सीप सिकेका महिला भन्छन् : “सीप मर्न दिन्नौं, आयसंग जोडिन्छौं”

भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ लघुउद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडावडाबाट सञ्चालन गर्ने यस्ता सीपमुलक तालिममा सहभागि महिलाहरु निकै उत्साहका साथ स्वरोजगार तर्फ उन्मुख हुँदै गएका छन् ।

शुक्लागण्डकीका महिला उद्यमीहरुले क्रिष्टलको माला बनाउने सीप सिकेका छन् । वडा नं. ४ को समन्वय, पर्यटन तथा उद्योग कार्यालय तनहुँको लागत साझेदारी र महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी नगर इकाइ समितिको सक्रियतामा तालिम सञ्चालन गरीएको हो । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।

तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागीहरुले तालिम निकै उपलब्धीमुलक रहेको प्रतिक्रिया दिएका छन् । सहभागीमध्ये रञ्जना रिमालले सिकेको सीप मर्न नदिने बताइन् । ‘आफुसंग झोला बुन्ने सीप थियो अब झोला र माला दुवै सीपलाई संगसंगै अगाडि बढाउँछु’, उनले भनिन्, ‘आफुले बनाएको माला लगाएर हिड्दा गौरवको अनुभुति हुँदो रहेछ, सुनको गहना लगाएर हिड्दा ज्यानको पनि डर छ, बरु यो क्रिष्टलको माला विभिन्न डिजाइन बनाएर लगाउँदा राम्रो पनि भो सुरक्षित पनि भइयो, आम्दानी गर्न पनि सकियो ।’

शुक्लागण्डकी-२ की संगिता बिकले व्यवसायिक रुपमा अगाडि बढ्ने बताइन् । उनले झोला बुन्ने तालिम समेत दिन्छिन् । झोलाको व्यवसायलाई मालाको तालिमले सहयोग पुग्छ भनेर तालिममा सहभागी बनेको बताइन् । ‘अब व्यवसायलाई थप विस्तार गर्ने सोच बनाएको छु’, उनले भनिन् ।

यस्तै, वडाध्यक्ष राजकुमार वाग्लेले तालिमको प्रमाणप्रत्र मात्र लिने नभई गुणात्मक रुपमा सीप सिकाईलाई निरन्तरता दिन आग्रह गरे । उनले स्वदेशी उत्पादनहरु विदेशीको चेपुवामा परेका कारण आफ्नो उत्पमदनलाई प्रतिष्पर्धामा लैजानुपर्नेमा जोड दिए ।

पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीले महिलाहरुलाई सक्षम बनाउन कार्यालयले लागत साझेदारीमा कार्यक्रमहरु गर्दै आएको बताए । उनले यस तालिमले महिलाहरुको आयआर्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

तालिम संयोजक सरस्वती गौतमले घरपरिवारको सदस्यको आम्दानीबाट महिला आर्थिक रुपमा सक्षम हुन नसक्ने भन्दै आफुलाई आयसंग जोड्नै पर्ने र त्यसका लागि यो तालिम उपयोगी बन्ने बताइन् । सिकेको सीप कहिल्यै खेर नजाने भन्दै बजारमा बिकाउन दृढ संकल्पका साथ अगाडि बढ्न जोड दिइन ।

समितिकी अध्यक्ष एवं प्रशिक्षक तुल्सी शाहले महिलाहरुलाई समयको बचत गर्दै सीप सिकाएर आत्मनिर्भर तथा व्यवसायी गराउने उद्देश्यले तालिम दिइएको बताइन् । उनले महिलाहरुलाई उद्यमीको रुपमा परिचित गराउने गरी गतिविधि संचालन गरेको बताइन्। उनले भनिन् ‘हामी श्रीमान्, छोराछोरी वा अरु कसैको नामबाट परिचत हुने होइन । अब सीप सिकेपछि व्यवसाय गरौँ, उद्यमी महिला भनेर आफ्नो परिचय दिन सक्ने हुनुपर्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker