सम्पादकीय – ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६ : बन्दीपुरको अवसर र जिम्मेवारी

नेपालको पर्यटन बहस प्रायः ठूला सहर, हिमाल र चर्चित गन्तव्य वरिपरि घुमिरहँदा गाउँघरको मौलिक जीवन, संस्कृति र सम्भावना ओझेलमा पर्दै आएको यथार्थ हामी सबैले स्वीकार्नुपर्छ । यही सन्दर्भमा तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुरसहित छिमेकी पालिकाका गाउँघरलाई समेत समेट्दै सन् २०२६ लाई “ग्रामीण पर्यटन भ्रमण वर्ष” का रूपमा मनाउने घोषणा गर्नु केवल एक औपचारिक निर्णय मात्र होइन, ग्रामीण अर्थतन्त्र पुनर्जीवनको महत्वपूर्ण अवसर हो । विशेषगरी होमस्टे सर्किटलाई मुख्य आकर्षण बनाइनु समयानुकूल र दिगो पर्यटनको सही दिशातर्फको कदम मान्न सकिन्छ । बन्दीपुर आफैंमा इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम संगम हो। नेवारी बजारको मौलिक स्वरूप, ढुंगे बाटो, परम्परागत घर, थानीमाई मन्दिर, सिद्ध गुफा जस्ता आकर्षणले बन्दीपुरलाई स्थापित गन्तव्य बनाइसकेको छ । तर अब चुनौती केवल बन्दीपुरभित्र सीमित रहनु होइन, वरपरका गाउँहरूलाई समेत समेट्दै पर्यटनको लाभ गाउँ–गाउँसम्म पु¥याउनु हो। यही कारणले होमस्टे सर्किटमा आधारित सामुदायिक पर्यटन अवधारणा महत्वपूर्ण बनेको छ ।
ग्रामीण पर्यटनको मूल आत्मा भनेकै स्थानीय समुदाय हो । गाउँले आफैं आतिथ्यकर्ता बन्ने, आफ्नै घर, खानपान, संस्कृति र जीवनशैली पर्यटकसँग बाँड्ने मोडेलले पर्यटनलाई केवल हेर्ने वस्तु होइन, अनुभव गर्ने संस्कृतिमा रूपान्तरण गर्छ। तर यस्तो अवधारणा सफल हुन घोषणामात्र पर्याप्त हुँदैन। यसलाई व्यवहारमा उतार्न योजनाबद्ध तयारी, स्पष्ट कार्ययोजना र निरन्तर प्रतिबद्धता आवश्यक हुन्छ । सबैभन्दा पहिलो आवश्यकता हो– पर्यटन पूर्वाधारको सन्तुलित विकास। ग्रामीण पर्यटनको नाममा अनावश्यक कंक्रिट संरचना निर्माण गरेर गाउँको मौलिकता नष्ट गर्नु आत्मघाती हुनेछ। पदमार्ग, सूचना पाटी, सरसफाइ, सुरक्षित खानेपानी, आधारभूत स्वास्थ्य र सञ्चार सेवा जस्ता न्यूनतम पूर्वाधारले नै ग्रामीण पर्यटनलाई बलियो बनाउन सक्छ । होमस्टे सञ्चालनका लागि निश्चित मापदण्ड तोकेर गुणस्तर सुनिश्चित गर्नु पनि उत्तिकै जरुरी छ।
दोस्रो महत्वपूर्ण पक्ष हो– पर्यटन जनशक्ति उत्पादन। पर्यटन पूर्वाधार भन्दा पनि मानव संसाधन यसको मेरुदण्ड हो। स्थानीय युवालाई गाइड, होमस्टे सञ्चालक, सांस्कृतिक प्रस्तोता, डिजिटल प्रचारकका रूपमा तालिम दिन सके पर्यटन रोजगारीको प्रमुख आधार बन्न सक्छ । यसले वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्ने मात्र होइन, गाउँमै भविष्य देख्ने वातावरण पनि बनाउँछ । महिला, दलित तथा सीमान्तकृत समुदायको सक्रिय सहभागिता बिना सामुदायिक पर्यटनको परिकल्पना अपूरो रहन्छ। ग्रामीण पर्यटनलाई कृषि र रैथाने बालीसँग जोड्न सक्नु अर्को महत्वपूर्ण आधार हो। ढिँडो, गुन्द्रुक, कोदो, फापर, मकै, लोकल तरकारी र मौसमी फलफूलजस्ता परिकार होमस्टे मेनुमा अनिवार्य गरिनुपर्छ। यसले पर्यटनसँगै रैथाने बाली संरक्षण, खाद्य सुरक्षाका साथै किसानको आयसमेत बढाउँछ । “खेतदेखि थालसम्म”को अवधारणाले पर्यटकलाई पनि फरक अनुभव दिन्छ ।
मौलिक कला र संस्कृतिको पुस्तान्तरण बिना ग्रामीण पर्यटन दीर्घकालीन हुन सक्दैन। घाटु, कौरा, चुड्का, रोदी, लोकवाद्य, परम्परागत पोशाक र चाडपर्वलाई केवल देखावटी कार्यक्रममा सीमित गर्नु हुँदैन । विद्यालयस्तरदेखि नै संस्कृति सिकाउने, ज्येष्ठ पुस्ताबाट युवा पुस्तामा ज्ञान हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सके संस्कृति जीवित रहन्छ र पर्यटनको बलियो आधार बन्छ । आजको युगमा डिजिटल मार्केटिङ बिना पर्यटन कल्पना गर्न सकिँदैन। तर यहाँ पनि सतर्कता आवश्यक छ। प्रचार भन्दा पनि गाउँको कथा, मान्छेको कथा, जीवनशैलीको कथा बेच्न सक्नुपर्छ। सामाजिक सञ्जाल, भिडियो, भ्लग, वेबसाइटमार्फत एकीकृत रूपमा “ग्रामीण बन्दीपुर” को पहिचान निर्माण गर्न सके आन्तरिक तथा बाह्य दुवै पर्यटक आकर्षित गर्न सकिन्छ ।
अन्ततः ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६ सफल हुने कि नहुने भन्ने कुरा समन्वय र निरन्तरतामा निर्भर हुन्छ। गाउँपालिका, छिमेकी पालिका, निजी क्षेत्र, सहकारी र स्थानीय समुदायबीच स्पष्ट भूमिका बाँडफाँट हुनुपर्छ। भ्रमण वर्ष सकिएपछि पनि निरन्तर चलिरहने संरचना र नीति नबने यो पहल एक वर्षे उत्सवमै सीमित हुने जोखिम रहन्छ । ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६ बन्दीपुरका लागि अवसर मात्र होइन, दायित्व पनि हो । यदि यो अभियान योजनाबद्ध, समावेशी र दिगो ढंगले अघि बढाइयो भने बन्दीपुर र वरपरका गाउँहरू “घुमेर फर्कने” होइन, “बस्न मन लाग्ने” गन्तव्य बन्न सक्छन् । यही नै ग्रामीण पर्यटनको वास्तविक सफलता हुनेछ ।










