पृथ्वीराजमार्ग स्तारोन्नती : विद्युत पोल स्थान्तरण नगरिदा सडक बिस्तारमा अवरोध, जम्मा ११.५ प्रतिशत भौतिक प्रगति

नारायण खड्का/तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडक खण्डको आँवुखैरेनी-पोखरा खण्ड बिस्तार कार्य भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गलाई अहिले दुइ भागमा विभाजन गरी सडक चौडा बनाउने, पुल, कल्भर्ट निर्माण तथा टेवा पर्खाल लगाउने कार्यलाई तीब्र पारिएको छ ।

सडक विस्तार कार्य चलिरहदा सरकार पक्षबाट सडक सिमा भित्रका भौतिक पूर्वाधार नहटाइनु तथा विद्युत पोल स्तान्तरण नगरिदिदा काममा अवरोध आउन थालेको छ । सडकको स्तारोन्नती कार्य सुरु हुनु पूर्व नै विद्युत पोल स्थान्तरण गरिसक्नुपर्नेमा हालसम्म सो कार्य हुन नसक्दा सडक स्तरोन्नतीको प्रगति देखाउन नसकिएको निर्माण पक्षले बताउन थालेको छ ।

सडक निर्माण पक्षले कामलाई तीव्रता दिईरहदा नेपाल विद्युत प्राधिकारण मातहत रहेका पोलहरु नहटाइदा आयोजनाले कामको प्रगति देखाउन नसकेको आँवुखैरेनी-जामुने खण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

‘निर्माण पक्षले अहिले सडक बिस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाइएपनि समग्र योजनाको प्रगति अपेक्षित नहुनुमा विद्युत पोलको समस्य प्रमुख कारक रुपमा देखिएको छ’, प्रमुख सुवेदीले भने, ‘सडक विभागले लागत अनुमान गर्दा विद्युत पोल स्थानन्तरण भनेको र विद्युत प्राविधिकरणले पुरानो ९ मिटरका पोलको सट्टामा १३ मिटर उच्चाइका नयाँ पोलहरु राख्नु पर्ने तर त्यसका लागि प्रयाप्त बजेट नभएको भन्दै पोल हटाउन ढिला गरिदिदा काममा समस्या देखिन थालेको छ ।’

उनका अनुसार विद्युत प्राधिकरणले हटाउनु पर्ने पोलको स्टमेट निकालेर टेण्डर प्रक्रिया अगाडि बढाएको छ । ‘सम्भवता माघको दोश्रो साताबाट विद्युतका पोल हटाउने कार्य सुरु हुने र चालु आर्थिक वर्षभित्र पूर्वी खण्डका सबै विद्युतका पोलहरु स्थानन्तरण हुने अनुमान गरिएको छ’, उनले भने, ‘निर्माण पक्षले राजमार्गको पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनीबाट बरादी पुलसम्मको करिव ७ किलोमिटर सडकखण्ड जानवरी १५ बाट कालोपत्रे गर्ने तयारी गरेको छ ।’

यस्तै, विद्युत पोल स्थान्तरण तथा नयाँ पोलका लागि टेण्डर भईसकेको विद्युत प्राधिकारण तनहुँका इन्जिनियार जनार्धन पौडेलले बताए। उनका अनुसार विद्युत पोल हटाउने कार्य केही ढिलो भएको र यो तनहुँ खण्डमा करिव २ हजार २ सय नयाँ विद्युत पोलहरु राख्नुपर्ने अनुमान गरिएको छ ।

विद्युत पोल स्टमेटमै ढिलाई भएका कारण समयमा विद्युत पोल हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । विद्युत पोल हटाउनका लागि टेण्डर प्रक्रिया अगाडि बढिसकेको हुँदा हाललाई आवश्यकता अनुसार आन्तरिक रुपमा विद्युतका पोलहरु हटाएर कामलाई अगाडि बढाइएको प्रजिअ अर्यालले बताए ।

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्ग स्तरोन्नतीको काम भइरहेको र काम हुँदा यात्रुहरुले समेत सास्ति झेल्दै आउनुपरेको छ । यात्रुलाई पनि समस्य नपरोस् र काममा पनि अवरोध नआहोस् भनि समय तालिका मिलाएर काम भइरहेको प्रजिअ अर्यालले बताए ।

‘यात्रुलाई पनि समस्या नपरोस् र काममा पनि अवरोध नआहोस् भनि समय तालिका मिलाएर काम भइरहेको छ । सरोकारवालसंग बैठक बसि लामो समय राजमार्ग अवरुद्ध नगर्ने र कामलाई पनि के कसरी अगाडि बढाउन भन्ने विषयमा छलफल र निर्णयहरु भएका छन्’, प्रजिअ अर्यालले भने, ‘चिसो मौसम सक्किए लगातै रातीको समयमा कामलाई तीव्रता दिने योजना बनाइएको छ । निर्माण पक्षले दिउँसो ट्राफिक कम हुने समयमा सवारी साधनलाई ३० मिनेट रोकेर पहरो तथा भित्तो कटान गरी सडक चौडा पार्ने कार्य गर्न भनिएको छ ।

साविक दुइ लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनको बनाउने क्रममा पूर्वी खण्डमा ४ वटा ठुला र १३ वटा साना पुलहरु निर्माण गरिने भएको छ । हाल २ वटा ठुला र ३ वटा साना पुल निर्माणधिन अवस्थामा छन् भने २ वटा साना पुल निर्माण सम्पन्न गरिएको छ । राजमार्गको पूर्वीखण्डमा १७० वटा कल्भर्ट बन्नेमा ३० वटा निर्माण सम्पन्न भईसकेका छन् भने ३२ वटा कल्भर्ट निर्माणाधिन अवस्थामा छन् ।

यस्तै, पूर्वी खण्डमा हालसम्म ४० प्रतिशत भौतिक प्रगाति देखिनु पर्नेमा डिसेम्बरको अन्तिमसम्म ११.५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको आयोजना प्रमुख सुवेदीले बताए । आयोजनाले यो खण्डमा करिव ५०५ वटा भौतिक संरचना भत्काउने भएको छ । दमौली र डुम्रे खण्डलाई नसमेटि ६ करोड ५४ लाख रुपैयाँ बराबरको मुआब्जा व्यहोर्नुपर्ने आयोजनाले बताएको छ । प्रमुख सुवेदीका अनुसार भत्काउन भनिएका ३८० भौतिक संरचनामध्ये २५० जनाले मुआब्जा लिइसकेका छन् भने १३० जनाले पहिलो किस्तामात्रै लिएका छन् । ३८० मध्ये ३/४ वटामात्रै घर तथा टहरा भत्काउन बाँकी रहेका छन् ।

पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन् । यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली लगायतका बजार क्षेत्रका भौतिक संरचनाहरु प्रभावित हुने छन् । आयोजनाले बजार क्षेत्रमा सर्भिस लेन सहित ६ लेनको र ग्रामीण क्षेत्रमा ४ लेनको सडक बिस्तार गर्ने गरी काम अगाडि बढाएको छ ।

चार लेनमा विस्तार हुन लागेको मुग्लिन-पोखराको दूरी करिब ८८ किमि छ । आयोजनाले आँबुखैरेनी-जामुनेको ४१ किलोमिटरलाई पूर्वी खण्ड र जामुने-पोखराको ३९ किलोमिटरलाई पश्चिम खण्ड गरी दुइ खण्डमा विभाजन गरेको छ । पश्चिम खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले वि.सं. २०७८ जेठ ३ गते ७ अर्ब ४० करोड रुपैयाँमा सडक निर्माणको ठेक्का सम्झौता गरेको छ ।

यस्तै, पूर्वी खण्ड निर्माणका लागि अर्को चाईना कम्पनी कम्युनिकेशन कन्स्ट्रक्सनले वि.सं. २०७८ वैशाख २ गते ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker