दराइहरुको अन्तिम संंस्कारमा फूलपातीको महत्व
देव वस्न्यात

विषय प्रवेश
बेलायतबाट फर्किएको दस–बाह्र दिनमै तनहुँका बत्तिस दरै गाउँको एक रोचक सांस्कृतिक परम्परामा सहभागी हुने अवसर मिल्यो। दराइ समुदायमा तिहार आउनुभन्दा अघिल्लो शनिवार ‘सोहोर्याई’ गर्ने गहिरो परम्परा रहिआएको छ। सोहोर्याईका दिन पितृका लागि रातो ढड्डी (बाँसका छड) प्रयोग गरी टाँटी बनाई फूलले सजाउने प्रचलन छ । पितृ स्मरणमा छोरी–नातिनी (त्रिलयापुत्री)हरुले तर्पण गरेपछि साँझ नजिकको जलाशयमा फूलो सेलाउने चलन छ। सोहोर्याईपछि आइपुग्ने औंसीलाई दराइ समुदायले त्यो वर्षको पितृकर्म समापन गर्ने अन्तिम दिन मान्ने तथ्य उल्लेखनीय छ ।
यदि औंसीको भोलिपल्ट कसैको मृत्यु भयो भने त्यो घरको वरखी आगामी तिहारको औंसीमा मात्र खोलिन्छ। समुदायमा मृत्यु भएको घरले मात्र फूलपाती लिने चलन छ– मृत्यु नभएका घरले फूलपाती लिँदैनन्। मृतक घरका दाजुभाइ तथा छिमेकीले मात्र बाटा–बारी तथा डिलका फूल टिपेर समाज घरमा ल्याउने व्यवस्था छ। फूलपाती जम्मा भएपछि क्रियापुत्रीलाई टिका लगाएर शुद्धीकरण गरिन्छ ।
नेवार समुदायको गाइजात्रासँग केही समानता देखिए पनि दराइहरूको सोहोर्याईमा आफ्नो छुट्टै मौलिकता पाइन्छ। औंसीभन्दा अघिल्लो शनिवार सोहोर्याई गरी औंसीका दिन पितृकर्म समापन गर्ने यो संस्कार समुदायमा गहिरो विश्वाससहित चल्दै आएको छ। तिहारको औंसीका दिन फूलपाती टिपेर क्रियापुत्रीलाई टिका लगाइएपछि वर्षभर गरिने सबै पितृकर्म सम्पन्न हुने मान्यता रहनु दराइ समाजको सांस्कृतिक विशिष्टता हो। यसपालि दराइ समुदायका यमबहादुर दरैले विशेष आग्रह गरेपछि व्यास–१ भादगाउँस्थित समाज भवनमा आयोजना गरिएको फूलपाती कार्यक्रममा सहभागी हुँदै मैले यो संस्कृति नजिकबाट अध्ययन गर्ने अवसर पाएँ ।
सोहोर्याई भन्नाले के बुझिन्छ ?
सोह्रवन्धनबाट सोहोर्याई, सोहोर्याई गर्ने बेलामा औंसी अघिल्लो शनिवारका दिन दराइहरुले रातो रङ्गको ढड्डी सङ्कलन गरेर पितृको फूलो राख्ने घर बनाउँदछन्। यही टाँटी बनाउने सुरु गर्दा, मध्यकालीन समय र टाँटी बनाइ सके पछिको बेलामा दरैहरुले गाउने गीतमा सोहै्रवन्धन शब्दलाई विशेष जोड दिएरगाउने गर्दछन् । कतै पितृलाई बस्न बनाइएको टाटीमा राखिएको सोह्रैवन्ँधन गीतको बोलशब्द अपभ्रंश भई सोहोर्याई भनिएको होला कि भनी सहजै अनुमान गर्न कुनै अतिसयोक्ति नहोला ।
सोह्रराँगीबाट सोहोर्याई
तनहुँका दराइहरुले पितृहरुको सम्झनामा कालो सुङ्गुरलाई मियोमा बाँधेर मंसिरमा धानको दाइ गरे झैं घुमाउने र आफन्तहरु आफ्ना पितृको नाम तथा साइनोले सुगुरलाई बोलाउँदै अङगालो मारेर रुने कराउने गर्दथे । यसरी मियोमा बांधिएको सुंगुरलाई राँगी भन्ने गरिन्छ । पितृका यी सोह्र दिन एवं राँगीलाई संयुक्त शब्दमा संवोधन गर्दा सोह्रराँगी भन्न थालियो होला । कालन्तरमा त्यही शब्द अपभ्रंश भइ सोहो¥याइ भएको हो की भनी अनुमान गर्न सकिन्छ ।
सोह्रश्राध्दबाट सोहोर्याई
नेपाली खस–आर्य समाजमा दशैं अगाडिको आश्विन कृष्ण पक्षमा सोह्रश्राद्ध गर्दछन । तर नेपाल तथा भारतमा बस्ने दरैहरुले सोह्रश्राद्धको विकल्पमा उनीहरुकै भाषामा कार्तिक कृषण पक्ष सोहोर्याई पाब्नी मनाउँछन् । आर्यहरु सोह्रश्राद्धको समयमा पितृहरु पितृलोकबाट पृथ्वीको गोलार्द्धको नजिकै भएर परिक्रमा गर्ने भएकाले यही समयम नै पितृश्राद्धको उपयुक्त समय मानी सोह्रश्राद्ध गर्ने परम्परन बसालेका छन् । त्यही सोह्रश्राध्दको समयमा श्रध्दा गर्न नभ्याउँदा सो को लगतै आउने कार्तिक महिनाको कृष्णपक्षको समयमा पितृकार्य गरेको अनुमान सम्म गर्न सकिन्छ तर एकिन भन्न सकिंदैन ।
चन्द्रमाको सोह्रकलाबाट सोहोर्याई
नेपाली पात्रो चन्द्रमासमा निर्भर गर्दछ। हरेक पक्षमा १५ दिन रहने गर्दछ । हरेक १५/१५ दिन पश्चात कहिले पूर्णिमा र कहिले औंशी तिथि पर्न आउँछ । पूर्णिमादेखि औंसी सम्म चन्द्रमाका सोह्रकला देखिने भएकाले यस पक्ष भित्र मृत्युवरण गरेका आफ्ना पितृका सम्झनामा गरिने सोह्रवटा श्राध्दलाई दराइ लवज एवं भाषामा सोहोर्याई भनिएको अनुमान गनै सकिएता पनि पुष्टि गर्न गाह्रो पर्दछ ।
दशैं पछि तिहारमा नै दरैहरुले किन सोहोर्याई गर्छन ?
विशेष गरेर नेपाली समाजमा दशैंको सप्तमीका दिन फूलपाती भित्र्याउने प्रचलन रहेको छ । दशैंको बेलामा यहाँका दरैहरुले पनि नेपालीहरुको महानचाड विजयदशमीको पावन अवसरमा फूलपाती भित्र्याएर दशैंको टिका ग्रहण गर्न चुक्दैनन् तथापि कार्तिक कृष्णपक्षमा औंसी अगाडिको शनिवारका दिन पितृको विर्सजन गरेपश्चात तिहारे औंसीका दिन जुठोमा रहेका आफ्ना भाइ भारदारहरुलाई चोख्याउन सामुहिक रुपमा फूलपाती भित्र्याउने गर्दछन् । फूलापती भित्र्याएर टिकाटालो गरे पछि मात्र जुठोमा रहेका परिवारले देवी देवताको मन्दिरमा पूजा आरधना, विवाह, व्रतवन्ध लगायतका शुभकार्यहरु गर्न खुल्ने भएकाले हर्षोेलासका साथ फूलपाती भित्र्याउने काम गरेको कुरा दरै उत्थान समाजका केन्द्रीय उपाध्यक्ष चीजबहादुर दरैले हामीलाई बताए ।
दरै समाजमा कसरी फूलपाती भित्र्याइन्छ भनेर दरैसमाज घरमा हामी साँझको ४ बजे तिर पुग्दा दरै समाजका दाजुभाइ दिदी बहिनी समाज घरमाफूलपाति संकलन गर्न जम्मा भइसकेका थिए । दराइ जातिका चेली ममाली र छिमेकी चेलीबेटी छोरी बुहारी दसराइ समाज घरमा जम्मा भइ गाइ तिहारको दिन फूल संकलन गर्नु पूर्व, फूल टिप्दा र फूल टिपेर ल्याइसकेको र पितृ तारणको लागि सन्दर्भमा निम्नानुसारको गीत गाउने प्रचलन रहेको पाइन्छ ।
गाइ तिहारमा गाइने गीत– प्रथमखण्ड : फूल टिपेर ल्याउन अनुरोध
ल्याउमा ल्याउ चेचेमेचे फूल गाइको तिहारैमा
ल्याउमा ल्याउ कदम्वरी फूल गाइको तिहारैमा
ल्याउमा ल्याउ गुरद्यौलीे फूल गाइको तिहारैमा
टिपमा टिप सयपत्री फूल गाइको तिहारैमा
टिपमा टिप मखमली फूल गाइको तिहारैमा
टिपमा टिप बेलपत्री फूल गाइको तिहारैमा
टिपमा टिप लालुपाते फूल गाइको तिहारैमा
दोश्रोखण्ड– आफैनै बारीमा फूल टिप्नु पर्ने सन्देश
ल्याउमा ल्याउ चेचेमेचे फूल आफन्तकै बारीमा
टिपमा टिप कदम्वरी फूल आफन्तकै बारीमा
टिपमा टिप गुरद्यौलीे फूल आफन्तकै बारीमा
टिपमा टिप सयपत्री फूल आफन्तकै बारीमा
टिपमा टिप मखमली फूल आफन्तकै बारीमा
टिपमा टिप बेलपत्री फूल आफन्तकै बारीमा
टिपमा टिप लालुपाते फूल आफन्तकै बारीमा
ल्यायोमा ल्यायो चेचेमेचे फूल गाइको तिहारैमा
तेश्रो खण्ड– गाइको तिहारमा फूल टिपी ल्याएको
ल्यायोमा ल्यायो चेचेमेचे फूल गाइको तिहारैमा
ल्यायोमा ल्यायो कदम्वरी फूल गाइको तिहारैमा
ल्यायोमा ल्यायो गुरद्योली फूल गाइको तिहारैमा
ल्यायोमा ल्यायो सयपत्री फूल गाइको तिहारैमा
ल्यायोमा ल्यायो मखमली फूल गाइको तिहारैमा
ल्यायोमा ल्यायो बेलपत्री फूल गाइको तिहारैमा
ल्यायोमा ल्यायो लालुपाते फूल गाइको तिहारैमा
चौथोखण्ड टिपेको फूल पितृतारण
तारुमा तारु चेचेमेचे फूल गाइको तिहारैमा
तारुमा तारु कदम्वरी फूल गाइको तिहारैमा
तारुमा तारु गुरद्यौली फूल गाइको तिहारैमा
तारुमा तारु सयपत्री फूल गाइको तिहारैमा
तारुमा तारु मखमली फूल गाइको तिहारैमा
तारुमा तारु वेलपत्री फूल गाइको तिहारैमा
कहाँ होला छेवैमा छोपेको चिसोपानी
कहाँ होला धर्मस्थली छेवैमा छोपेको चिसोपानी
फूलो सेलाउने काम समापन पछि औंसीका लिान फूलपाती टिप्न जाँदा गाइने सोहोर्याई गीत
फूलपाती टिप्न जाने बेलामा मृतक परिवारका जुवाइ चेला पर्ने दरैहरुले माङ्गल गीतका साथ दरैका आफ्ना परम्परागत मादल एवं, बासीको धुन बजाउँदै मूलघरको प्राङगणमा तीन पटक घुमेर फूलपाती संकलनका लागि अगाडि बढेको पाइयो । फूलपाती जम्मा गर्दा सर्वप्रथम गुरुले गीत भट्टयाए पछि फूलपाती यात्रामा सहभागी ज्वाईचेला, ससुराली, मामाली र अन्य दाजुभाइ दिदी बहिनीहरुले मादल र बासीको धुनको तालमा स्वरमा स्वर मिलाएर गीत गाउँदै र नाच्दै अगाडि बढदछन् भने फूपुचेलच मामाचेला, ज्वाईचेला र छिमेकी दाजुभाइहरु छिमेकीको घरवारीका बारीका डिल तथा बारीमा फुलेका फूलहरु टिपेर एक भाइले बोकेको दोसल्लाले छोपेको नाङ्ग्लोमा फूल सङ्कलन गरेर राख्ने गर्दछन् । फूलो समापनपछि औंसीका दिन फूलपाती टिप्न जाँदा गाइने सोहोर्याई गीत निम्नानुसार रहेको छ
(श्रोतसंकलक– ठाकुर दरै, गायक–शम्शेरलाल दरै र जमुना दरै)
१, हा…. हो… टिपिमा ल्याउ है चेचेमेचे फूलुवा सहेर बिरुवा हो मरी गइलाई मुँगेमुँगे बासन ।
२, टिपिमा ल्याउ है चेचेमेचे डालिया सहेर बिरुवा हो मरी गइलाई् मुँगेमुँगे बासन ।
३, हो टिप अरे ऐ साँवेले फूलुवा सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
४, हो टिपअरे ऐ पिपलपाते डालिया सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
५, हो टिपअरे ऐ मखमली फूलुवा सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
६, हो टिपअरे ऐ बरपाते डालिया सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
७, हो टिपअरे ऐ लालुपाते फूलुवा सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
८, हो टिपअरे ऐ बेलपाते डालिया सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
९, हो टिपअरे ऐ चिचिगाले फूलुवा सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
१०, हो टिपअरे ऐ कदंमेरी डालिया सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
११, हो टिपअरे ऐ गुदली फूलुवा सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
१२, हो टिपअरे ऐ स्वामीपातडालियाँ सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन।
१३, हो टिपअरे ऐ बाह्रमासे पुलुवा सहेर विरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
१४, टिपिमा ल्याउ है आमपाते डालिया सहेर बिरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
१५, टिपिमा ल्याउ है चेचेमेचे फूलुवा सहेर बिरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
१६, लाइमा देउ है चेचेमेचे डालिया सहेर बिरुवा हो मरी गइलाई मुँगे मुँगे बासन ।
१७, लाइमा देउ है चेचेमेचे फुलुवा सहेर बिरुवा हो मरी गइलाई संखेमाला चुरिया ।
१८, लाइमा देउ है चेचेमेचे फूलवा सहेर बिरुवा हो मरी गइलाई संखेमाला पोगिया ।
१९, लाइमा देउ है चेचेमेचे डालिया सहेर बिरुवा हो मरी गइलाई संखेमाला चुरिया ।
२१, लाइमा सक्यो है चेचेमेचे फूलुवा सहेर बिरुवा हो मरी गइलाई संखेमाला बागिया ।
२२, लाइमा सक्यो है चेचेमेचे फूलुवा सहेर बिरुवा हो मरी गइलाइ संखेमाला बागिया ।
कृयापुत्रीलाई चोख्यानी
दराइ समाजमा औंसी अगाडिको शनिवारका दिन पितृहरुको फूलो सेलाउने प्रचलन छ । फुलो सेलाएपछि आउने औंसीको दिन गाउँले तथा छिमेकीहरुले मिलेर फूलपाती टिपेर पहिले पहिले मुखियाको घरमा (हाल समाज घरमा) जम्मा गरेर राख्ने गरिन्छ । कृयापुत्रीको परिवारलाई गुंदको गुंदरीमा लाइन लगाएर बसाल्ने गर्दछन् । साँझमा मामाचेला, ज्वाइचेला एवं गाउँका मान्यजन मानिसहरुले कृयापुत्री र उनीहरुको परिवारहरुलाई सेतोबस्त्र त्याग गर्न लगाएर नयाँबस्त्र प्रदान गर्दछन्। यदी महिला कृयापुत्री भएमा उनीहरुलाई रातो रङ्गको बाहेक अन्य रङ्गका बस्त्रहरु लगाउन दिने गरेको पाइन्छ। कृयापुत्रीहरुले नयाँबस्त्र लगाएर गुंदको गुन्द्रीमा लाइनबद्ध भएर बसेका कृयापुत्री लगायत उनीहरुका परिवारलाई समाजका मुखिया तथा गन्यमान्य व्यक्ति एवं मामाचेला तथा फूपुचेलाहरुबाट टिका ग्रहण गरे पछि मात्र सबै गाउँले आपसमा मिली संकलन गरेको त्यही फूलपातीले कृयापुत्री तथा शोकमा रहेका सम्पूर्ण कुटुम्व र परिवारका सदस्यहरुको शिरमाफूलपाती सिउरीदिएर शुद्धशान्ति गर्ने प्रचलन छ। अन्तिममा बाँकी रहेको फूलपाती, जाँडको छोक्राहरुलाई देवाटोमा लगेर धुपदिपका साथ सेलाउने परम्परा रहेको छ । अन्त्यमा त्रिलयापुत्रीहरु समेतलाई टिका तथा फूलपाती, र खानमा जाड एवं कुविण्डोको तरकारी र चटनी प्रदान गरेर शुद्धशान्ति गराउने बैलामा निम्नानुसारको गीत गुञ्जने गर्दछ ।
लाइमा दिया हो हो हो कदम्वरीको फूल
लाइमा दिया हो हो हो गुरद्यौलीको फूल
लाइमा दिया हो बेलैपत्री फूलवा
लाइमा दिया हो मखमली फूलवा
लाइमा दिया हो सयपत्री फूलवा
लाइमा दिया हो होे हौ सयपत्री फूलवा
यस बेलामा भद्रभलादमी तथा मामालीहरुले क्रियापुत्री छोरा भए टोपी र छोरी भए साडी चोलो, टिका तथा सौन्दर्य सामाग्री लगाई दिंदै वर्षभरीको दुःखःको क्रियाकर्म सम्पन्न गरिएको खुसियालीमा आमन्त्रित सबैमा फूलपाती लगाई दिंदै पूजामा उपस्थित सबैजनालाई नाचगानमा सरिक हुन उत्प्रेरित गरिन्छ। दराइ समुदायमा सामुहिक रुपमा वरखी फुकाउने र टिका टालो मन्दिर जान, विवाह लगायतका शुभकार्य खुल्ला हुने कुरा दराइ समाज तनहुँका अध्यक्ष ठाकुर दरैले हामीलाई बताउनु भयो । नाचगान सम्पन्न भए पछि कृयापुत्रीहरुलाई जाँड लगायतका विभिन्न प्रकारका खाना तथा खाजा खुवाउने काम हुने गर्दछ ।










