सम्पादकीय : थानीमाई मन्दिर – आस्था, सौन्दर्य र सद्भावको अद्वितीय धरोहर

तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिर आज केवल पूजा–आराधनाको स्थान होइन, आस्था, विश्वास, सद्भाव र सौन्दर्यको संगम बनेको छ। चार सय वर्षभन्दा अगाडिदेखि स्थानीय समुदायको जीवनसँग गाँसिएको यो तीर्थस्थल अहिले देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गन्तव्य बनेको छ । वि.सं. १८२५ तिर भोटेनी आमाछोरी हावाहुरीमा परेपछि अन्तध्र्यान भएको किंवदन्तीले सुरु गरेको यो मन्दिर आज जनआस्थाको केन्द्र बनिसकेको छ । कात्तिक महिनाका मंगलबारहरूमा यहाँको दृश्य अत्यन्तै भव्य र रमाइलो हुन्छ । यस वर्ष मात्रै दोस्रो, तेस्रो र चौथो मंगलबार बीस हजारभन्दा बढी भक्तजनले थानीमाईको दर्शन गरेका छन् । २१० वटा फूलको डोली विभिन्न जिल्लाबाट बोकेर आएका भक्तजनले परिक्रमा गर्दै ‘थानीमाईको जय जयकार’ गुञ्जाएपछि वसन्तपुर डाँडा धार्मिक उल्लासले भरिन्छ । तनहुँ, लमजुङ, गोरखा, चितवन, काठमाडौं, कास्की र नवलपरासीसम्मका भक्तजनले फूलको डोलीसहित पूजा–अर्चना गर्ने परम्परा जीवित छ । विश्वास छ– थानीमाईलाई फूलको डोली चढाउनेले मनोकामना पूरा पाउँछन् ।
मन्दिरको आस्थासँगै यहाँको सामाजिक संरचना पनि उदाहरणीय छ । यहाँ जातीय भेदभाव छैन, सबै धर्मावलम्बीहरूको समान पहुँच छ । मन्दिरमा मगर समुदायका पूजारीहरू छन्, दलित र अन्य समुदायका भक्तजन बराबरी श्रद्धासाथ प्रवेश गर्छन् । यहाँ बलि चढाइँदैन, जसले मन्दिरलाई सफा र शान्त बनाएको छ । थानीमाई मन्दिर सद्भाव र सहअस्तित्वको जीवन्त प्रतीक बनेको छ– जहाँ ब्राह्मण, क्षत्री, मगर, नेवार, दलित र मुस्लिमहरू एउटै आस्थाको छातामुनि भेटिन्छन् । मन्दिरसँग जोडिएको जनश्रुति पनि रोचक छ । भोटबाट आएकी आमाछोरीले गाउँलेबाट बास नपाएर कटुसको रुखमुनी बिताएको रात र त्यसपछि आएको विपत्ति– यी कथाहरूले यहाँको धार्मिक चेतनामा गहिरो प्रभाव पारेका छन्। त्यही घटनालाई देवत्वको रूपमा स्वीकार्दै जमलसिंह पाटामगरले सपनामा पाएको सन्देशअनुसार पूजाआजा सुरु भयो र थानीमाईको आराधना सुरु भई आजसम्म निरन्तर रहँदै आएको छ ।
२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पु¥याएको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १४ लाख र मन्दिरको भेटीबाट संकलित रकम गरी करिब २० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । अहिले मन्दिरको पर्खाल र अन्य संरचना अझै सुदृढ पार्ने योजना छ, तर स्रोतको अभावले रोकिएको छ । त्यस्तो अवस्था भए पनि व्यवस्थापन समितिले मन्दिरको आम्दानीबाट खानेपानी, शौचालय, पौवा र भक्तजनका लागि बस्ने व्यवस्था जस्ता आवश्यक पूर्वाधार तयार पारेको छ । हरेक वर्ष करिब पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको र त्यसैबाट पूजारी र कर्मचारीको पारिश्रमिक व्यहोर्ने गरिएको समितिले बताएको छ । मन्दिरको धार्मिक आस्था र विश्वाससंगै भौगोलिक र प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई लोभ्याउँछ । समुद्री सतहबाट करिब १,२०० मिटर उचाइमा रहेको मन्दिरबाट हिमालको सेता श्रृंखला, गोरखाको लिगलिग कोट, पालुङटार, राइनसकोट, तनहुँसुर दरबार, मिर्लुङकोटदेखि छिम्केश्वरीसम्मको विहङ्गम दृश्य एकै नजरमा अवलोकन गर्न सकिन्छ । यहाँको हिमाल छोएको बतास र हरियाली डाँडाकाँडा धार्मिकता मात्र होइन, ध्यान र विश्रान्तिको पनि अद्भुत वातावरण दिन्छ ।
थानीमाई मन्दिरमा पुग्ने बाटो भने कच्चिनै छ । डुम्रे–बेसिशहर सडकखण्डको अर्चलधारासम्म पिच सडक र त्यहाँबाट लौडारी भञ्ज्याङ हुँदै १६ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । वैकल्पिक रूपमा डुम्रे–भन्सार हुँदै चुँदी टुहुरेपसल र चन्द्रावतीतर्फको बाटो पनि छ । यसअघि भक्तजन हिँडेरै फूलको डोलीसहित पुग्थे, अहिले भने सवारी सुविधाले यात्रा सहज बनाएको छ । थानीमाई मन्दिर तनहुँको मात्र नभई गण्डकी प्रदेशकै धार्मिक–पर्यटकीय सम्पदाको महत्वपूर्ण केन्द्र बन्न सक्ने क्षमता राख्छ । यहाँको सांस्कृतिक परम्परा, प्राकृतिक दृश्य र धार्मिक समावेशिताले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने सम्भावना प्रष्ट छ । भानु नगरपालिकाले मन्दिर क्षेत्रको पूर्वाधार, सडक र प्रचारमा प्राथमिकता दिएको बताएको छ, तर त्यो पर्याप्त छैन । अझ योजनाबद्ध पर्यटन पूर्वाधार, नियमित प्रचार–प्रसार र स्थानीय सहभागिताको सशक्त संयोजन आवश्यक छ । थानीमाई मन्दिर आस्थाको केन्द्र मात्रै होइन– सामाजिक सद्भाव, जातीय सहिष्णुता र प्रकृतिप्रेमको सुन्दर उदाहरण हो । तनहुँको पहिचान बोकेको यो धरोहरलाई देशकै धार्मिक–पर्यटकीय केन्द्रका रूपमा रुपान्तरण गर्न सके, यो केवल तनहुँको गौरव होइन, नेपालको पनि शान बन्न सक्छ ।










