व्यास नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर १ गतेदेखि सञ्चालन गरिने

दमौली : तनहुँको व्यास नगरपालिकाको आयोजनामा सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता व्यास–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा मंसिर १ र २ गते हुने व्यास नगरपालिका खेलकुद शाखाले जनाएको छ ।
स्थानीय तह स्तरीय प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार नगर क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्रा सहभागी हुनेछन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र कराते (सितेरिया) खेलहरू सञ्चालन गरिने बताइएको छ ।
विद्यालयहरूले खेलाडी छनोट गरी कार्तिक ३० गतेभित्र तोकिएको फारमसहित निर्मल माध्यमिक विद्यालयको प्रशासन शाखामा पेश गर्नुपर्नेछ । चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म अध्ययनरत र २०६४ मंसिर १ पछि जन्मिएका विद्यार्थीहरू मात्र प्रतियोगितामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।
खेलाडीहरूले विद्यालयको झण्डा र औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने र अनुशासित ढंगले प्रतियोगितामा सहभागी गराउनुपर्ने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको उद्घाटन मंसिर १ गते बिहान ११ः३० बजे हुनेछ । सोही दिन बिहान ८ बजेदेखि एथलेटिक्सतर्फ १०० मि., २०० मि., ३००० मि. दौड, सटपुट र लङजम्प प्रतियोगिता सञ्चालन गरिनेछ । करातेमा तौल वर्ग अनुसार छात्र–छात्रा प्रतियोगिता हुने कार्यक्रम रहेको छ ।
विद्यालयहरूले खेलाडीहरूको नामावली, जन्ममिति प्रमाणपत्र र फोटोसहितको विवरण हार्डकपी तथा सफ्टकपी दुवै माध्यममा दर्ता गराउनुपर्ने व्यास नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाका अनुसार, यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रदेश तथा राष्ट्रिय स्तरका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरको प्रतिनिधित्व गर्नेछन् । नगरपालिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको सो प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, खेल भावना र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।










