जिवित संग्रहालय, पर्यटन र कुन्छाल गाउँ
के.बि. मसाल

पर्यटन केवल रमाइलो गर्ने वा मनोरञ्जन प्राप्त गर्ने माध्यम मात्र होइन। ज्ञान प्राप्त गर्ने महत्वपूर्ण साधन पनि हो। बिशेष गरी इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि पर्यटन नयाँ ठाउको भौगोलिक दृष्यावलोकन मात्र नभएर पुगेको ठाउको ऐतिहासिक कुरा जान्ने उत्सुकता हुन्छ । इतिहास पर्यटनको क्षेत्रमा गहिरो रुपमा जोडिएको बिषय हुन्छ । पर्यटनको क्षेत्रमा इतिहास कहिल्य पुरानो हुदैन । इतिहास सर्वव्यापक हुन्छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ। तर सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य हुन्छन । इतिहास कसैको मौलिक रचना हुदैन । इतिहास त तथ्यगत ऐतिहासिक स्रोत सामग्रीको आधारमा तयार पारिएको लिखत हुन्छ ।
तर नेपालमा पर्यटनका लागि इतिहास भित्र लुकेर रहेको जीवित सग्रहालय भएका गाउँ पनि छन। मकवानपुर जिल्लाको कुन्छाल गाउँमा पर्यटकहरुले जीवित सग्रहालयको अनुभूती गर्न सक्दछन । जीवित सग्रहालयमा पर्यटकहरुले इतिहास,संस्कृति, परम्परा, जीवनशैली कुन्छाल गाउँको जीवनशैलीलाई जीवित रुपमा देख्न सक्दछन । कुन्छाल गाउँमा लोपोन्मुख परम्परा, कला र संस्कृति जोगाउन कुन्छालका सबै मानिस लागेका छन । जीवित सग्रहालयले पर्यटकहरुलाई इतिहास र संस्कृतिको सजीव अनुभव गराउने माध्यम र अनुभव पनि दिन्छ । कुञ्छाल गाउँ जीवित सग्रहालय हो ।
गोपाली समुदायको बसोबास रहेको कुञ्छाल गाउँमा कुखुरा पाल्न र खान निषेध गरिएको छ । काठमाडौँबाट मात्र एक घण्टाको दूरीमा रहेको रमणीय कुञ्छाल गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । पर्यटनका लागि कुञ्छाल गाउँ झट्ट हेर्दा स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैन । हरियालीबीच कुञ्छाल गाउँ अत्यन्तै सुन्दर छ । बुट्टेदार झयाल र रातो टायलका छानो भएका पुराना घर पर्यटकहरुले टाढाबाट हेर्दा पनि आकर्षण देखिन्छ । प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कुञ्छाल गाउँमा पर्यटकहरुका लागि सामुदायिक घरबास अर्थात होमस्टे सञ्चालनमा छ ।
कुञ्छाल गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरुका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरुका अनुसार सय होइन, हजारौं बर्ष इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन । कुञ्छाल गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति पु¥याएको छैन । लिच्छविकालीन राजा अंशुबर्माको समेत शिलालेख रहेको भनिएको कुञ्छाल गाउँको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो छ । कुञ्छाल गाउँ वरपरका अन्य गाउँमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहे पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात गोपालवंशीहरुको मात्र बसाइ रहेको छ ।
पर्यटनका लागि पुरातात्विक सम्पदा भौतिक रुपमा भेटिने ऐतिहासिक बस्तु, संरचना, अवशेष वास्थलहरु हुन । पुरातात्विक सम्पदा इतिहासको साछी हुन्छ । पुरातात्विक सम्पदाको अध्ययनबाट मानव समाजको प्राचिन जीवन, धर्म कला, वासतुकला ब्यापार आदीको जानकारी हुन्छ । अर्को तर्फ पुरातात्विक अध्ययनले पर्यटकहरुले पुराना दरवार गढी किल्ला, मूर्ति औजार, सिक्का भाडाकुडा,आदिम बस्तीको अवशेष आदीको अध्ययन हुन्छ ।
त्रिभुवन राजपथ हुँदै कुन्छाल जान टिस्टुङ पुग्न पर्दछ । टिस्टुङ पुगेपछि बज्रबाराही मन्दिर नजिकै सबैका आँखा पर्छन । एकनासका घर ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायलको छाना भएको सुन्दर गाउँ हो कुन्छाल । थाहा नगरपालिकाको कुन्छाल गाउँमा गोपाली समुदायको मात्र बसोबास रहेको छ । गोपाली समुदाय सात सय वर्ष पहिले काठमाडौबाट लखेटिएपछि कुन्छाल गाउँमा बसोबास गर्न थालेका हुन। कुन्छाल गाउँमा गोपाली बशंका २५० घर छन् । गोपाली थरका मानिसहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन् । गाउँको घना बस्ती माथी जंगल, बाह्रै महिना हरियाली देखिने खेत र बारी । एउटै विशाल ढुँगामाथि बसेको बस्ती, गाउँमा चटयाङ समेत पर्दैन। नब्बे साल र ७२ सालको भुइँचालोले समेत कुन्छाल गाउँमा क्षति भएन ।
प्रकृति, सस्कृति र जीवित सग्रहालयलमा रुचि राख्ने पर्यटकहरु आजभोली कुन्छाल गाउँमा पुग्दछन । वरिपरी हरिया डाँडा अनि खेतहरुले भरिएको कुन्छाल गाउँका घरहरुले त्यहाँ घुम्न जाने पर्यटकलाई मोहित बनाउँछ । कुन्छाल गाउँ पर्यटकीय हिसाबले मात्र नभएर ऐतिहासिक दृष्टिले पनि निकै महत्व मानिन्छ । गाउँमा मानिसहरु गाईपालनसँगै खेती किसानी गरेर जिविकोपार्जन गरिरहेका छन् । विशेष गरेर कुन्छालका मानिसहरु व्यावसायिक तरकारी खेती गर्दछन । कुन्छाल गाउँका गोपाली जातिको मौलिक कला संस्कृति, उनीहरुको पहिचानसँग जोडिएको बस्ती र परिवेश अवलोकन गर्न पर्यटकहरु कुन्छाल पुग्ने गर्दछन ।
हिमाल, पहाड होस वा तराई, अधिकांश गाउमा कुखुरा पाल्ने गरिन्छ । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालि रहेकै हुन्छन । तर कुन्छाल गाउँमा कुखुरा बास्दैन । किनकी कुन्छाल गाउँमा कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिकाको कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्रायले हाँस पालेकै हुन्छन्। यी बस्तीमा गोपाली समुदायको बसोबास रहेको छ । एकनासे घर भएका कुन्छाल गाउँमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनन्। कुन्छाल गाउँमा भाले बासेको नफाप्ने भएकाले कुखुरा पाल्दैनन् ।
कुन्छाल गाउँमा कुखुराको मासु मात्र होइन, अण्डासमेत खान पाइँदैन । भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाइने गरिन्छ । अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन । कसैले अन्तरजातीय बिहे गरी जन्मेका सन्तानको मृत्यु भए दाहसंस्कारका लागि स्थान पनि दिइँदैन । कुन्छाल गाउँ गोपालीहरुका कारण चर्चित छ । ग्वाली अर्थात् नेपालको पहिलो वंश गोपाल जो आफूलाई अहिले गोपाली भन्छन कुन्छालमा बसोबास छ । कुन्छाल गाउँ पर्यटकिय र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।
नेपालका मुखिया प्रथाहरु अन्त भएको धेरै बर्ष भयो । तर कुन्छाल गाउँमा भने अझैपनी गाउँमाथिको डाँडोमा गएर उर्दि लगाउने गर्छन । उर्दि लगाएपछि सबै भनेको ठाउँमा जम्मा हुनु पर्दछ । कुन्छाल गाउँ माथी डाँडामा गएर आज फलानोको रोपाई छ है, भनेर कराएपछि सबै जुटछन। खेत खन्ने बेला, धान गोडने बेला वा धान रोप्ने बेलामा उर्दिका भरमा सिंगो गाउँ जम्मा हुने गर्छ । कुन्छाल गाउँको मुखिया प्रथालाई उनीहरुले थकाली प्रथाका रुपमा मान्दै आएका छन्। कुन्छालमा जो पाको हुन्छ उसैलाई थकालीका रुपमा मान्ने चलन छ । एउटा थकाली अर्थात मुखिया हुन्छ भने अरु पाँच जना मुखियाका सहयोगी रहने गर्छन्। सामुहिकतामा विश्वास गर्ने कुन्छाल गाउँका गोपालीहरु खेतीको काम गर्ने बेला एकै ठाउँमा खाना खाने गर्छन् । विशेषगरी बैशाख र मंसिरमा सिंगो गाउँका लागि एउटै डेक्चिमा खाना पाक्छ ।
कुन्छालका मानिस बोल्ने क्रममा लवज नेवारी जस्तो लागेपनि ठेट नेवारी भन्दा अलि फरक भाषा बोल्दछन। कुन्छालका मानिसले आफुलाई ब्राह्मण भन्दा माथिको जात मान्ने गरेका छ । कुन्छाल गाउँमा पञ्चायतकालसम्म आफ्नो थर ग्वाला लेख्ने गरेका थिए । गाईगोठालाका सन्तान हुन कुन्छालका गोपालीहरु । इतिहासमा ग्वाला वा गोपालवंशका रुपमा परिचित गोपालीहरुले जंगलमा गाई चराउने क्रममा पशुपतिनाथको मन्दिर स्थापना गरेका थिए । तर, ती ग्वालाहरु पछि एकाएक कसरी गोपाली भए? ग्वालाबाट गोपाली भएको पञ्चायत कालमा नै हो । जुन बेलाका प्रधानपञ्च रामलाल ग्वालालाई ग्वाला भन्न र लेख्न अफ्ठ्यारो लागेछ । उनले त्यसपछि ग्वाला थरलाई गोपाली बनाएछन् । त्यसभन्दा अघिका नागरिकता र लालपुर्जाहरुमा ग्वाला नै लेखिएको छ । मकवानपुर जिल्ला मालपोतमा अहिलेपनि ग्वाला थरका कागजात भेटिन्छन् । यसरी ग्वालाबाट गोपालीमा थर परिवर्तन गर्दा सरकारी कर्मचारीले पैसा खाएको तितो यथार्थ पनि कुन्छालका गाउँले संग छ ।
कुन्छाल गाउँका नगन्य बासिन्दा बिच सामान्य भना भन भएपनि आजसम्म अदालती मुद्दा परेको छैन। सामान्य भनाभैरीका मुद्दाहरु गाउँका मुखियाले नै मिलाउने गरेका छन् । कुन्छाल गाउँका बासिन्दाले करिब १५ वर्ष अघिसम्म केत्तुकेको पातबाट बनेको घरेलु जुत्ता लगाउने गर्दथिए । अहिले भने बजारका आधुनिक जुत्ता लगाउन थालेको छन। तर कुन्छाल गाउँका बासिन्दाहरु छालाको जुत्ता लगाउन भने अझै पनि हिचकिचाउँछन् । गाउँमा कलात्मक झ्याल ढोकायुक्त घरहरु छन् । नेवार भाषामा लेखिएका केही शिलालेख पनि छन् । कुन्छाल गाउँमा एग्रो टुरिजमको बिकास भएको छ । गाउँलेहरु कृषिकर्ममा रमेका छन् । उनीहरु धान, आलु, गहुँ, मकै र सिजनेवल तरकारी फलाउँछन् ।
गाउँमा घुम्न जाने पर्यटकले कुन्छालमा दुई रात सजिलै विताउन सकिन्छ । गाउँका दर्जन भन्दा बढी घरमा होमस्टे सुविधा छ । पर्यटकको इच्छा अनुसार होमस्टे व्यवस्थापन समितिले डबलीमा साँस्कृतिक कार्यक्रम देखाउँछ । साँस्कृतिक कार्यक्रममा हिले नाचका झलक देखाइन्छ । खासमा जनै पूर्णिमाका दिन एक वर्ष कुन्छाल र अर्को बर्ष कुलगाउँमा हिले नाच देखाउने चलन छ । त्यसकै संक्षिप्त रुप कुन्छाल पुग्ने पर्यटकहरुलाई देखाइन्छ । नेवार बस्ती भएकाले साथमा लाखे नाच त भइहाल्छ । कुन्छालबाट गुन्द्रुक, सिजनेवल तरकारी, सन्चाना, किवी र भुइँ स्याउ कोसेलीको रुपमा पर्यटकहरुले लिने गर्दछन ।
गाउँको शिरानमा गणेश मन्दिर छ। कुन्छाल सेरोफेरोमा बज्रबाराही मन्दिर, मनकामना, इन्द्र सरोवर, दामन, चित्लाङ लगायत हेर्न र घुम्न लायक सम्पदाहरु धेरै छन्। हिमाल हेर्न मुलाबारी अर्थात मनकामना क्षेत्रमा हाइकिङ गर्नु पर्छ । त्यहाँ पुग्न गाउँबाट डेढ घन्टा लाग्छ । कुन्छाल देखि दामन २२ कि.मि.मा पर्छ भने चित्लाङ ८ कि.मि.मा टाढा रहेको छ । सिम भञ्ज्याङमा हिउदको समयमा हिउँ संग खेल्न सकिन्छ। हरेक तीन वर्षमा बुद्ध पूर्णिमाका दिन बज्रबाराहीको रथ यात्रा गरिन्छ भने हरेक १२ वर्षमा बध पूजा हुन्छ । कुन्छालका बज्रबाराही क्षेत्रका गौखुरेश्वर, उन्मुक्तेश्वर र नन्दीकेशर महादेव मन्दिर धार्मिक पर्यटन गन्तव्य हुन् ।
कुञ्छाल गाउँमा पुग्दा पर्यटकहरुले पदमार्गमा समेत रमाउन सक्दछन । पदयात्रा गर्दा पर्यटकहरुले बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा हुदै कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न समेत पर्यटकहरुले सक्दछन । वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन गर्न सकिन्छ ।
ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकन पश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रुपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट जगंल सफारीमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ। पर्यटकहरुलाई वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर पर्दछ । वाराही डाँडाबाट पुनः जगंल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर पदयात्राको अन्त्य हुन्छ ।
नेपालमा पहिलो पल्ट चन्द्रशमशेर राणाको पालामा चित्लाङ र टिस्टुङका स्थानियहरुले गाडी बोकेर उपत्यका पु¥याउने ऐतिहासिक गोरेटो राजमार्ग पनि कुन्छालमा छ । यस्ता धेरै इतिहास बोकेको यो क्षेत्र धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपमा पनि धनी छ । सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको कोट दरबार पनि टिस्टुङमै रहेको छ। अहिले दरबारको भग्नावशेष मात्र रहेको छ भने कोटदरबार नजिक तलेजु भवानीको मन्दिर रहेको छ। टिस्टुङमा केही आधुनिक शैलीका घर सडकछेउमा बने पनि अधिकांश घर पुरानै नेवारी शैलीका छन् । टिस्टुङ उपत्यका कुलेखानी जलविद्युतका लागि जलाधार र काठमाडौं उपत्यकाका लागि तरकारीको प्रमुख आपूर्ति गर्ने उपत्यका हो । टिस्टुङ उपत्यका प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र र साँस्कृतिक वस्तीका रुपमा रहेको मकवानपुरको टिस्टुङ पालुङ र चित्लाङ क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा परिचित छ । कल कल झरना । वरपर स–साना पहाडका थुम्काहरुले घेरिएको सानो उपत्यका ।
कसरी पुग्ने
कुञ्छाल गाउँ जानको लागि काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी यात्रा गर्न पर्दछ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङको बाटो हुँदै पनि ३० किलोमिटरको यात्रामा कुञ्छाल गाउँ पुग्न सकिन्छ । अर्को तर्फ फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो भने ५५ किलोमिटर यात्रामा कुञ्छाल गाउँ पुग्न सकिन्छ । हेटौडा अथवा पोखरा देखि कुन्छाल जान त्रिभुवन राजमार्गमा पर्ने टिष्टुङ पुग्नु पर्दछ । टिष्टुङ छाडेर ढुंगा छापेको बाटो उक्लेपछि कुन्छाल गाउँ पुग्नु सकिन्छ ।










