पर्वतकी रानी हिउँ चितुवा संरक्षणको प्रयास

कृष्ण अधिकारी/रासस

यसै साता (अक्टोबर २३) विश्वका धेरै देशमा ‘मौन संरक्षकको सुरक्षा गर्दै’ भन्ने नाराका साथ हिउँ चितुवा दिवस मनाइयो । अघिल्लो वर्ष ‘भावी पुस्ताका लागि हिउँ चितुवाको वासस्थानको सुरक्षा’ भन्ने नारा तय गरिएको थियो । यसले हिउँ चितुवाको वासस्थान उच्च जोखिममा रहेको तथ्यलाई विश्वव्यापी रूपमै स्वीकार गरिएको छ भने यसको संरक्षणका लागि स्थानीय समुदायदेखि सरोकारवाला निकायले संरक्षकको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
यतिबेला मनाङ, मुस्ताङमा प्रशस्त पर्यटक त्यहाँको प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न गएको समाचार आइरहँदा ती क्षेत्र हिउँ चितुवाको बासस्थान पनि हो भन्ने कुरा धेरैलाई थाहा नहुँन सक्छ । हिउँ चितुवालाई पर्यटकीय क्रियाकलापसँग जोड्न सकिएमा यसले स्थानीय वासिन्दाको जीविकोपार्जनमा टेवा पुग्दछ । जसरी चितवनको सौराहामा एकसिङ्गे गैँडा, हात्तीलगायतका जनावर पर्यटकको आकर्षण बनेका छन्, त्यसरी नै हिउँ चितुवा हेर्न पनि पर्यटक जाने वातावरण बनाउन सकिन्छ ।
नेपालमा झण्डै ३० हजार वर्ग किमि क्षेत्र हिउँ चितुवाका लागि उपयुक्त रहेको मानिन्छ । हिउँ चितुवा पाइएको क्षेत्रमध्ये ५८ प्रतिशत संरक्षित क्षेत्र रहेको छ भने ४२ प्रतिशत निकुञ्ज बाहिर रहेको छ । हिउँ चितुवाको संरक्षण एक निकुञ्ज र संरक्षित क्षेत्रमा मात्रै काम गरेर हुँदैन । समुद्री सतहबाट २,७०० देखि पाँच हजार ६०० मिटर उचाइमा पाइने यो जनावर नेपालसहित अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।
वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ रहेको छ भने विश्वमा करिब चार हजारदेखि छ हजार ५०० को सङ्ख्यामा रहेको अनुमान गरिन्छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँ चितुवा रहेको बताइन्छ । विश्वभरिका चिडियाघरमा करिब ६०० वटा हिउँ चितुवा रहेको बताइन्छ ।
स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने हिउँ चितुवा एक दुर्लभ र अति सुन्दर वन्यजन्तु हो, जसलाई “पर्वतको भूत” भनेर पनि चिनिन्छ । यसको लुकिचोरी बस्ने र अत्यन्तै सतर्क र छिपाउने क्षमतायुक्त स्वभाव भएको हुनाले नै कतिपयले यसलाई पर्वतको भूत भन्ने गरेका हुन् । नेपालमा यसको मुख्य बासस्थानमा मुस्ताङ, मनाङ, मुगु, हुम्ला, डोल्पा, रसुवा, सोलुखुम्बु र ताप्लेजुङ जिल्लाको प्रायः तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइसम्मका चट्टानी र बर्फिला क्षेत्रमा पाइन्छ । हिमाली समुदायमा हिउँ चिुतुवालाई स्थानीय देवताको पाल्तु जनावरको रूपमा लिने भएकोले यसको सांस्कृतिक महत्व रहेको बुझ्न सकिन्छ ।
एक्लै बस्ने स्वभाव रहेको यस जनावरको मुख्य आहार नाउर, झारल, कस्तुरी मृग, फ्याउ मूसो, हिमाली खरायो, डाँफे आदि रहेको छ । हिमालको रक्षकको रूपमा पनि लिने गरिने हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वस्थ्य पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्साको रूपमा लिने गरिन्छ । पछिल्लो समय जलवायु परिवर्तन एवं मानव–वन्यजन्तु बीचको द्वन्द्वका कारण हिउँ चितुवाको वासस्थानमा प्रभाव र आहाराको अभाव हुँदा यसको सङ्ख्यामा कमी आउँदा पर्या–प्रणालीमा असर देखिन थालेको छ । वासस्थानको गुणस्तर र आहारा प्रजातिमा कमी आउनु नै हिउँ चितुवाको संरक्षणको मुख्य चुनौती रहेको छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको र यसको प्रभावले हिउँ चितुवाको वासस्थानमा ह्रास आएको छ ।
हिमाली क्षेत्रमा हिमरेखा (वृक्षरेखा) माथितिर सरिरहँदा हिउँ चितुवाको वासस्थान मानिएको क्षेत्र साँघुरिँदै गएको छ । यसले गर्दा एकातिर हिउँ चितुवाले जलवायु शरणस्थलको रूपमा माथितिर विस्थापित हुनुपर्नेछ भने अर्कोतिर यदाकदा अन्य जनावरजस्तै चितुवासँग पनि आहाराका लागि सङ्घर्ष गर्नुपर्ने भएको छ । नाउर, झारलजस्ता आफ्नो आहारा खोज्दै तल झर्दा तिनको सङ्ख्या घट्न गएकाले चरनमा रहेका वा बस्तीमा पसेर भेडाबाख्रा वा अन्य घरपालुवा जनावरलाई मार्ने क्रम बढ्न थालेको छ । यसले गर्दा किसानले हिउँ चितुवालाई पासो लगाउने, विष राख्ने हुँदा पनि यसको अस्तित्व सङ्कटमा परेको छ । यसरी जलवायु परिवर्तनसँगै मानिस र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै गएको छ । हिउँ चितुवा एकै स्थानमा रहन्छ भन्ने पनि हुँदैन । जीपीएस स्याटेलाइट अध्ययनले नेपालको कञ्चनजङ्घामा रेडियो कलर गरिएको हिउँ चितुवा भुटानमा फेला परेको थियो । हिमाली श्रृङ्खलामा जोडिएका सिमावर्ती भारत, तिब्बतमा पनि सहजै जानसक्ने हुँदा यसको संरक्षणमा त्रिदेशीय सहकार्य र समन्वय हुन आवश्यक छ । हिउँ चितुवा हिमाली संस्कृति र धर्मसँग पनि जोडिएको हुनाले यसको संरक्षणलाई जनताको आर्थिक पक्षसँग जोड्नुपर्छ ।

संरक्षणमा राष्ट्रिय प्रयास

जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएपछि वासस्थान नष्ट हुने क्रमसँगै यसको अस्तित्व सङ्कटमा परेको छ । वासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको छ । हिउँ चितुवा संरक्षणमा देखिएका मुख्य चुनौतीमा मानव र वन्यजन्तुबीचको द्वन्द्वलगायत वासस्थानको ह्रास, आहारका लागि शिकार प्रजातिको कमी, चोरी शिकार, गैरकानुनी व्यापार र प्रतिशोधात्मक द्वन्द्वलाई मानिन्छ । अतः यी चुनौतिको न्यूनीकरणका लागि सरकार र विभिन्न सङ्घसंस्थाको पहलमा संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन् । यस अनुरुप राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) अन्तर्गत यसका आयोजना क्षेत्रमा हिउँ चितुवाको क्यामेरा ट्र्याप अनुगमन, परभक्षी प्रतिरोधक गोठ निर्माण, गोठाला शिक्षा लगायतका क्रियाकलाप गरेको पाइन्छ भने नेपाल सरकार र विश्व वन्यजन्तु कोषबाट कञ्चनजङ्घा संरक्षण क्षेत्रमा समुदायमा आधारित पशुधन बीमा कार्यक्रम, कञ्चनजङ्घा संरक्षण क्षेत्र र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा जीपीएस स्याटेलाइटबाट हिउँ चितुवाको वैज्ञानिक अध्ययन् अनुसन्धान भएका छन् । यसदेखि बाहेक मनाङ र डोल्पामा हिउँ चितुवा लक्षित पर्यटन कार्यक्रम पनि सञ्चालनमा रहेका छन् ।
यसैगरी, समुदायमा आधारित हिउँ चितुवा संरक्षण परियोजना (सिबिएसएलसिपी)मार्फत मुस्ताङ र ताप्लेजुङका विभिन्न समुदाय र विद्यालयमा हिउँ चितुवा लक्षित संरक्षण शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् ।

स्थानीय पाठ्यक्रममा हिउँ चितुवा संरक्षण शिक्षा

हिउँ चितुवाको महत्वपूर्ण वासस्थान क्षेत्र रहेका नेपालका दुई जिल्ला मुस्ताङ र ताप्लेजुङले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा हिउँ चितुवासम्बन्धी विषयवस्तु समावेश गरेका छन् । मुस्ताङमा घरपझोङ गाउँपालिकाको सक्रियता र टेका समूह नेपालको पहलमा तथा ताप्लेजुङमा फक्तालुङ गाउँपालिका आफैँले स्थानीय पाठ्यक्रम निर्माण गरी हिउँ चितुवाका सन्दर्भ समावेश गरेको छ । सिबिएसएलसिपीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा हिउँ चितुवा संरक्षण शिक्षाका कक्षा ६, ७ र ८ का विद्यार्थीलाई लक्षित गरी तीनवटा सन्दर्भ पुस्तक  तयार गरेको हो । यसको प्रभावकारितालाई मूल्याङ्कन गरी कक्षा ९ देखि १२ सम्म पनि यसलाई निरन्तरता दिनसके यसको समावेश गर्नसके हिउँ चितुवा संरक्षणको संस्थागत दिगो विकास हुने देखिन्छ । कुनै स्थान विशेषका पाठ्यक्रममा मात्र नभएर राष्ट्रिय स्तरबाटै विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा समेत हिउँ चितुवालगायत संरक्षित वन्यजन्तुसम्बन्धी विषयवस्तु समावेश गर्नु आवश्यक छ ।

हिउँ चितुवा संरक्षण राष्ट्रिय कार्ययोजना र स्थानीय सहभागिता

नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको सहयोगमा हिउँ चितुवा संरक्षण राष्ट्रिय कार्ययोजना (सन् २०२४–२०३०) कार्यान्वयनमा ल्याएको छ । यस कार्ययोजनाले हिउँ चितुवा जस्तो अद्वितीय प्रजाति र यसको सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षणका लागि मार्गदर्शन गरेको छ । यसमा हिउँ चितुवाको वैज्ञानिक अध्ययनदेखि वासस्थान, पारिस्थितिकी र जैविक मार्गको सुधार, हिउँ चितुवा र समुदायबीचको द्वन्द्व न्यूनीकरण, वन्यजन्तु अपराध र व्यापार नियन्त्रण एवम् राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने र स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्य राखिएको छ । स्थानीय समुदायको संलग्नता र सहभागिता बिना कुनै पनि संरक्षणको प्रयास सम्भव हुँदैनन् भन्ने विभिन्न अध्ययन र अभ्यासले पनि प्रष्ट भएको छ । हिउँ चितुवा संरक्षण र प्रवर्द्धनका लागि समुदाय नेतृत्वमा आधारित आमा समूहको परिचालन एवं नागरिक वैज्ञानिक तयार गरी तिनको परिचालन गर्ने काम केही स्थानमा भएका छन् । यस्ता कार्यक्रम अन्य हिउँ चितुवा वासस्थान क्षेत्रहरुमा बिस्तार गरिदै लगिनु आवश्यक छ ।
हिमाली पारिस्थितिक प्रणाली सन्तुलन कायम राख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने र हिमाली समुदायको सास्कृतिक, सामाजिक तथा आर्थिक पक्षसँग सम्बन्ध राख्ने महत्व राख्ने जीव भएको हुनाले हिउँ चितुवा संरक्षणमा हामी सबैको चासो जानु जरुरी छ । अतः हाम्रा भविष्यका सन्ततिका लागि यसको दिगो संरक्षण तथा व्यवस्थापन हुनु अपरिहार्य छ । यसका लागि हिउँ चितुवामाथि थप अनुसन्धान तथा जनचेतना अभिवृद्धिमूलक कार्यक्रमलाई बढावा दिनुपर्ने देखिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker