सम्पादकीय : समृद्धिको मूल चाबी – स्वदेशमै युवालाई स्वरोजगार

लाखौं नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । विदेशमा पसिना बगाउने ती युवाहरूले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान त बनाइरहेको छ, तर त्यसको दिगो र सही सदुपयोग अभावमा आर्थिक वृद्धिको गहिरो जरा गाड्न सकिएको छैन । मुलुकमा भित्रिएको अर्बौं रुपैयाँको रेमिटेन्स जस्तो आयो, त्यस्तै खर्च भएर विदेशिने चक्रमा पुनः मिसिएको छ। यस्ता समस्या हाम्रो सामाजिक–आर्थिक ढाँचा र सोचमा आमूल परिवर्तनको आवश्यकता दर्शाउँछ। नेपाल संघीय संरचनामा गइसकेको छ । जनताको पहिलो पहुँचको सरकार स्थानीय तह हो। गाउँघरमै रोजगारी सिर्जना गरेर युवालाई देशमै रोक्न सकिने जिम्मेवारी अहिले स्थानीय सरकारको काँधमा आएको छ । तर दुःखको विषय, तीनवटै तहका सरकारको नीति, कार्यक्रम र बजेटमा युवालाई स्थायी रूपमा स्वदेशमै स्वरोजगार बनाउने खालका ठोस योजना देखिंदैनन् । स्वरोजगारका नाममा सतही कार्यक्रम, बजेट र फोटासेशनमुखी पहल मात्र दोहोरिंदै आएको छ ।

आजको युवापुस्ता ‘के गरूँ के गरूँ’ भन्ने दोधारमा छ । पढेर के गर्नु? जागिर छैन । खेतीपाती गरुँ भने जग्गा छैन, भए पनि सीप छैन । सीप छ भने उत्पादनलाई बजार छैन। विदेश जान मन छ भने खर्च जुट्दैन। यस्तो बहुपक्षीय समस्यामा फँसेका युवालाई मार्गदर्शन र अवसरको खाँचो छ, जुन दिन सक्ने एक मात्र संस्था अहिले स्थानीय सरकार हो। शैक्षिक बेरोजगार युवाहरूको पहिलो प्राथमिकता जागिर हो । तर स्थायी जागिरको अवसर सीमित छन्। लोक सेवा वा अन्य सेवा आयोगका परीक्षाहरू कठिन छन्, तयारी महँगो र समयखपतिलो छ। करार सेवामा समेत नाता, पहुँच र सिफारिसले प्राथमिकता पाउने प्रणालीले सक्षम तर पहुँचविहीन युवाहरू निराश भइरहेका छन्। यस्तो सन्दर्भमा स्थानीय सरकार निष्पक्षताको ग्यारेन्टीसहित युवालाई उपयुक्त अवसर र तयारीको प्लेटफर्म उपलब्ध गराउन सक्नुपर्छ ।

स्थानीय तहले युवाहरूको अवस्था पहिचान गरेर उनीहरूको आवश्यकतालाई केन्द्रमा राखी शिपमूलक, जानकारीमूलक र प्रतिष्पर्धात्मक तालिमको व्यवस्था गर्न सक्दछ। लोक सेवा तथा अन्य सरकारी सेवाका तयारी कक्षा सञ्चालन गरेर हजारौं युवालाई स्वदेशमै जागिरका लागि तयार पार्न सकिन्छ । यसैगरी, कृषि, पशुपालन, साना उद्योग वा पर्यटन व्यवसाय गर्न चाहनेहरूलाई उद्यमशीलता विकास तालिम, अनुदान, सहुलियत ऋण, बजार व्यवस्थापनजस्ता सहयोग उपलब्ध गराउन सकिन्छ । जसका लागि स्थानीय सरकारले एउटै नमुना कार्यक्रम सञ्चालन गर्न सक्छ– “गाउँमै रोजगारी” अभियान। यस अन्तर्गत जग्गा नभएकालाई सहमतिको आधारमा जग्गा प्रयोगको सुविधा दिलाउने, बीउबिजन, मल, औजार, तालिम र बजारको ग्यारेन्टी दिने सकिन्छ। विदेश जान खोज्नेहरूलाई चाहिने लगानी यहीँ उपयोग गर्न वातावरण बनाउन सकिन्छ। यी कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई सक्रिय तुल्याउँछ, युवा गाउँमै बस्न सक्छन्, र देशको आयातमुखी निर्भरता समेत घट्छ ।

आज युवाविहीन गाउँ विकासविहीन बन्दै गएका छन्। उर्वर भूमि बाँझो छ, उत्पादन घट्दो छ। यदि युवा फर्किए, स्वरोजगार भए, गाउँले बाँच्नेछ। त्यो सँगसँगै समृद्धिको ढोका खुल्नेछ । युवालाई स्वरोजगार बनाउन सक्ने र उनीहरूको समस्यालाई गहिरोसँग बुझ्ने सरकार नै आजको सन्दर्भमा जन–मैत्री सरकार बन्न सक्छ । स्वरोजगारको सही बाटो देखाउने, सीप दिने, आत्मविश्वास भरिदिने, र कृषिमा सम्मान फिर्ता गराउने अभियानबाट मात्रै नेपालले समृद्धिको यात्रामा स्पष्ट पाइला चाल्न सक्छ । सरकारले युवालाई तिर्खा लाग्दा पानी दिएर होइन, इनार खन्ने उपाय दिनुपर्छ । शिक्षा, सीप, स्रोत र सम्भावनालाई जुगाएर युवाको ऊर्जा देशमै प्रयोग गरियो भने मुलुकलाई समृद्ध बनाउने सपना पुरा हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker