लेनिनवादको उदयले उज्ज्वल मानव भविष्यको आशा
सुरेशकुमार पाण्डे

संसारमा यस्ता व्यक्तिहरू विरलै भेटिन्छन्, जसले आफ्नो सम्पूर्ण जीवन मानव समाजको हितका लागि समर्पित गरेका हुन्छन्। आजको युगमा त यस्ता व्यक्तिहरू झन् दुर्लभ हुँदै गएका छन्। अठारौँ र उन्नाइसौँ शताब्दीमा मानव समाजको उन्नतिका लागि चिन्तन गर्ने महान दार्शनिकहरूको उदय विशेषतः जर्मनीमा भएको देखिन्छ। त्यो भूमिमा जन्मिएका दार्शनिकहरूले विश्वलाई नयाँ दृष्टिकोण प्रदान गरे।
धनी झन् धनी र गरिब सधैं गरिब किन भइरहन्छन् भन्ने प्रश्नले मानव समाजलाई लामो समयदेखि घेरिरहेको छ। गहन अध्ययन र विश्लेषणपछि यसको उत्तर खोजियो। जसले यस्तो राजनीतिक र सामाजिक संरचनाको विश्लेषण गरे, ती महान दार्शनिकहरू थिए। समाजलाई बुझ्नका लागि त्यसलाई हुनेखाने र हुँदा खाने, शोषक र शोषित वर्गमा विभाजन गरेर हेर्नुपर्ने आवश्यकता देखियो। किनकि सबै मानिसलाई समान अधिकार, बाँच्ने आधार र स्रोतमा पहुँच सुनिश्चित नभएसम्म न्यायपूर्ण समाज सम्भव हुँदैन।
मानव समाज आदिमकालदेखि नै संघर्षरत छ– कहिले प्रकृतिसँग, कहिले आफ्नै संरचना र विचारसँग। जीवन स्वयं संघर्ष हो। तर समाजलाई दुई वर्गमा स्पष्ट रूपमा छुट्याउनु भने सजिलो काम होइन। मकैको आटोलाई सुपामा छानेजस्तै मानिसहरूलाई वर्गमा विभाजन गर्नु सैद्धान्तिक रूपमा सम्भव भए पनि व्यवहारमा जटिल हुन्छ।
विश्व समाजमा मूलतः दुई वर्ग देखिन्छन्– धनी र गरिब। गरिबहरूले श्रम गर्छन्, पसिना बगाउँछन्, तर शोषक वर्गले उनीहरूको श्रमबाट लाभ उठाएर धन आर्जन गर्छ। यस विषयमा सदियौँदेखि बहस र अनुसन्धान हुँदै आएको छ।
यसै क्रममा श्रमजीवी वर्गको हितका लागि राजनीतिक दर्शनको विकास भयो, जसलाई जर्मन दार्शनिक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले प्रतिपादन गरे। सन् १८४८ मा उनीहरूले …कम्युनिस्ट घोषणापत्रÚ सार्वजनिक गर्दै वर्गसंघर्षमा आधारित समाज परिवर्तनको सिद्धान्त अघि सारे।
आज पनि केहीले प्रश्न उठाउँछन्– ‘विदेशी विचार किन अपनाउने ?’ तर विज्ञान र दर्शन कुनै देश विशेषका हुँदैनन्। ती मानव समाजको साझा सम्पत्ति हुन्। जसरी भौतिक विज्ञान सार्वभौमिक हुन्छ, त्यसैगरी सामाजिक विज्ञान पनि विश्वव्यापी महत्व राख्छ।
सन् १८७१ मा फ्रान्सको राजधानी पेरिसमा ‘पेरिस कम्यून’ स्थापना भई माक्र्सवादी दर्शनको प्रयोगात्मक अभ्यास भयो। यद्यपि ७२ दिनमै त्यो असफल भयो, तर त्यसले विश्वलाई महत्वपूर्ण शिक्षा दियो- वर्गसंघर्षको निरन्तरता र सशक्त नेतृत्व बिना परिवर्तन सम्भव हुँदैन।
मानव इतिहासमा यस्ता प्रयोगहरूले नयाँ दिशानिर्देश दिएका छन्। जस्तै, नेपालमा जन्मिएका गौतम बुद्धको दर्शन विश्वभर फैलिएको छ। तर प्रश्न उठ्छ- के शोषण गर्नेहरूसँग पनि प्रेम गर्नुपर्छ? शोषणमा आधारित सम्बन्ध मानवताविरोधी हुन्छ। त्यसैले न्यायका लागि संघर्ष अपरिहार्य हुन्छ।
माक्र्स र एंगेल्सद्वारा प्रतिपादित सिद्धान्तलाई व्यवहारमा उतार्ने कार्य सन् १९१७ मा भ्लादिमिर इल्यिच लेनिनले रूसमा सम्पन्न गरे। ‘महान अक्टोबर समाजवादी क्रान्ति’ले पहिलोपटक शोषित वर्गलाई सत्तामा पु¥यायो। यो लामो संघर्ष, त्याग र बलिदानको परिणाम थियो।
यस क्रान्तिको प्रभाव चीन, भियतनाम, मंगोलिया, भारत, नेपाललगायतका देशहरूमा देखियो। कतिपय देशमा कम्युनिस्ट शक्ति सत्तामा पुगेर विकासका नयाँ आयामहरू स्थापित भए। तर यसै क्रममा कम्युनिस्ट आन्दोलनभित्रै विभाजन पनि देखा प¥यो- क्रान्तिकारी र संशोधनवादी धारबीचको संघर्षले जनतामा भ्रम सिर्जना ग¥यो।
कम्युनिस्ट आन्दोलनभित्र अवसरवाद, दक्षिणपन्थ र मध्यमपन्थी सोचले पनि असर पारे। प्रतिक्रियावादी शक्तिहरूले प्रत्यक्ष रूपमा परास्त गर्न नसकेपछि पार्टीभित्रै विभाजन सिर्जना गर्ने रणनीति अपनाएका उदाहरणहरू छन्। सोभियत संघमा निकिता ख्रुश्चेभको भूमिका त्यसैको एउटा उदाहरण मानिन्छ, जसले समाजवादी मार्गलाई विचलित ग¥यो।
लेनिनको निधनपछि स्टालिनले समाजवादी व्यवस्थालाई संस्थागत गर्ने प्रयास गरे। तर पछिल्लो समय विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको देखिन्छ, जसको कारण आन्तरिक कमजोरीहरू नै हुन्।
यद्यपि गरिब, श्रमजीवी, महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने सिद्धान्तका रूपमा कम्युनिज्म अझै पनि प्रासंगिक छ। समस्या यसको सिद्धान्तमा होइन, त्यसको सही कार्यान्वयन र जनस्तरमा बुझाइको अभावमा छ।
नेपालमा वर्गसंघर्ष किन सफल हुन सकेन भन्ने विषय गम्भीर अध्ययनको माग गर्छ। विश्वका विभिन्न देशहरूमा सफल र असफल प्रयोगहरू भएका छन्। तर हाम्रो सन्दर्भमा आवश्यक आधार, नेतृत्व र स्पष्ट दिशा अभाव देखिन्छ।
पूर्ण रूपमा कम्युनिस्ट व्यवस्था लागू नभए पनि आजका धेरै राजनीतिक एजेन्डाहरू यही विचारबाट प्रभावित छन्। यस अर्थमा भन्न सकिन्छ– लेनिनवाद र माक्र्सवादले मानव समाजलाई न्याय, समानता र मुक्तिको बाटो देखाएको छ, जसले उज्ज्वल भविष्यको आशा जगाइरहेको छ।










