अँध्यारोबाट उज्यालो तर्फ लम्केको हर्कपुर

देव वस्न्यात

विषय प्रवेश

हर्कपुर तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–७ मा पर्दछ । मनपाङ सरहदका ७५० देखि १०५० मिटर उचाइमा रहेका बजरकोट, डाँडागाउँ, दभुङ, मिजेथुम जस्तै साना ठुला थुमहरु मध्येको एउटा थुम हर्कपुर पनि हो । नेपालमा जहानीय राणा शासन रहदासम्म अमाली अड्डा रहेको हर्कपुर अहिले सम्झनाको खास्टो मात्र बन्न पुगेको छ । दमौलीबाट साँगे रानीटारी हुँदै साँडे ९ किलोमिटर दुरी र पृथ्वीराजमार्ग हुँदै गएमा म्याग्दे गाउँपालिकाको थर्पु बजार नजिकको घुम्ती बजार हुँदै ७ किलोमिटर दुरी पार गरेर मात्र मगरहरुको बाहुल्य रहेको एउटा सुन्दर मगर बस्तिमा पुग्न सकिन्छ । त्यही सुन्दर बस्तिलाई विगतदेखि हालसम्म हर्कपुर भनेर चिन्ने गरिन्छ ।

पाल्पा, अर्घाखाँची र गुल्मी लगायतका राज्यहरु मिलेर बलिहाङ् रानामगरद्वारा स्वशासित बल्डेङगढी राज्य (अंशवण्डामा हाल पाल्पामा पर्दछ) माथि आक्रमण गरेपछि पलायन हुन बाँध्य भएका मगरहरुको एक टोली भूजिकोट हुँदै हर्कपुर र अर्को थरी मगरहरु थप्रेक हुँदै गलेखामकोट पुगेर बसोबास गरेका हुन् । पाल्पा राज्यको अत्याचार खेप्न नसकेका मगरहरु बल्डेङगढीबाट पलायन भइ पाल्पाको रामपुर, तनहुँको भिमाद, खैरेनी र दुलेगौडाको बाटो हुँदै भूजिकोट, श्याम्घा र साँझामा आइ पुगेका मगरहरुले गलेखामकोट आवाद गरी यस ठाउँलाई हराभरा बनाएको कुरा म्याग्दे–७ हर्कपुर निवासी तोरणबहादुर राना मगरले हामीलाई बताएका थिए ।

गलेखामकोटको हर्कपुरलाई अहिले डाँडागाउँ र हर्कपुर दुई खण्डमा विभाजन गरिएकोे छ । नेपालको बाइसे चौबिसे कालमा गलेखामकोटको अभिन्न अङ्ग रहेको हर्कपुर मनपाङको सरहदमा समेटिन पुग्दा बिस्तारै–बिस्तारै ओझेलमा पर्दैे गएकोमा म्याग्दै गाउँपालिकाको अभिन्न अङ्गमा समेटिन पुगे पश्चात शनै शनै अँध्यारोबाट उज्यालोतर्फ लम्कदै गएको आभास मिलेको छ ।

हर्कपुरमा कसरी पुग्न सकिन्छ ?

दमौलीबाट हर्कपुरसम्म जाने दुईवटा सडक मार्गहरुलाई प्राथमिकतामा राख्न सक्दछौं । जसमा दमौलीबाट कन्टार, सांगेपत्यानी, रानीटारी सांगेथुम हुँदै ९ कि.मि. पार गर्दै हर्कपुर पुग्न सकिन्छ भने अर्कोतर्फ दमौलीबाट पृथ्वीराजमार्गको थर्पुको घुम्ती, माझीलाङ हुँदै ८ किलोमिटर सडकको दुरी पारगर्दै हर्कपुर पुग्न सक्दछौं। अहिले आएर धुम्ती–रानीटारी खण्डको ९.४५२ किलोमिटर पुरै सडक पिच भइसकेकोले अहिले आएर यो सडक भाइरलरोड नामको ख्याति पाउँदै गएको छ । उक्त सडक मार्ग निर्माण कार्य इन्जिनियर मिलन जिसीको प्राविधिक सरसल्लाहमा एमएस गुल्मेश्वर÷पाण्डे एण्ड कम्पनी जेभीले ३४ करोड ५८ लाख ५० हजार २८५ निर्माण कार्य सम्पन्न गरेको देखिन्छ ।

अर्कोतर्फ दुलेगौंडा–हर्कपुर सडक खण्ड निर्माण सम्पन्न गर्न एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा ठेक्का प्राप्त गरेको थियो । दुलेगौंडादेखि दमौलीसम्मको उक्त सडक खण्डको दुरी कुल २३ किलोमिटर रहेको छ। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको सडक निर्माण गर्ने नीति अनुसार दुलेगौंडा हर्कपुर सडक निर्माण कार्यले तिब्रता प्राप्त गरेको हो । दमौलीदेखि हर्कपुरसम्मको साँडे ९ किलोमिटर बाटो पिच भइसकेको छ भने दुलेगौंडा बन्केवाको १०.१८ कि.मि. सडकले पनि निर्माणकै चरण पार गर्दैछ । दुलेगौंडा हर्कपुरको सडकको बन्केवा–हर्कपुर ३.३२ कि.मि.सडक खण्ड अझ पनि अफरोड नै रहेको छ। अन्ततः दुलेगौंडा हर्कपुर सडक स्तरोन्तिको काम वि.सं. २०७६ मार्ग २४ गतेबाट शङ्करमाली जेभीले काम सुरु गरेता पनि हाल सम्म४१ प्रतिसत मात्र काम सम्पन्न भएको देखिंदा शुक्लागण्डकीको गौरवको आयोजना अहिलेसम्म अलपत्र नै छ भन्न सकिन्छ ।

आफैमा म्याग्दे गाउँपालिका

साँच्चै भन्ने हो भने म्याग्दे गाउँपालिकाको कार्यालयबाट यसैको चारैतिर पैदलै हिंडे पनि एक घण्टामा सबै गाउँटोलमा सजिलै पुग्न सकिन्छ । काठमाडौं पोखरा जोड्ने पृथ्वी राजमार्ग म्याग्दे गाउँपालिकाको बीच भू–भाग पारेर गएको पाउँदछौं । खैरेनी बजारको मिलडाँडादेखि भिमाद बजारसम्म, दमौली चापाघाटदेखि मानहुँको कोटमौलासम्म र म्याग्देको घुम्तीबजारदेखि रानीटारीसम्म पिच रोड बनी सकेका छन् भने मानहुँको टाक्राङदेखि बहपुर, किलचोक, डाँकुभञ्ज्याङ, छाङहटिया हुँदै छाक्राक सम्म र वन्केवा, बजरकोट, हर्कपुर शिखरमार्ग जस्ता थुप्रै अफरोडहरु बनेका पाउँदछौं । म्याग्दे खोलाले पूर्व उत्तरतर्फको मनपाङ शाहीपर्वत श्रृङ्खला र दक्षिण पश्चिम तर्फको मानहुँकोट देखि छाक्राक सम्मको प्रख्याति बोकेको लामीडाँडाले बेष्ठित एवं म्याग्दे खोलाबाट सिञ्चित म्याग्दे गाउँपालिका आफैमा तनहुँ जिल्लाको एउटा सुनको कचौरी हो भन्दा कुनै अत्युक्ति नहोला । म्याग्दे बहपुरको नन्दीग्राम, किलचोकको अकला मन्दिर, बाह्रविसेको अकला मन्दिर, दभुङको चण्डी मन्दिर, गुणादीको गुणादी वाराही मन्दिर, माथिल्लो गुणादीको दुर्गामन्दिर, मानहुँ थुम्की मन्दिर, अनन्त लिङ्गेश्वर महादेव मन्दिर, टाक्राङको मनकामना मन्दिर, छाङादि वाराही मन्दिर, शेरा वाराही मन्दिर, छाडको कालभैरव मन्दिर र पाँचपोखरी, बजरकोटको काली मन्दिरहरु म्याग्देका प्रसिद्ध तीर्थस्थलहरु मानिन्छन् भने छाङहटिया, थर्पुबजार, तुरतुरे छविसे बजार र जामुने लगायतका बजारहरु प्रमुख व्यापारिक केन्द्र मानिन्छन् ।

अमाली अड्डा र हर्कपुर

नेपाली वृहत शब्दकोष अनुसार अमाल भन्नाले पहिले पहिले गाउँघरको मुद्दा मामिला हेर्ने र सरकारी तिरो उठाउने अड्डा जनाउँथ्यो भने अमाली भन्नाले अमाल अड्डाको मुख्य हाकिम तथा द्वारेलाई जनाउँदथ्यो। त्यो समयमा धनीमानी मानिसहरुले सरकारसंग अधिकार लिएर आ–आफ्ना गाउँगाउँमा अमाल अड्डा राख्ने गर्दथे । श्याम्घाका धनञ्जय न्यौपाने, इमनाथ पण्डित र श्रीधर भण्डारीहरुले एक आपसमा मिलेर हर्कपुर मुकाम गरी अमाली अड्डा सञ्चालन गरेका थिए । अमाल अड्डाको रवाफ देखाएर अमालीहरुले गाउँका सर्वसाधारण जनताहरु माथि कानुन मिचेर दुःख दिने, जरिवाना गराउने र थुनछेक समेत गर्दथे भन्ने जनोक्ति सुन्नमा पाइन्छ । यस्तैमा अमाली अड्डा हर्कपुरका अमालीहरु धनन्ञ्जय न्यौपाने, श्रीनाथ पण्डित र श्रीधर भण्डारीहरुको चुमीथरका मगरसंग एक आपसमा विवाद चुलिंदै गयो । सो बेला सरकारको अनुमती लिएर खोलिएको अमाली अड्डा हाल तोरण बहादुर रानाले हकभोग गर्दै आएको जग्गामा बङ्गला घर बनाइएको थियो भन्ने कुरा तोरण बहादुर रानाले हामीलाई अवगत गराए । अमाली अड्डा रहेको उक्त घर खण्डहर भएपछि पुरानो घर भत्काइ नयाँ घर बनाइएको कुरा तोरण बहादुर राना मगरले हामीलाइ जानकारी दिए ।

एक पटक चुंदेरका चुमीले सपनकोटको वनबाट चाँपको रुख काटेको अभियोग लगाई अमालीमा नालिस गरियो । चाँपको रुख काटेको अभियोगमा धनञ्जय न्यौपाने, इमनाथ पण्डित र श्रीधर भण्डारीको संयुक्त इजलाशले चुमीको सर्वश्व हरण गर्ने निर्णय गरे । चुमीले आफुलाई अन्याय भयो भनी श्री ३ चन्द्रशमशेरकोमा अमाली विरुद्ध विन्तीपत्र जाहेर गरे । गलत निर्णय गरेको महसुस गरी इमनाथ पण्डित र श्रीधर भण्डारीले माफी मागेता पनि धनञ्जय न्यौपानेले माफी मागेनन । माफी नमागेकोमा चन्द्रशमसेरले धनञ्जय न्यौपानेलाई १२ वर्ष जेल संजाय तोकिदिएका थिए । १२ वर्ष जेल संजाय भोगेका धनञ्ज्य न्यौपानेले चुमी र आफ्नो बीचको मुद्धामा यस प्रकारको श्लोक भन्ने गरेका थिए भनि सर्वत्र सुन्नमा पाइन्छ :

“घरमेरो तनहुँ धनञ्जय म हुँ, मेरो विपत के कहुँ ।
चुमीका धनले,यहाँ सम्म ग¥यो झ्यालखाना पर्ने म हुँ ।”

हर्कपुर नाम रहनका कारणहरु

हर्षका कारण हर्कपुर आज भन्दा ५०० वर्ष पहिला पाल्पा, अर्घा खाँची र गुल्मी राज्यहरुले बल्डेङगढीमाथि आक्रमण गरि दिंदा मगरहरुको स्वतन्त्र राज्य बल्डेङगढीे तहसनहस हुन पुग्यो । पाल्पाको अधिनता स्वीकार गर्न नसकेका राजखान्दानका राना र अन्य मगरहरु पाल्पाबाट पूर्वान्मुख भए । पूर्वान्मुख हुँदै जाँदा गलेखाम राज्यको डाँडागाउँ आइपुग्दा उनीहरुले सन्तोषको सास फेरेका थिए । हर्कपुर आइपुगेका मगरहरु अब त बाँचियो भनेर भँयेर पूजा गरेर हर्ष बढाइ गरे । हर्ष मनाएको स्थान हुनाले त्यही हर्ष शब्दमा पुर शब्द जोडेर यस स्थानको नाम हर्षपुर बन्न पुग्यो । यसैगरी मनको कुरा पु¥याइ दिउन भनि यहाँका स्थानीय निवासी मगरहरुले हरेक वर्ष मार्ग महिनाको पहिलो बुधवार त्राण पाउन मनडाली वनका वन्यजन्तुहरुबाट राहत मिलोस भनि वनदेवीलाई सम्झदै वनडाली, वीरगती प्राप्त गरेका आफ्ना पितृहरुको साथसाथै आफूलाई यस सन्सारमा जन्मदिने बाबा आमालाई सृष्टिकर्ता भगवान सम्झेर बाजेबज्यै पूजा गर्न सुरुआत गरेका थिए। आफ्ना पूर्वजहरुले मनाउँदै आएको आफ्ना परम्परागत संस्कृतिहरुलाई आज पर्यन्त यहाँका मगरहरुले संरक्षण सम्वद्र्धन गर्दै आइरहेका छन् । बेसीमा बस्ने दराइहरुको बाजेबज्यै पूजामा समेतमा मगर पूजारी देखिंदा कतै दराइहरु पनि मगर वंशका सन्तान रहेछन कि भन्ने शङ्का गर्ने बल मिलेको छ ।

रोमहर्ष ऋषिको तपोभूमिबाट हर्षपुर

आजभन्दा झण्डै ५२५० वर्ष पहिले दमौली स्थित गुफामा व्यास ऋषिले चार वेद, अठार पुराण अठार उपुराण र स्मृति ग्रन्थहरुको लिपिबध्द गरेका थिए भने जयग्रन्थ (महाभारत) नामक महाकाव्यको रचना गरेका थिए । त्यही बेला महर्षि वेदब्यासका चेलाका रुपमा चिरपरिचित रोमहर्षले हर्कपुर भन्ने स्थानमा आएर तपस्या गरेका थिए रे । उनै रोमहर्षको तपस्थलीको नामबाट यस स्थानको नाम हर्षपुर अपभ्रंश भइ हर्कपुर रहन गएको संभावन देखिन्छ । (श्रोत : गलेखामकोटदेखि मानहुँकोटसम्म–देव बस्न्यात)

प्रकृति र संस्कृतिको अनुपम संगम थलो मानिने रमणीय गाउँ हर्कपुर

प्रकृतिको अनुपम संगमस्थल हर्कपुर पर्यटकलाई आकर्षित गर्ने प्रमुख तत्वहरु त्यहाँ बसोबास गर्दै आइरहेका स्थानीय निवासी मगरहरु र उनीहरुले अङ्गाल्दै आएको प्राकृतिक स्वभाव र व्यवहरिक संस्कृतिलाई मान्न सकिन्छ । मगरहरुको अत्यधिक बसोबास रहेको हर्कपुर प्रकृति एवं संस्कृतिको अपूर्व संगम थलो पनि हो। हर्कपुरबाट दक्षिण तर्फ बहेकी सेतीमादी नदीको वेनी, साँगेको शिर गलेखामकोट र उत्तरतर्फ शयपत्री फूलको मालाझैं लहर मिलेका धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, मनास्लु हिमाल र बौद्ध हिमालहरुको चुचुरासम्मको भूगोल, गलेखामकोटका दायाँवाया फैलिएका महाभारत पर्वत श्रृंखलाहरु, हर्कपुरबाट साँगे तथा म्याग्देफाँटमा देखिने स्वेतसागर, मादीनदी, साँगे र म्याग्दे खोलाले बनाएका रमणीय उपत्यकाको साथसाथै दमौली बजारका रमणीय दृष्यहरु पनि एकै ठाउँबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । धन्नै धन्नै ७५० मिटर उचाइमा रहेका घरका झ्यालबाट काखैमा लुटपुटिएको सुनौला हिमश्रृंखलाको दृष्य एकोहोरो हरिरहुँ जस्तै लाग्दछ । साँझ र बिहान पखको समयमा देखिने हिमालका सुनौला दृष्यहरुमा लोभिन थाले पछि त जन्मघर फर्कन मन लाग्दैन। अझ साँगेफाँटमा अवस्थित शेरा र रानीटारी बजारको साथसाथै साँगे खोलाको ओडारेदेखि सांँगेपत्यानीको फाँटसम्म मुस्ताङका जगत गौचनले आफ्नै नीजि लागत खनेको सिञ्चाइ कुलो र श्री ५ को सरकारबाट विनियोजित बजेटको सहयोगले पूर्णता पाएको करिव ८ किलोमिटर लामो नहरले चारहजारफाँट र साँगेफाँटलाई हराभरा बनाएको अभूतपूर्व दृष्य पनि हर्कपुरबाटै सहजै अवलोकन गर्न सकिन्छ ।

मगरहरुको आफ्नै संस्कति नाचगान तथा रमाइलो

 मगरहरु प्रकृतिका उपासक हुन । प्रकृतिमा रमेका मगरहरु नाचगानमा पनि बढी सौखिन छन् । रोदी बस्नु र कौरा नाच लगाएर रम्नु उनीहरुको मौलिक विशेषता हो। यस्का साथै यिनीहरु, झ्याउरे तथा ठाडोभाका गीत गाउनु, घाँटु तथा सोरठी नाच गर्नु, औंसी÷पूर्णिमा बार्नु, गाउँका ठिटाठिटीहरु सामुहिक रुपमा नाचगान, साँगे तथा म्याग्दे खोलामा माछा मार्न जानु, जाँडपानी खानु मगरहरुको विशिष्ट रहनसहन र संस्कृति हो । दशैं तिहार, माघे संक्रान्ति, चैते दशै नयाँ वर्षहरु मगरहरुको प्रमुख चाडबाड हुन् भने, भयेंर, मण्डली बाजेबज्यै पूजा आइतवार (मुलुकी) पूजा उनीहरुको परम्परागत रीतिरिवाज एवं चाडपर्वहरु हुन्। यसैले यहाँका मगरहरु गाउँमा आउने जुन सुकै पर्यटकहरुलाई हांसी खुसीका साथ स्वागत गर्न चाहन्छन्। पर्यटकहरुको मनपगालेर पटक पटक दोहो¥याई तेह¥याएर हर्कपुरमा आइरहुन भन्ने बनाउनका लागि यहाँका मगरका ठिटाठिटीदेखि बालबृद्धहरुसम्म माहिर मानिन्छन्। पर्यटकहरुको रोजाइ अनुसार, यहाँका मगरहरुले दोहोरी गीत गाउनकै लागि रोधीघरका व्यवस्था गर्नुको साथसाथै मगरहरुको संस्कृतिका धरोहर मानिने कौरा, घाटु तथा सोरठी, नाचहरुको भरपुर उपयोग गरेर पर्यटकहरुलाई मनोरञ्जन दिन चुक्दैनन् ।

ओस्नी हिमाल हर्षपुर राहर स्वागत जाट्ले फूलटिका लाइडिआर ।।
हेरौं हिमाल हर्षपुर आएर, स्वागत गछौं फूटिका लाएर
चुँदेर, हर्कपुर र फोकसिनका तीन दिदी बहिनीको सामिप्यता

चुन्देर, फोकसिन र हर्कपुरको बीच अनौठो सम्वन्ध रहेको छ । चुँदेरमा चिरीथुम्का र चिरीमाइ मन्दिर रहेको छ भने फोक्सिनमा वाराही मन्दिर रहेको छ । मगर वाहुल्य गाउँ भएकाले यहाँका मगर दाजुभाइहरु मिलेर गाउँमा घाँटु गीत गाइरहेका थिए । त्यही बेला फोकसिन वाराहीमाईलाई दिएको बलिको रगत अचानक नागदेवताहरुको शिरमा पर्न जाँदा नाग देवताहरु खुबै रिसाए । तत्कालै आँधी बेहरीका साथ फोक्सिन र चुँदेरमा ठूलो असिना पानी पर्न गयो। अचानक घाटु नाची रहेका घाटुलीहरु त्यहीं नाची रहेकै ठाउँमा अलप (अन्तरध्यान भए भने घाटुकी गुरुआमा चाहीं चुँदैरको पासैमा रहेको फोकसिनको वनमा अलप भइन । अलप भएका तीन घटुलीहरु मध्ये जेठी ेदिदी चिरिकामाइ र भाइ थानीका रुपमा चुँदेरमा नै रहिन भने माहिली बहिनी हर्कपुरमा र कान्छी बहिनी फोकसिनको वनमा प्रकट भएका थिए भन्ने किंवदन्ती रहेको छ । तिनै दिदीबहिनी मध्येकी माहिली बहिनीलाई हर्कपुरेहरुले आजतक पूजाआजा गर्दै आएको पाउँदछौ । यसैगरी हर्कपुरेहरु निवासी मगरहरुले साँगेथुममा अकलादेवीलाई पनि पूजाआजा गर्दै आइरहेको पाउँदछौं ।

घरवास (होमस्टे) कार्यक्रम

हर्कपुरमा आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले डाँडा गाउँ र हर्कपुरका १४ घरका परिवारहरुको संयुक्त प्रयासमा वि.सं. २०७५ साल फागुन २३ गतेका दिनबाट घरवास (होमस्टे) कार्यक्रम सञ्चालन गर्दै आएको भेटिन्छ । यहाँको होमस्टेको विशिष्ट दिवा खाजामा गाउँमा उत्पादित कोदो, फापर तथा मकैका रोटी, भुटेका मकै, भटमास, च्युरा र गुन्द्रुक एवं सिन्किका अचार पर्दछन भने साँझ विहानको खानामा दाल भात र साग, आलु पिंडालु र कर्कलको तरकारी, कोदो, फापर तथा गहुँको ढिंडो र तरकारीमा लोकल कुखुरा, कालो सुंगुर एवं चाहना अनुसार खसीबोकाको मासु तथा मादीनदी तथा साँगेखोलाको माछाहरु बैकल्पिक रोजाइमा पर्न सक्दछन् । यसका अतिरिक्त मन बहलाउन चाहने ग्राहकहरुले देशी विदेशीका साथै स्थानीय गाउँघरमै उत्पादन गरिएको कोदोबाट बनाइएको मर्चामृतको अनौठो स्वाद रमेर लिन सक्दछन् ।

हर्षपुरेहरुको साँगे खोलामा वहविष राख्ने परम्परा

हरेक वर्षको साउने संक्रान्तिको भोलिपल्ट वासी नाच्ले मनाएर यहाँका मगरहरुले खिर्रो लगायतका वनस्पती काटेर साँगे खोलामा बहविष राख्ने प्रचलन थियो । दभुङ तथा हर्कपुरका मगर मगर्नीहरुले माछा मार्न लागेको दृष्यहरु साँगे वरपरका बाहुनहरु अति नै रमाइलो मानेर हेर्ने गर्दथे भन्ने जनोक्ति रहेको छ ।

अन्त्यमा, शिक्षाप्रति लगावशिल हर्कपुरका वासिन्दाले वि.सं. १९९० मा नै हर्कपुर भाषा पाठशाला खोलि सकेका थिए । भाषा पाठशालाको रुपमा खोलिएको विद्यालय अहिलेसम्म प्राथमिक विद्यालयकै रुपमा सञ्चालन हुँदै आइरहेको देखिन्छ । विद्यार्थी संख्या कम हुँदै जाँद यहाँको प्राथमिक विद्यालयमा छिट्टै ताला लाग्ने डर दखिंदा आफ्ना छोराछोरीलाई गाउँकै विद्यालयमा पठनपाठन गराइ इतिहासलाई जीवन्त दिन आवश्यक देखिन्छ। यसै गरी नेपाल सरकारले बनकेवादेखि हर्कपुरसम्मको बाँकी अफरोड सडक खण्ड पनि पिचमय बनाइ यातायातका हिसावले हर्कपुरगाउँलाई पूर्ण संगममय बनाओस भन्ने कामना गर्दछौं । यहाँको शैक्षिकस्तरमा अभिबृद्धि र पर्यटन विकासको अग्रणी बन्न पुगेको हर्कपुर आफ्नो विगतको अँध्यारोलाई चिर्दै थप अगाडि बढ्ने प्ररेणा बनोस भन्ने हाम्रो पनि शुभेच्छा रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker