उत्पादनमा आधारित दुग्ध अनुदानमा २१ लाखभन्दा बढी वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिका ले सञ्चालन गर्दै आएको æउत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमÆ अन्तर्गत चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक अवधिमा दुग्ध उत्पादक कृषकहरूलाई रु. २१ लाखभन्दा बढी अनुदान वितरण गरेको छ ।
गाउँपालिकाका अनुसार उक्त अवधिमा पालिकाभित्र कुल ३ लाख ५९ हजार १९० दशमलव ४ लिटर दूध उत्पादन भएको थियो । सोही उत्पादनका आधारमा कृषकहरूलाई प्रति लिटर रु. ६ का दरले कुल रु. २१ लाख ५५ हजार १४२ दशमलव ४० अनुदान उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
उनले भने, ‘पालिकाले दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत स्थानीय कृषकहरूलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि र आयआर्जनमा सहयोग पु¥याउने उद्देश्य राखेको छ ।’
गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि, कृषकको आर्थिक सुदृढीकरण तथा स्थानीय अर्थतन्त्रको विकासमा योगदान पु¥याउने कृषकप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।










