शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्रमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा एक हप्ताका बन्द
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको शुक्लागण्डकी नगरपालिकाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सम्पूर्ण क्षेत्र बन्द गरिने भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले बुधबार राती १२ बजेदेखि कात्तिक २५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीव्र गतिमा फैलिएपछि यो अवधिमा नगरक्षेत्रमा राजमार्गसंगै जोडिएका बजारका साथै ढोरफिर्दी र साँखे बजार क्षेत्रमा पनि बन्द गर्ने निर्णय भएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी गराएका छन् ।
यी बजार क्षेत्रमा अत्यावश्यक सेवामा पर्ने स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द गर्ने निर्णय भएको प्रवक्ता कुमालले जानकारी गराए ।
यस्तै, नगरपालिकाले पूर्वनिर्धारित कक्षा ११ को परीक्षा स्वास्थ्य सुरक्षाका सामाग्रि र मापदण्ड पूर्णरुपमा पालना गरी सञ्चालन गर्ने भएको छ ।
नागरिकहरुलाई नगरपालिकाले अत्यावश्यक कामबहेक घरबाट बाहिर ननिस्कन सचेत गराएको छ । मास्क लगाउने, समुहमा हिड्डुल नगर्ने, भौतिक दुरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन नगरपालिकाले सबैलाई आग्रह गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाले हालसम्म १ हजार ४८८ जनाको स्वाब नमुना संकलन पश्चात गरेको पीसीआर परीक्षणमा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९७ जना संक्रमित निको भएर घर भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, नगरपालिकमा एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै, तनहुँको म्याग्दे गाउँपालिका पनि गत मंगलबारदेखि अत्यावश्यक बाहेक सम्पूर्ण क्षेत्र बन्द गरेको छ । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि आगामि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसंगै सेवा प्रदायक संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।










