ। शहर बजारमा चाड पर्वको समयमा मञ्चीय कार्यक्रम बढी हुने हुँदा मौलिक ग्रामीण लय र गीत सुन्न र देख्न गाउँमा जादा पर्यटकका लागि नयाँ अनुभव हुन्छ । अनुसन्धानमुखी पर्यटकहरु तिहार, गोवद्र्धन पूजा, भाइटीका आदिबाट नेपाली धार्मिक परम्परा र परिवार केन्द्रित संस्कृति अध्ययन गर्न गाउँतिर पुग्छन । उनीहरुलाई गाउँमा परम्परागत विधि, देवी–देवता, र सामाजिक सम्बन्ध अध्ययन गर्ने राम्रो सामग्री भेटिन्छ ।
साँस्कृतिक भनेको कुनै समाज वा समुदायले लामो समयसम्म आचरण, विचार, विश्वास, रीतिरिवाज, कला, भाषा, धर्म, मूल्य र जीवनशैलीमार्फत निर्माण गरेको सामूहिक पहिचान हो । कुनै पनि कुरा साँस्कृतिक पहिचान बन्न छोटो अवधिको अभ्यासले मात्र हुँदैन । जब कुनै परम्परा पुस्तौंपुस्ता दोहोरि रहन्छ र समाजले त्यसलाई स्वीकार्छ, भने त्यो साँस्कृतिक हुन्छ । शहरीकरण र नयाँ मनोरञ्जन साधनका कारण कतिपय गाउँ ठाउँमा मारुतीको परम्परा हराउँदै गएको छ । तर पनि धेरै गाउँमा अझै पनि मारुनी नाच तिहारको प्रतीकझैं जगेर्ना भइरहेको छ । कतिपय गाउँहरुमा युवा क्लब र सांस्कृतिक समितिहरुले प्रतियोगिता नै आयोजना गरेर यसलाई जिवन्त राख्ने प्रयास गरेका छन । यसरी, गाउँअनुसार मारुनी नाँच फरक भए पनि मारुती नाँचमा नाच्ने पात्रको श्रृङ्गार र धार्मिक भाव भने एउटै हुन्छ । यसले तिहारलाई केवल उज्यालोको पर्व मात्र नभएर नृत्य–संगीत र सामूहिक संस्कृतिको उत्सव पनि बनाइ दिन्छ ।










